पहिरो पीडितका लागि अस्थायी टहरा बनाउँदै गाउँपालिका

 आइतवार, भदौ १६, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेकखर्कमा यही भदौ ८ गते गएको पहिरोका कारण विस्थापित भएकाहरुको लागि गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न लागेको छ ।
पहिरो पीडितका लागि गाउँपालिकाले आफ्नै जग्गामा ५० वटा अस्थायी टहरा निर्माणको काम सुरु गरेको जनाएको छ । गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार वडा नम्बर ३ को छहराबारी भन्ने ठाउँमा रहेको खेलकुद मैदानमा ५० वटा अस्थायी टहरा निर्माण गर्न लागेको गाउँपालिकाका सूचना अधिकारी भोला पाठकले जानकारी दिए ।

परिवार सङ्ख्याको आधारमा टहराको साइज निर्धारण गरी निर्माण गरिने पनि उनले बताए । अस्थायी टहरा निर्माणका लागि दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका वडा अध्यक्ष सन्तलाल थापा मगरको संयोजकत्वमा प्राविधिक सहितको अस्थायी टहरा निर्माण समिति बनाएर काम सुरु गरिएको पाठकले बताए । टहरा निर्माणका लागि आवश्यक काठ तथा जस्तापाता व्यवस्थापनलगायतका काम सुरु भइसकेको पनि उनले जानकारी दिए ।

भदौ ८ गते राति गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता रहेका छन् । पहिरोमा परी ३२ वर्षकी चण्डिका श्रेष्ठ, उनका १८ महिनाका छोरा आयुश श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी, ११ वर्षका विज्ञान पहरी, ७५ वर्षीया पुड्की पहरीको मृत्यु भएको थियो । ५५ वर्षका काले पहरी र ५० वर्षकी झ्याउँकिरी पहरी अझै बेपत्ता छन् । पैताला मात्रै फेला परेको २१ वर्षकी बिन्दा पहरीको पनि शरीरको अन्य भाग फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पीडितहरुलाई अहिले दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्रस्थित कण्ठेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।

Share this

प्रतिकृया

Add