शुक्रबार कार्यपालिका गठनको लागि निर्वाचन हुँदै

 शुक्रबार, जेष्ठ १९, २०७४ | onlinenews

नगरकार्यपालिका र गाउँ कार्यपालिका गठनको लागि शुक्रबार निर्वाचन हुँदै छ । शुक्रबार हुने निर्वाचनमा नेपाली काँग्रेस र नेकपा मओवादी केन्द्र गठबन्धन बनाएर निर्वाचन लड्दै छ ।
नेकपा एमाले भने नगरकार्यपालिका र गाउँकार्यपालिकमा काँग्रेस माओवादी गठबन्धनसँगै एक्लै निर्वाचनमा जाँदै छ । मन्थली नगर कार्यपालिकामा दलित अल्पसङख्यक सदस्य ३ र महिला सदस्य ५ गरि ८ सदस्य निर्वाचित हुनेमा सहकार्यमा नेपाली काँग्रेसले दलित अल्पसङख्यक सदस्य १ माओवादी केन्द्र २ र महिला सदस्यमा नेपाली काँग्रेस ३ र नेकपा माओवादी केन्द्रले २ सदस्य लिएर चुनावमा होमिएका छन् ।  जसमा नेकपा माओवादी केन्द्रका तर्फबाट दलित अल्पसङख्यक सदस्यमा उद्धव रम्तेल र श्रीबहादुर माझी रहेका छन् भने नेपाली काँग्रेसका तर्फबाट निरमान माझी छन् ।
त्यसैगरी नगर कार्यपालिका महिला सदस्यमा नेपाली काँग्रेका तर्फबाट यशोदा श्रेष्ठ, विमला रम्तेल र हिरा कुमारी गिरी उम्मेदवार छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट ममिता श्रेष्ठ र शान्ति तामाङ छन् ।
नेकपा एमालेका तर्फबाट दलित अल्पसङख्यक सदस्यमा मानबहादुर वि.क, मुना सार्की र रवि माझी उम्मेदवार बनेका छन् । त्यस्तै एमालेका तर्फबाट महिला सदस्यहरुमा कमला बसेल, जानुका चौहान, प्रमिला नेपाली, रिता सार्की र सरिता माझी रहेका छन् । मन्थली नगरपालिकाको १४ वटै वडामा निर्वाचित भएका वडा अध्यक्ष र ४ सदस्य र नगर प्रमुख र उपप्रमुख गरी ७२ जनाले भोट हाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको प्रमुख, उपप्रमुख तथा ५ वडा अध्यक्ष सहित ३० जना एमालेबाट बिजयी भएका छन् । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा माओवादी केन्द्रको ४ वडा अध्यक्ष सहित २३ प्रतिनिधि निर्वाचित भएका छन् । त्यस्तै नेपाली काँग्रेसको ३ वडा अध्यक्ष सहित १८ सदस्य निर्वाचित भएको छ ।
तीनवटै पार्टी अलग अलग चुनव लड्दा एमालेका उम्मेदवारहरुले जित्ने भए पनि नगरकार्यपालिका निर्वाचनमा मन्थलीमा काँग्रेस र माओवादीले समिकरण गरेका छन् । ८ जना निर्वाचित हुने सो निर्वाचनका लागि काँग्रेस र माओवादी केन्द्रले ४÷४ जना उम्मेदवार उठाएका छन् ।
नगर कार्यपालिकाको निर्वाचनमा वडाबाट निर्वाचन जितेर आएका ५ जना महिलाहरु र खुल्ला तर्फ महिला, दलित र अल्पसंख्यक समुदायबाट ३ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।
निर्वाचनको बेलामा नेपाली काँग्रेसभित्र अन्तरधात भएको कारण नेता कार्यकर्ताहरु रुष्ट भएका कारण त्यस्ता मत लिन सकिने आशा एमालेको छ भने २ वटा राजनीतिक दल र यस अघिको निर्वाचनमा माओवादी केन्द्रसँग मिलेर चुनाव लडेको राप्रपा समेतको मत भएको कारण आपूmहरु चुनाव जित्नेमा काँग्रेस र माओवादी केन्द्र ढुक्क छन् ।
नगरकार्यपालिकाको लागि नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष र वडा सदस्यहरुले मतदान गर्ने छन् । १४ वडा रहेको मन्थली नगपालिकामा ७२ जना मतदाता रहेका छन् ।
लिखु, गोकुलगंगा र खाँडादेवी गाउँपालिकामा भने एमालेको एकलौटी बहुमत छ । त्यस्तै सुनापति र दोरम्बा गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी छ । रामेछाप नगरपालिकामा नेपाली काँग्रेसको १९, एमालेको १५ र माओवादी केन्द्रको ११ भोट छ । एक्लाएक्लै चुनाव लडे सबै सदस्य काँग्रेसले जित्ने निश्चित छ । तर मिलेर चुनाव लड्दा दुई मिल्ने दलले सदस्य बाँढेर लिने छन् ।

प्रतिकृया

Add