प्रधानमन्त्रीका लागि देउवाको पक्षमा ३ सय ८८ सांसदको समर्थन

 आइतवार, जेष्ठ २१, २०७४ | onlinenews

२१ जेष्ठ २०७४ काठमाडौ– प्रधानमन्त्रीका उम्मेदवार शेरवहादुर देउवाको समर्थन बढ्दै गएको छ । अहिलेको गठबन्धनबाहेकका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरमले प्रधानमन्त्रीका लागि देउवालई समर्थन गर्ने निर्णय गरेपछि उहाँको पक्षमा समर्थन गर्ने सांसद संख्या ३ सय ८८ सांसद पुगेको छ ।

यी तीन दलको समर्थनसँगै देउवाको समर्थन दुई तिहाई नजिक पुगेको छ । हाल संसदमा रहेको सांसद संख्या ५९७ मा दुई तिहाइका लागि ३९८ सांसद आवाश्यक पर्छ । देउवाले यो विचमा १० जना अरु सांसदको समर्थन जुटाउन सके उहाँ दुई तिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बन्नुहुने छ ।
यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतको पुरानो गठबन्धनमा ३११ जना सांसद रहेका थिए । देउवालाई सरकार गठन गर्न चाहिने बहुमत सांसद संख्या २९७ आवाश्यक रहेपनि प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा समर्थन गर्ने दलको संख्यासँगै सांसद संख्या पनि बढ्दै गएको हो ।
अहिलेसम्म देउवाको विपक्षामा देखिएका मध्ये नेकपा एमालेसहित १९८ सांसद रहेका छन् । जसमा एमाले १ सय ८१, माले ५, नेमकिपा ४, जनमोर्चा ३, परिवार दल २, बहुजन शक्ति १ बौद्धिक जनपरिषद नेपाल १ र मधेस समता पार्टी १ रहेका छन् ।
कांग्रेससँगको पुर्व सहमतिअनुसार गत जेठ ९ गते प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएपछि नयाँ सरकार गठनका लागि सुरु भएको प्रक्रिया अन्तर्गत प्रधानमन्त्रीको लागि देउवाको मात्र उम्मेदवारी परेको छ ।
आइतबार नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाका लागि मतदान हुने कार्यतालिका भए पनि एमालेले संसद अवरद्ध गरेपछि प्रधानमन्त्रीको निर्वाचन थप दुई दिन लम्बिएर जेठ २३ गते मंगलबारलाई सारिएको छ ।

प्रतिकृया

Add