विद्युत प्राधिकरणको लापर्वाहीले खुर्कोटका उपभोक्ता मारमा

 सोमवार, जेष्ठ २९, २०७४ | onlinenews

२९ जेष्ठ २०७४ सिन्धुली– नेपाल सरकारले निर्माण गर्न लागेको देशको १० नमूना शहर मध्ये  सिन्धुलीको खुर्कोट पनि एक हो । विपी राजमार्गमा पर्ने यो बजार विस्तारको काम भइरहेको छ ।
शहर विस्तारको काम अघि बढेसँगै निजी लगानीकर्ताहरु भित्रिनुका साथै ब्यापार ब्यवसाय पनि ह्वात्तै बढेको छ । व्यापारिक र पर्यटन दुवै हिसावले ट्रान्जिट प्वाइन्ट बनेको छ खुर्कोट बजार । शहर विस्तारसँगै आन्तरिक र वाह्य पर्यटनको आगमन तथा उद्योग धन्दाहरुमा पनि दिनानुदिन बृद्धि हुँदै गइरहेको छ ।
तर टिठ लाग्दो कुरा के छ भने नेपालकै १० नमूना शहर मध्ये एक नमूना शहरको रुपमा विस्तार भइरहेको खुर्कोट बजारमा उद्योग ब्यवसाय जेनेरेटरको भरमा चलेको छ ।
विद्युतको सुविधा नभएर जेनेरेटर चलाउनु परेको भने होइन । बजारमा विद्युतिकरण भएको ३ दशक वितिसकेको छ । त्यतिमात्र होइन सिन्धुली  लोडसेडिङ्ग मुक्त जिल्ला समेत हो ।
तर खुर्कोट बासीको लागि विजुली बत्ति “कागलाई वेल पाक्यो हर्ष न विस्मत” भनेझैं भएको छ । खुर्कोट बजारमा विद्युत लाइन हुनु र नहुनुमा केही फरक छैन । विद्युतीय ब्यवसायको त कुरै छोडौं, कम भोल्टेजको कारण खुर्कोटबासीले बत्ति समेत राम्रोसँग बाल्न पाएका छैनन् ।
खुर्कोटमा सञ्चालीत अस्पतालका अपरेशन सहित अत्याधुनिक उपकरणहरु विद्युतकै अभावमा त्यतिकै थन्किएर बसेका छन् । विद्युतको भोल्टेज कम भएकोे कारण अपरेशनका अत्याधुनिक उपकरणहरु थन्क्याएर राख्नु परेको हालै सञ्चालनमा आएको शुभ जीवन अस्पतालका सञ्चालक राजन न्यौपानेले बताए ।
बजार विस्तारसँगै भीआपी गेष्ट र ठूला गोष्ठी सेमिनारलाई समेत केन्द्रित गरी एसी सहितको होटल सञ्चालनमा आए पनि एसी त के  होटलका सबै कोठामा बाल्दा वत्ति समेत नबल्ने होटल ब्यवासायि अमुल कार्कीको भनाई छ ।
खुर्कोटका स्थानीयबासी समेत रहेका कार्कीले विद्युत समस्याको बारेमा लिखित निवेदन दिनुका साथै विद्युत प्राधिकरण सिन्धुलीमा पटक–पटक धाउँदा पनि प्राधिकरणले वास्ता नगरेपछि ७ लाख खर्च गरेर जेनेरेटर किन्न बाध्य भएको बताए ।
समान्यतय सिङ्गल फेजको विद्युत प्रसारण लाइनमा २ सय २० भोल्ट करेण्ट प्रवाह हुने भए पनि खुर्कोटमा रहेको सिङ्गल फेजको लाइनमा ९० देखि बढीमा १ सय ४० भोल्ट मात्र करेण्ट आउँदा ग्राहकले ल्याएको सामाग्री मर्मत गर्न निकै गाह्रो भएको ‘सुनकोशी वाच सेन्टर’का प्रोप्राइटर जितबहादुर श्रेष्ठको गुनासो छ ।
पूरा भोल्टेज करेण्ट आउँदा १ मुरी धान कुट्न ७ मिनेट लाग्नेमा अहिले कम भोज्टेजको कारण मिलको मोटर ढिलो घुम्दा ३० मिनेट लाग्ने गरेको श्रीकृष्ण राइस मिल सञ्चालक इच्छाबहादुर मैनालीले बताए ।
किसानले सिंचाइको लागि पानी तान्न ल्याएको मोटर समेत भोल्टेज कम हुँदा नचलेपछि थन्क्याएर राखिएको मैनालीले बताए । खुर्कोट उसैत गर्मी ठाउँ, त्यसमाथि घरमा जडान गरिएको फ्यान नचल्दा राति सुत्न समेत गाह्रो हुने गरेको स्थानीयको गुनासो छ ।
यहाँको विजुलीबाट फ्यान पनि घुम्दैन, गर्मीमा चिसो पानी र पेय पदार्थ खोज्ने ग्राहक आउँछन् तर दिन भरी फ्रिजमा राखे पनि चिसो हुँदैन स्थानीय व्यापारी बद्री आलेमगरले भने ।
यति मात्र कहाँ हो र ? दिनमै दर्जनौ पटक लाइन काटिने र जथाभावी तार विछ्याइएको छ । पुराना पोलको प्रयोगमात्र गरिएको छैन् कतिपय स्थानमा हरियो रुखमै समेत तार जोडिएकाले जुनसुकै बेला दुर्घटना हुनसक्ने खतरा पनि त्यत्तिकै रहेको छ ।

सुत्दा नि बत्ति हुँदैन र उठ्दा पनि हुँदैन तर महशूल तिर्नुपर्छ

खुर्कोट बजार मात्र होइन, सिन्धुलीका कतिपय गाउँको कथा झन दुःखद छ । सिन्धुलीका ग्रामिण क्षेत्र ठूलागाउँ, छाप, अदमारा लगायतका बस्तीहरु जाहाँ राति १२ बजेपछि मात्रै बत्ति बल्छ ।
खुर्कोट बजारका मानिसहरुले राति बत्ति निभाएर सुतेपछि बल्ल ति बस्तीमा बत्ति बल्ने ठूलागाउँका स्थानीय देइबहादुर कोइरालले गुनासो गरे ।  रातमा बत्ति आउँछ, बिहान उठ्दा बत्ति गइसकेको हुन्छ हामीलाई बत्तिको के काम उनले भने । उनले थपे– ज्यामी काम गरेर कमाएको पैसाले विद्युत महशूल बुझाउनु परेको छ तर बत्ति चाहि बाल्न पाइदैन ।
गाउँमा सुविधाको लागि पिसानी मिल राखे पनि मोटर नै नघुमेर थन्क्याएर राखिएको कोइरालले बताए । सिन्धुलीको यो समस्या दुई वर्षदेखि लगातार छ । स्थानीयले वारम्बार विद्युत प्राधिकरणलाई घच्घच्याइरहेका छन् तर विद्युत प्राधिकरण कानमा तेल हालेर बसेको अवस्था छ ।

विद्युत प्राधिकरण भन्छः विद्युत पूरापूर छोडिएको छ

विद्युतको भोल्टेज कम भएको कारण विद्युतबाट सञ्चालन हुने ब्यापार ब्यवसाय चौपट छ । स्थानीयले घरमा जडान गरेको पङखा समेत घुम्दैन विद्युतको भोल्टेज कम भएर । त्यतिमात्र हैन विद्युत बाल्दैनबाली महशूल बुझाउनु परेको पनि उपभोक्ताको गुनासो छ ।
तर, विद्युत प्राधिकरण सिन्धुलीको भने विद्युतको भोल्टेज कम हैन बढी  भएको भनाई छ ।
खुर्कोटको समस्याको बारेमा आपूmलाई कसैले पनि जानकारी नगराएको र विद्युत पूरापूर पठाइएको विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले बताए ।
हाम्रो अनलाइन न्यूजसँग उनले भने– ढल्केबरदेखि १ सय १३ किलोमिटर टाढासम्म लाइन पुग्दा खुर्कोटमा मात्र नभएर सिंधुली जिल्लाभरी नै समस्या हुन सक्छ । “दिनमा १८ देखि २४ घण्टासम्म लोडसेडिङ्ग भोग्ने जनताले खुर्कोटमा एकछिन लाइन कट्दा किन आत्तिनु प¥यो र” उनले भने ।
सिन्धुली वितरण केन्द्रका प्रमुख ठाकुरले यस्तो बताइरहँदा सिन्धुली वितरण केन्द्र अन्तर्गत खुर्कोट फ्युज सेवाले भने खुर्कोटमा भोल्टेज कम भएको स्वीकार गरेको छ । एउटामात्र ट्रान्सफर्मरबाट विद्युत वितरण भएकाले समस्या आएको फ्युज सेवा खुर्कोटका इञ्चार्ज रमेश गौतमले बताए ।
उनका अनुसार ट्रान्सफर्मरको संख्या बढाई क्षमता अपग्रेड गरे कम भोल्टेजको कारण उपभोक्ताले भोग्दै आएको समस्या तत्काल समाधान हुने छ । यसको लागि मुख्य कार्यालय सिन्धुली वितरण केन्द्रमै पहल गर्नुपर्ने गौतमको भनाई छ ।

प्रतिकृया

Add