बालबालिका सम्वन्धि नीति तथा कानुन अध्ययन कार्यशाला

 आइतवार, भदौ २३, २०८१ | onlinenews
Share this

 

रामेछाप- बालबालिकाको हकअधिकार प्रवर्धन तथा बालसंरक्षण सम्बन्धी नीति तथा कानूनको अध्ययन कार्यशाला सम्पन्न भएको छ । अध्ययनबाट कुनै अभाव देखिएमा वा थप नीतिगत व्यवस्था लागू गर्न आवश्यक देखिएमा त्यसका लागि प्राविधिक सहयोग बारे छलफल गर्ने उद्देश्यले कार्यशाला संचालन गरिएको हो ।

मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाको समन्वयमा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को आयोजनामा पालिकाका पदाधिकारी तथा कर्मचारीसँग सहभागितामूलक छलफल गरिएको जिल्ला परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । बालबालिकाको हकअधिकार प्रवर्धन तथा बालसंरक्षणका सम्बन्धमा स्थानीय तहको अधिकार, बालअधिकार प्रवर्धन, बालसंरक्षण तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकामा लागू भएका नीतिगत व्यवस्था (ऐन, नियमावली, कार्यविधि) बारेमा छलफल भएको थियो । त्यसैगरी स्थानीय तहमा बालसंरक्षणका लागि प्रणालीको स्थापना तथा सुदृढीकरणका लागि थप आवश्यक देखिएका सहयोग गर्ने स्रोत व्यक्ति बालअधिकार अध्यता चन्द्रिका खतिवडाले बताए।

कार्यशालामा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बालबालिका सम्वन्धि नीति नभएका तर्जुमा गर्ने र तय भएका समय सापेक्ष परिमार्जन गर्ने बताए । अब अधिकारसँगै कर्तव्यमा पनि जोड दिन आग्रह गरे । स्थानीय तह र साझेदार संस्थाको सहकार्यमा बालअधिकार प्रवर्धन हुनेमा विश्वास रहेको बताए ।

खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्राथमिकताका साथ सम्बोधन गरिनु पर्ने बालबालिकाका सवालहरु र तिनको सम्बोधनमा गर्नु पर्ने विषय पालिका रहेको बताए । बालबालिकाको हक अधिकार प्रवर्धन तथा संरक्षणका लागि अगाडिको बाटो तय गर्न र गरिनु पर्ने कार्य बारे सघाउन सिविसलाई कार्यक्रम गर्न आग्रह गरे ।

Share this

प्रतिकृया

Add