विद्युत प्राधिकरणको चरम लापर्वाही ५ सय घर आगलागिको जोखिममा

 बुधबार, जेष्ठ २४, २०७४ | onlinenews

    २४ जेष्ठ २०७४– रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर २ को ५ सय घर परिवार आगलागिको जोखिममा परेको छ । सदरमुकाम मन्थली वितरण केन्द्रबार वितरण गरिएको विद्युत प्रसारण लाइन अव्यस्थित हुँदा करेन्ट सटभई आगलागि हुनसक्ने खतरा बढेको हो ।
  विद्युत प्रसारण लाइनको नाङ्गो तार बारी काल्लामा रहेको बुट्यानको भन्दा कम उचाइमा रहेको र ठाउँठाउँमा तार झोलिएर उभिएको मान्छेले छुन सक्ने अवस्थामा रहेको छ ।
प्रसारण लाइनको कम उचाई र जंगल क्षेत्रमा रुखको बीचबीचबाट विद्युत प्रसारण लाइनको नाङ्गो तार टाँगिएको कारण कुनै पनि बेला करेण्ट सट हुन सक्ने खतरा रहेको छ ।
विद्युत सटभई हुनसक्ने दुर्घटनाको बारेमा विद्युत प्राधिकरणको कार्यालय रामेछापमा पटक–पटक जानकारी गराउँदा पनि कार्यालयले सुनुवाई नगरेको स्थानीय दुर्गाबहादुर बस्नेतले बताउनुभयो । बस्नेतले भन्नुभयो–हामीले विद्युत प्राधिकरणमा पटक–पटक जानकारी गराएका छौं तर कार्यालयले बनाउँछौ–बनाउँछौ भन्दै टार्ने गरेको छ ।
विद्युत प्रसारण लाइनको तार झोलिएर कतिपय ठाउँमा बच्चाले समेत भेट्न सक्ने अवस्थामा छ । धेरै ठाउँमा रुखको घाँसमा विद्युतको नाङ्गो तारले छोएकाले जुनसुकै बेला दूर्घटना हुनसक्ने बस्नेतले बताउनुभयो ।
हल्का हावाहरी लाग्दा पनि विद्युतको तारले रुखको हाँगामा छुने र दिनमै पटक–पटक विद्युत जाने गरेको अर्का स्थानीय ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । हावा चल्नसाथ बत्ति जान्छ, समस्याको बारेमा वितरण केन्द्र मन्थलीको कार्यालयमा पटक–पटक भन्दा पनि सुनुवाई नभएपछि अहिले त हामीले पनि वास्ता गर्न छोड्यौ श्रेष्ठले भन्नुभयो ।
विद्युतको पोल सल्लाको कलिलो मुना गाडिएकाले धमिराले खाएर खोक्रो बनाइसेको र धावा चल्नसाठ पोल ढल्ने गरेको श्रेष्ठको भनाई छ । रुख भन्दा होचो ठाउँबाट रुखको च्याप–च्यापबाट तार टाँग्नु विद्युत प्राधिकरणको लापर्वाही भएको स्थानीय बताउँछन् ।
विद्युत प्राधिकरणले यस्तै लापर्वाही गरिरहने हो भने कुनै पनि बेला आगलागि भएर ठूला क्षति हुनसक्ने स्थानीय डिबहादुर तामाङ बताउनुभयो । गाउँमा विजुली बत्ति बल्नु स्थनीयको लागि खुसीको कुरा हुँदाहँदै पनि विद्युत सटभई कुन बेला आगलागि हुने हो भन्ने डरले स्थानीयलाई त्रसित बनाएको छ ।
जिल्लामा पोलको अभाव भएको कारण विद्युत प्रसारण लाइनलाई ब्यवस्थित गर्न सस्या भएको विद्युत प्राधिकरण रामेछापले जनाएको छ । केही समयमै अनुगमन गरेर ब्यवस्थित गर्ने विद्युत प्राधिकरण रामेछापका निमित्त प्रमुख विनोद पौडेलले बताउनुभयो ।

प्रतिकृया

Add