पहिरोले किबी बगैँचा बगाउँदा २५ लाखको क्षति

 आइतवार, भदौ १६, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–२ ढोइगाउँस्थित श्यामकुमार थापा मगरको किबी बगैँचामा पहिरो जाँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । किबीको बगैँचा नै पहिरोले लैजाँदा किबीको लागि निर्माण गरिएको संरचना, किबीको बोट र किबीको दाना गरी २५ लाख रुपैयाँ बराबरको क्षति भएको भिमेश्वर फलफूल तथा नर्सरी उद्योगका प्रोप्राइटर श्यामकुमार थापा मगरले बताए । पहिरोले किबी खेती लगाएको ५ वटा गह्रा बगाउँदा २ सय बोट किबी साथै किबीको लागि प्रयोग गरिएको फलामको पिलर, जाली लगाउने तार लगाएको सम्पूर्ण संरचना बगाएको उनले बताए । उनले भने ‘२ सय वटा किबीसहितको पिलर बगाएको छ । पिलर बनाउने एउटा जिआई पाइपलाई ६ हजार रुपैयाँ पर्छ, एउटा पिलर तयार गर्दासम्म ७ हजार रुपैयाँ लगानी लाग्छ ।’ पहिरोले टिप्ने बेला भएको करिब ७ क्विन्टल किबीको दानासमेत नष्ट भएको प्रोप्राइटर थापा मगरले बताए । “पहिरोले पाक्ने बेला भएको किबी बोटसहित नै लगिदियो, ७ क्विन्टलभन्दा बढी त दाना मात्रै क्षति भएको छ । म बगैँचा हेर्न समेत जान सकेको छुइँन, देख्यो कि भक्कानो छुटेर आइहाल्छ । थापा मगरले भक्कानिदै भने, ५/६ वर्षको कमाइ एकछिन मै स्वाहा भयो ।”

श्यामकुमारले फलफूल व्यवसायी खेती गरेको १५ वर्ष भयो । उनले सुरुका दिनलाई सम्झिँदै भने, यहाँ हुने परम्परागत बाली भनेको कोदो र मकै हो । परम्परागत बालीले वर्षभरिलाई अन्न पु¥याउन समेत हम्मेहम्मे हुन्थ्यो । त्यही भएर मैले १५ वर्ष पहिले (नगदे बाली) फलफूल व्यवसाय सुरु गरेको हो । राम्रै आम्दानी भइरहेको थियो तर यसपाली पहिरोले सत्यानास बनाइदियो, उनले दुखेसो गरे । उनले ३० रोपनीबाट सुरु गरेको व्यवसाय विस्तार गर्दै अहिले ८० रोपनी क्षेत्रफलमा फलफूल खेती गरेका छन् । उनले फलफूल खेतीबाट वार्षिक रुपमा २० लाख रुपैयाँसम्म कारोबार गर्दै आएका छन् । घर खर्च र लगानी कटाएर वार्षिक रुपमा ६ देखि ७ लाख रुपैयाँसम्म नाफा कमाउँदै आएको उनले बताए ।

८० रोपनी क्षेत्रफलमा फैलिएको उनको बगैँचामा किबी, जापानिज हलुवादेव, जापानिज कटुस, एभोकाडो, आरु, नास्पाती, लौकाटो, सुन्तला, मुन्तला, आलमन्ड, दाँते ओखर, म्याकाडमिनटलगायतका फलफूलहरु रहेका छन् । ओखर चाँहि मासिएर अहिले थोरै मात्र रहेको उनले बताए । उत्पादन गर्न सकेमा बजार राम्रै रहेको उनको भनाइ छ । उनको बगैँचामा रहेका ६ सय बोट किबीमध्ये २ सय बोट पहिरोले बगाइदियो । किबीको लागि बनाएको पिलरलगायतका सबै संरचनामा क्षति भएको छ । उनको बगैँचामा जापानिज हलुवावेद १ सय बोट, एभोकाडो ६० बोट रहेका छन् । म्याकाडमिनटलगायतका विभिन्न जातका फलफूलहरु समेत उनको बगैँचामा देख्न पाइन्छ ।

फलफूल व्यवसाय सुरु गर्नुअघि उनी नेपाली सेनामा जागिरे थिए । सेनामा पेन्सन पकाएर घर फर्किएपछि उनले फलफूल व्यवसाय सुरु गरेका हुन् । १० लाख रुपैयाँ लगानीबाट सुरु गरेको व्यवसायमा अहिले ८० लाखभन्दा बढी लगानी भइसकेको उनी बताउँछन् । किबी खेतीकै कारण वस्ती भने पहिरोबाट जोगिएको उनले बताए । माथिबाट आएको पहिरोले किबी लगाएको ५ वटा गह्रा बगायो । किबीको बोट र किबीका लागि प्रयोग गरिएको फलामको पिलरले पहिरोलाई रोकेर वस्ती भने पहिरोले पुरिनबाट बच्यो, उनले भने– यदि घरमाथि किबी खेती थिएन भने एउटा सिङ्गै टोल पहिरोले सखाप पार्ने थियो । मलाई करिब २५ लाख रुपैयाँ घाटा लागे पनि पहिरोबाट वस्ती र मानवीय क्षति हुनबाट भने जोगियो उनले भने ।

Share this

प्रतिकृया

Add