माझी समुदायबाट पहिलो वडा अध्यक्ष

 शुक्रबार, जेष्ठ १२, २०७४ | onlinenews

१२ जेष्ठ २०७४ रामेछाप– गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा माझी समुदायको तर्फबाट गोपाल माझी जिल्लाकै पहिलो वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मन्थली नगरपालिका वडा नं. ६ मा नेकपा एमालेका तर्फबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दिपककुमार थापालाई ९६ मत अन्तरले पराजित गर्दै ५ सय ९२ मत ल्याएर उहाँ विजयी हुनुभएको हो ।
उहाँ विजय भएको खबर सुन्ने वित्तिकै विजय जुलुसमा कुनौरी, हात्तिटार, मसन्टार, सेलेघाट, नवुघाट लगायतका माझी बस्तीबाट सयौंको संख्यामा सहभागी भएका थिए । वडा सदस्य भन्दा उच्च  पदमा अहिलेसम्म माझी समुदाय आउन नसकेको अवस्थामा गोपाल माझी अध्यक्ष पदमा विजयी हुँदा आपूmहरु निकै खुसी भएको स्थानीय माझी समुदायले भनाई छ ।
स्थानीयको अनुसार गोपाल माझीको जन्मथलो कुनौरीका माझीहरु १ दशक अगाडीसम्म दैनिक गुजाराको लागि भलुवाजोरका जमिन्दारहरुको  हलो जोत्ने गर्दथे । उनीहरुले खेतबारीमा हलो जोते वापत ऋणको व्याज तिर्नु पर्दैनथ्यो । धोती र कच्छड लगायका वृद्ध माझीहरु साँवा फिर्ता नगरुनजेल व्याजकै भरमा हलो जोतिरहन्थे । बिहान बेलुका पुख्र्यौली पेशा माछा मार्ने र दिउँसाको समयमा छोराछोरी सहित तिनै जमिनदारहरुको खेतबारीमा मेलापात गरेर जीवन गुजार्ने गर्दथे । तर, गत वैशाखको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाबाट स्थानीय तह अन्तर्गत एउटा वडाको सत्ता लिन तीनै हेपिएका माझी सफल भए ।
हिजो माझीले नमस्कार गर्नेहरुले आज माझीलाई नमस्कार गर्नेे वातावरण सिर्जना गरेकोमा निर्वाचित गोपाल माझीको स्थानीयले खुलेरै प्रशंसा गरेका छन् ।
यस अघि रामेछाप जिल्लाको इतिहासमा १ जना वडा सदस्य वाहेक माझी समुदायको तर्फबाट कोहि पनि राज्य सत्तामा पुगेका थिएनन् । तर, यस पटकको स्थानीय तहको निर्वाचनमा भने गोपाल सहित ७ जना माझी समुदायबाट निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरुमा वडा सदस्यमा मन्थली न.पा–७ बाट सरिता माझी, ८ बाट गणेशबहादुर माझी र रामेछाप न.पा–९ बाट प्रेमबहादुर माझी रहेका छन् । यसैगरी खाँडादेवी गा.पा–३ बाट समरबहादुर माझी,ंं ४ बाट धनबहादुर माझी र सुनापती गा.पा–४ बाट कमला माझी वडा सदस्यमा निर्वाचित भएका छन् । यति धेरै संख्यामा आफ्नो समुदायको तर्फबाट निर्वाचित भएपछि माझी समुदायमा छुट्टै खुसियाली छाएको छ ।

प्रतिकृया

Add