बोलेरो दुर्घटनामा १ को मृत्यु ६ घाइते

 आइतवार, अशोज ६, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको डबल क्याप बोलेरो सुनारपानीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

बोलेरो दुर्घटनमा परी मन्थली नगरपालिका–४ गौराथोकी ६० वर्षीया पदममाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ । मृतक नेपाली वडा नम्बर ४ सालुकी महिला वडा सदस्य हुन् । प्रहरीकाअनुसार ७ जना सवार रहेको उक्त बोलेरो आइतवार दिउसो १ बजेको समयमा सुनारपानीस्थित भदौरे डाँडा मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरुमा मन्थली नगरपालिका–४ सालुकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजिता रसाइली, ६९ वर्षीय दिलीपकुमार बरुवाल, २५ वर्षीय सरिता नेपाली, ५ महिनाको बालिका रोनिसा नेपाली र बोलेरो चालक ४२ वर्षीय गुणकुमार थापा मगर रहेका छन् ।

घाइतेहरुमध्ये चालक गुणकुमार थापामगर र दिलीपकुमार बरुवालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । बोलेरो आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । मृतक वडा सदस्य नेपाली गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने ४ जना घाइतेहरूको सदरमुकाम मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मृतक वडा सदस्य नेपालीको शव मन्थली अस्पतालको शव गृहमा राखिएको छ ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *