स्थानीय तहका उम्मेदवारसँग जनताको यस्तो अपेक्षा

 शनिबार, बैशाख २३, २०७४ | onlinenews

  २३ वैशाख २०७४, रामेछाप– स्थानीय तहको पहिलो चरणको निर्वाचन आउँन अब १० दिनमात्र बाँकी रहँदा स्थानीय मतदाताबीच कस्तो उम्मेदवारलाई मतदान गर्ने भन्ने बहस सुरु भएको छ ।
उम्मेदारी दर्ता गरेसँगै उम्मेदवारहरु भोट माग्न जनताको घर दैलोमा पुगेपछि भोट कस्लाई दिने भन्नेमा मतदाताहरुबीच छलफल सुरु भएको हो । १९ वर्षसम्म कर्मचारी तन्त्रबाट आजित भएका स्थानीय जनता यो पटक पार्टीलाई भन्दा पनि काम गर्न सक्ने योग्य ब्यक्तिलाई मदान गर्ने बताउँछन् ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आउँने प्रतिनिधिले गाउँको विकास र शुसासनमा ध्यान दिनु पर्ने स्थानीयको भनाई छ । लामो समयसम्म स्थानीय तहको निर्वाचन हुन नसक्दा शान्ति र सुशासनमा समेत बाधा पुगेको भन्दै आगामी निर्वाचनबाट चुनिएर आउँने प्रतिनिधिले सुशासन र गाउँको विकासमा ध्यान दिनुपर्ने खाँडादेवि गाउँपालिकाका स्थानीय मनोज बुढाथोकीले बताए ।
निर्वाचनपछि नयाँ संविधान र संघीयताको कार्यान्वयन हुने र सुशासन कायम हुनेमा स्थानीय विश्वस्त छन् । स्थानीय तहको निर्वाचनमा पार्टी भन्दा पनि काम गर्न सक्ने ब्यक्ति हेरेर मतदान गर्ने बुढाथोकीले बताए ।
त्यस्तै रामेछाप नागरपालिका वडा नं. ३ का स्थानीय केशव घिमिरेले स्थानीय तहको निर्वाचनपछि भूकम्पपछिको पुनःनिर्माण र विकासको कामले गति लिने आफ्नो अपेक्षा रहेको बताए ।
स्थानीय तहको निर्वाचनमा विकासपे्रमी र शिक्षाप्रेमी उम्मेदवारलाई मतदान गर्ने घिमिरेले बताए । स्थानीय तहको उम्मेदवारले निर्वाचित भएपछि सुसासन र विकासको कामलाई मुख्य एजेण्डा बनाउने प्रतिवद्धता निर्वाचन पहिले नै जनाउनु पर्ने स्थानीय मतदाताको भनाई छ ।
१९ वर्षसम्म स्थानीय तहको निर्वाचन हुन नसक्दा गाउँमा विकासको काम रोकिएकाले स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिनिले रोकिएको काम अगाडि बढाउनुपर्ने र जनप्रेमी काममा लाग्नुपर्ने मन्थली नगरपालिकाका स्थानीय दुर्गा नारायण श्रेष्ठले बताए ।

प्रतिकृया

Add