आफू जेल जान प्रहरीलाई घुस, मेरो हालत देखेर सैलुनले समेत कपाल काट्न मानेनन् : तिर्थबहादुर पुलामी मगर

 सोमवार, भदौ ३, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट सार्वजनिक यातायातमा १ घण्टाको यात्रापछि पुगिन्छ तिर्थबहादुर पुलामी मगरको घर । २०७८ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गएका तिर्थबहादुरको घरमा उनका श्रीमती र २ छोरी छन् । ७ वर्ष मलेसियामा रोजगार गरी फर्किएका उनी नेपालमा आयस्रोत केही नदेखेकाले वेटरको काममा साउदी अरब गए । साउदी अरबको रोजगार उनले सोचेजस्तो भएन । महिनौँ दिनसम्म ननुहाएको शरीर, महिनौँ दिनसम्म लगाएको एउटै कपडामा नेपाल फर्किएका उनलाई सबैले हेर्थे र सोच्थे होला, को होला यो मान्छे अनि कसरी यस्तो अवस्था भयो होला ? वैदेशिक रोजगारबाट फर्किएका भन्दा कसैले नपत्याउने अवस्थाका उनी ३ वर्ष साउदी बसेर आएका हुन् । वेटरको कामका लागि गएका उनलाई साउदी गएको १ वर्षपछि कम्पनीले कुखुरा काट्ने काम लगायो, त्यसपछि उनको दुःखका दिन सुरु भए । दैनिक १४ घण्टा काम गर्दा पनि ओभरटाइमको पैसा पाएनन् । पटक पटक तलब दिन आग्रह गर्दा कम्पनीले तलब नदिएपछि उनी लेबरकोर्ट गए तर त्यहाँ पनि उनको कुराको सुनुवाइ भएन । जसोतसो काम गर्दै आएका उनको मासु काट्ने व्रmममा देब्रे हातको औँला मेसिनले काट्यो । राम्रो उपचार नपाएपछि उनको औँला पहिलाकै अवस्थामा फर्किएन । औँला त छ तर खुम्चिँदैन र त्यो औँलाले काम नै गर्दैन । भाग्यलाई दोष दिँदै २ वर्ष बिताए । २ वर्षपछि उनको करार सकियो तर कम्पनीले घर पर्कन दिएन । अब त झन् उनको शरीरको पुरै भागमा खटिरा (दादुरा जस्तो देखिने) आयो ।

अकामा (परिचय पत्र) को म्याद पनि सकिएकोले अस्पताल गएर उपचार गर्न पनि पाएनन् उनले । कम्पनीको मेनेजरलाई पटक पटक आग्रह गर्दा पनि उपचार नगराएपछि उनको समस्या दिनानुदिन झन् जटिल बन्दै गयो । उनी थला पर्ने अवस्थामा पुगे । परिचयपत्र भएको साथीलाई मेडिकलबाट औषधी मगाएर खाए तर पनि उनको शरीरको घाउ निको भएन । नेपालबाट पठाउने म्यानपावरलाई आफ्नो समस्यामा सहयोगको लागि पटक पटक अनुरोध गरे तर म्यानपावर कम्पनीले पनि वास्ता गरेन । म्यानपावरले वास्ता नगरेपछि घरमा समस्या सुनाए । घरमा आफ्नो समस्या सुनाएपछि सुरक्षित आप्रवासन कार्यक्रमकाे आप्रवासी स्रोत कन्द्रले वैदेशिक रोजगारका समस्यामा सहयोग गर्छ भन्ने सुनेका उनको दाइ २०८० मङ्सिर १७ गते आप्रवासी स्रोत केन्द्रमा आएर तिर्थबहादुरको समस्या सुनाए । समस्या सुनाए लगत्तै आप्रवासी स्रोत केन्द्रले प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा उनको समस्यामा सहयोग गर्न कागजातहरू जुटाइ सयोगका लागि पठायो । पिएनसिसीको साउदी अरेबियामा रहेका कर्मचारीले तिर्थबहादुरलाई सम्पर्क गरी समस्याको वास्तविकता बुझी समाधानका लागि नेपाली दुतावासमार्फत उनको कम्पनीलाई अनुरोध गरे । कम्पनीले उनको समस्या समाधान गर्ने आश्वासन त दियो तर महिनौँ दिन बित्दा समेत कम्पनीले घर फर्काउने प्रक्रिया गरेन ।

आप्रवासी स्रोत केन्द्रमा नियमित सम्पर्कमा रहेका तिर्थबहादुरले कम्पनीले घर फर्कन नदिएकोले आफूलाई जसरी पनि घर फर्काइदिन अनुरोघ गरिरहे । २ वर्षको करार अवधि सकिएपछि रोजगारदाता कम्पनीले घर फर्कन नदिएमा घर फर्काउने दायित्व म्यानपावरको पनि हुने भएकोले म्यानवारवाई भन्दा वेवास्ता गरेपछि परिवारको सल्लाहमा म्यानपावर विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गर्ने सहमति भयो र २०८०/११/०३ मा जिल्ला प्रशासन कार्यालयमा उनको पत्नी धनकुमारी आले मगरले निवेदन दिइन् । निवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन वैदेशिक रोजगार विभागमा लेखि पठायो । विभागमा केस दर्ता भएपछि विभागले म्यानपावरको नाममा ७ दिने पत्र लेखि स्पष्टीकरण सोध्यो । लिखित जवाफमा सहयोग गर्ने प्रतिवद्धता गरे पनि उद्दार भने भएन । उनी पटक पटक नेपाल जान कागजत बनाइदिनु भनि लेबर कोर्ट गए तर लेबर कोर्टले उनको कुरा सुनेन । उनको कहीँबाट सुनुवाइ नभएपछि साउदी प्रहरीबाट पव्रmाउ गरी नेपाली कन्सुलेट जनरल जेद्दाको समन्वयमा नेपाल फर्काउने प्रक्रिया पिएनसिसीका कर्मचारीले सहजीकरण गरे । तर प्रहरीबाट पक्राउ हुन पनि कहाँ त्यति सहज थियो र ? प्रहरीको चेकिङ भइरहेको ठाउँमा जान्थे तर प्रहरीले बेवास्ता गथ्र्यो । उनी आफूलाई प्रहरीले पक्राउ गरोस् भनि हरेक दिन प्रहरी चेकिङ भइरहेको ठाउँमा जान्थे तर पनि उनी पक्राउ परेनन् । लामो समयसम्म पक्राउ नगरेपछि, उनी पक्राउ पर्नको लागि आफैले त्यहाँको प्रहरीलाई १५ सय साउदी रियल घुस दिएर आफूलाई पक्राउ गरिदिन अनुरोध गरे । प्रहरीलाई घुस खुवाएपछि उनलाई बल्ल प्रहरीले पक्राउ गरी जेलमा लगे । नेपाल फर्कन धेरै सङ्घर्ष गरेका उनी नेपाल फर्कन पाएकोमा आप्रवासी स्रोत केन्द्रमा आइ खुसी हुँदै जीवितै नेपाल फर्कन पाएको र यसको श्रेय आप्रवासी स्रोत केन्द्रलाई दिँदै उनले भने आप्रवासी स्रोत केन्द्रलाई धन्यवाद, धेरैधेरै धन्यवाद छ । मैले जस्तो समस्या अरुले भोग्न नपरोस् भन्ने म चहन्छु, उनी भन्छन् ।

उनले १ महिना जेल जीवन बिताउँदाको भोगाइ सुनाउँदै भने, साउदी अरबको कानुनअनुसार नेपाल फर्कन कम्पनीले इक्जिट भिसा दिनुपर्ने हुन्छ । २ वर्षको करार अवधि सकिएपछि नेपाल फर्कन्छु भन्दा कम्पनीले घर फर्कन दिएन । उल्टै बिनातलब काम लगाइरह्यो । कम्पनीले घर फर्कन नदिएपछि पटकपटक लेबर कोर्टमा र नेपाली दुतावासमा नेपाल फर्कन पाऊँ भनि अनुरोध गर्दा पनि मेरो समस्या कहीँ कतैबाट सुनुवाइ भएन । नेपाल फर्कने प्रव्रिmया गरिदिनु भनि पटक पटक लेबर कोर्टमा जाँदा लेबर कोर्टले तेरो काम हुँदैन मात्र भनिरहयो, किन हुँदैन र के प्रव्रिmया गरेपछि नेपाल फर्कन पाइन्छ भनेर प्रष्ट रुपमा भनेन । लेबर कोर्टले काम नगरेपछि म कम्पनी छोडेर भागी नेपाली कन्सुलेट जेद्दा पुगेँ । त्यहाँ पुगेपछि थाहा पाएँ मेरो इक्जिट भिसा लागेर पनि भिसाको म्याद समाप्त भइसकेको रहेछ । भिसाको म्याद सकिएको र दोस्रो पटक इक्जिट भिसा नलाग्ने भएकोले म अवैधानिक रुपमा प्रहरीबाट पक्राउ भै नेपाल फर्कने प्रयास गरेँ । तर प्रहरीबाट पक्राउ हुन पनि कहाँ सजिलो थियो र ? हरेक दिन पक्राउ पर्न प्रहरी जाँच भएको ठाउँमा जान्थेँ तर पक्राउ गर्दैनथ्यो । प्रहरीले पक्राउ नगरेपछि मलाई पक्राउ गरी नेपाल पठाउनु भनि प्रहरीलाई पैसा दिएर पक्राउ भएँ । प्रहरीले पक्राउ गरेर जेल चलान गर्यो । जेलमा धैरै कैदी बन्दीहरू थिए । जताततै दिसा पिसाबको दुर्गन्ध, त्यहीँको पानी पिउनुपर्ने, उडुस, उपियाँ र जुम्राले टोक्ने, खानको लागि खवुज र गोरुको मासु दिने, बाँच्नको लागि त्यही पनि वाध्यताले खानुपर्ने । नुहाँउन नपाइने, १ महिनासम्म ननुहाएको र १ महिनासम्म एउटै कपडा लगाएकोले जुम्रा पर्ने, त्यहीँ कपडा खोलेर जुम्रा र उडुस मारेर लगाउनुपर्ने । जेल बसेको १ महिनामा मेरो नेपाल फर्कने प्रक्रिया भयो । साउदीको एरपोर्टदेखि नेपालको एरपोर्टमा ‌ओर्लीदासम्म सबैले मलाई हेर्थे तर कोही नजिक आउन चाहँदैन थे । नेपालको एरपोर्टमा ओर्लिएपछि मन हल्का भयो । करिब २ महिना नकाटेको कपालले टाउको भने निकै भारी थियो । त्यसैले कपाल काट्न भनि नजिकैको हेयर कटिङ सैलुन गएँ । शरीरबाट निस्केको दुर्गन्ध र फोहोर कपडा देखेर सैलुनले कपाल काट्न मानेन । पछि आफन्तको सहयोगमा नुहाएर कपाल काटेँ। काम गर्ने क्रममा हजारौँ कुखुरा काटेँ, मलाई त्यही कुखुराको श्राप लागेको हुनुपर्छ । मैले जस्तो दुःख अरु कोही नेपालीले भोग्न नपरोस् । मेरो घर फर्कने सम्पूर्ण प्रक्रियामा सामीको सरहरूले निर्देशन र सहजीकरण गरिरहनुभयो र म सकुसल नेपाल फर्कन पाएँ । अब म वैदेशिक रोजगारी सम्झन पनि चाहन्न । साथै वैदेशिक रोजगारीमा जान चाहनेले सही कुरा बुझेर र सिप सिकेर मात्र जान अनुरोछ गर्न चाहन्छु ।

जितबहादुर तामाङ
परामर्शकर्ता, आप्रवासी स्रोत केन्द्र, मन्थली रामेछाप

Share this

प्रतिकृया

Add