कर्मचारीकै मिलेमतोमा अवैध खानी सञ्चालन

 सोमवार, असार १२, २०७४ | onlinenews

१२ असार २०६४ ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाको टाहाखेल हुँदै जाँदा क्रसर उद्योग देख्न सकिन्छ । टाहाखेलतिर सडक छेउमै २, ४ वटाको संख्यामा देख्न सकिन्छ भने टीकाभैरव नल्लुखोलामा भने १७ वटाको हारहारीमा क्रसर उद्योगहरु सञ्चालनमा छन् ।
खोला छेउमै सञ्चालित केही उद्योगले खोलालाई अतिक्रमणसम्म गरेका छन् । क्रसरबाट निस्केका धूलो सीधै खोलामा फालिएको छ । यी क्रसर उद्योग २०७३ असार मसान्तदेखि नवीकरण भएका छैनन् । तर, काम चाहिँ गरिरहेका छन् ।
अर्थात उद्योग जेजसरी चलेका छन्, त्यो अवैध नै चलेका छन् । खुला रुपमा विनारोकतोक क्रसर उद्योग सञ्चालित छन् । मापदण्ड विपरीत र अवैध उद्योग विभागीय कर्मचारीहरुकै सहयोगमा चलेका छन् ।
ढुङ्गा खानीसमेत अवैध छन् । जिल्ला समन्वय समिति ललितपुरले यस वर्षका लागि जिल्लामा ४ वटा ढुङ्गाखानी नवीकरण भएको जानकारी दिएको छ । जसमध्येमा टीकाभैरव नल्लुखोलामा १ वटा मात्रै ढुङ्गा खानी नवीकरण भएको छ । तर, यहाँ आधा दर्जन ढुङ्गाखानी चलेका छन् । नवीकरणविनकै काम गरिरहेका छन् ।
उद्योगीहरुले वन सीमासँग जोडिएको आफ्नो जग्गाको ढुङ्गा निखारी सकेपछि माथिदेखि तलसम्म मिलोमतो गरी वनमा ढुङ्गा निकालिरहेको स्थानीय बताउँछन् ।
सबै जसो ढुङ्गा खानी सामुदायिक वनमा प्रवेश गरी ढुङ्गा उत्खनन् गर्ने गरेका छन् । एक स्थानीयले भने, ‘खानी हेर्नुस् त सबै वनमा छन् । त्यो आफ्नो जग्गा होइन, सबै सामुदायिक वन हो ।’
जिल्ला समन्वय समिति ललितपुरबाट नवीकरण भएको भनिएको निराकर रोडा ढुङ्गा उद्योगले पनि वनबाटै ढुङ्गा निकालिरहेको आरोप लागेको छ । डम्सिडोल ठूलो सामुदायिक वन मिचेर ढुङ्गा खानी सञ्चालन भएका छन् ।

वनमा प्रवेश गरी ढुङ्गा उत्खनन् र पैठारी गर्नेहरुमा क्वालिटी रोडा ढुङ्गा उद्योग, डोटेल एन्ड सन्स् प्रालिलगायतको रहेको स्थानीयको आरोप छ ।
नवीकरणबिनै उद्योग चलाउन सामन्य होइन अर्थात् यसमा राजनीतिक र प्रशासनिक सहयोग चाहिन्छ । यस्तो वातवरण यहाँका ढुङ्गा उद्योगहरुले पाएका छन् ।

प्रतिकृया

Add