अल्पसंख्यक र सिमान्तकृत समुदायलाई छाएन चुनावले

 बुधबार, बैशाख १३, २०७४ | onlinenews

वैशाख १३, रामेछाप – सरकारले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई पर्वको रुपमा मनाउने घोषणा गरे पनि रामेछाप जिल्लाका अल्पसंख्यक हायु र सिमान्तकृत समुदाय पहरी, थामी, वादी र माझी समुदायलाई भने निर्वाचनको माहौलले छुन सकेको छैन् ।
दुई वर्ष अघिको भूकम्पले थिलथिलो पारेपछि हैरानी व्यहोर्दै आएका यी समुदायमा विहान बेलुकाको छाक टार्नै समस्या भएकाले निर्वाचनप्रति खासै चासो देखिदैन ।
जिल्लामा साविकको डडुवा र खाँडादेवी गाविसमा थामी जातिको बसोबास रहेको छ । थामी जाति रामेछाप जिल्लाको सबै भन्दा पीछडिएको समुदायमा पर्दछ ।
विरामी परेको बेला स्वास्थ्य परीक्षण र आमा र बच्चाका लागि पाउने सेवा लिनुपर्छ भन्ने समेत ती समुदायलाई थाहा नभएको डडुवाका पुर्व गाविस अध्यक्ष यमवहादुर मोक्तानले बताए । गाउँमा स्वास्थ्य चौकी छ तर त्यहाँबाट स्वास्थ्य सेवा पाइन्छ भन्ने उनीहरुलाई थहाँ छैन मोक्तनले भने ।
डडुवा र खाँडादेवीका थामी समुदायमा मात्र हैन साविकको रामेछाप र सुकाजोर गाविसमा रहेका अल्पंख्यक हायु जातिमा पनि निर्वाचनको माहोल खासै बन्न सकेको छैन् । त्यसैगरी पहरी र वादी समुदायमा पनि निर्वाचनको बारे जानकारी छैन । रामेछाप ल्यागंल्यागंका विष्णे वादीले चुनाव बारेमा आपूmहरुलाई केही थाहा नभएको बताए ।
उनले भने चुनाव आयो भन्छन् तर चुनाव किन र केको लागि आयो भन्ने हामीलाई कुनै पनि जानकारी छैन । हाम्रा घरमा आएर अहिलेसम्म कसैले चुनावको कुरा पनि गरेका छैनन् उनले भने । आफ्नै कामले घर धान्न गारो भइरहेको अवस्थामा निर्वाचन आए पनि गए पनि हामी जस्ता गरिब मान्छेलाई चुनावले के दिन्छ र उनले भने ।
राजनीतिक र सामाजिक रुपमा समेत पछाडी परेका यी जातिमा संरक्षण र सम्वद्र्धनका लागि सरकारी तथा गैरसरकारी निकायवाट प्रयत्न गरिए पनि विशेषगरी थामी र वादी समुदायमा खासै प्रभाव नपरेको डडुवा गाविसका सामाजिक परिचालक तारावहादुर मोक्तानले बताए ।
उनले भने यो समुदायमा तत्काल मतदाता शिक्षा दिलाउनु जरुरी छ । त्योसँगै निर्वाचनको लागि तयारी गर्दै गरेका राजनीतिक दलले पनि छुटाछुटै रुपमा पाटी विशेष अन्तर्गत नै भए पनि निर्वाचन शिक्षा, केका लागि चुनाव र त्यसबाट उनीहरुले र भावी सन्ततीले पाउन सक्ने फाइदाका बारेमा समेत उनीहरुलाई बुझाउन आवश्यक भएको मोक्तनले बताए ।
जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदीले पनि रामेछापका सिमान्तकृत र अल्पसंख्यक जातिहरुमा आशातित परिर्वतन आउन नसकेको बताए ।

प्रतिकृया

Add