देश विकासको लागि दलहरुबीच एकता आवश्यकः नेता नेपाल

 आइतवार, साउन ८, २०७४ | onlinenews

८ श्रावण  २०७४ रामेछाप


पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले देश विकास र परिवर्तनको लागि राजनीतिक दलहरुबीच एकता आवश्यक रहेको बताएका छन् ।
नेपालमा जतिपनि परिवर्तनहरु भएका छन् सबै राजनीतिक दलहरुबीचको एकताले सम्भव भएको उनले बताए । २०४६ सालको आन्दोलन, २०६२÷०६३ को जनआन्दोलन हुँदै नयाँ संविधान पनि दलहरुबीचको एकताबाटै जारी भएको नेता नेपालले बताए ।
नेता नेपालले  दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ठूलो पार्टी भएको र आगामी असोजमा हुने २ नम्बर प्रदेशको चुनावमा पनि एमाले पहिलो पार्टी बन्ने दावि गरे ।
नेकपा एमालेको पक्षमा जनलहर आएको भन्दै आगामी दिनमा हुने सबै तहको निर्वाचनमा जनताले नेकपा एमालेलाई ठूलो पार्टी बनाउने पनि उनले विश्वास ब्यक्त गरे ।
नेकपा एमाले संविधान संशोधन विरोधी नभएको भन्दै देशको हित हुन्छ भने जुनसुकै बेला संविधान संशोधन गर्न तयार रहेको पनि उनले बताए । तर, संविधान संशोधनको लागि उचित कारण हुनपर्ने उनको भनाई छ ।
३९ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आइतबार प्रेस चौतारी रामेछापले भंगेरीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री नेपालले भंगेरीलाई ऐतिहासिक स्थलको रुपमा विकास गर्न नमूना पार्क निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए ।
पार्क निर्माणको लागि पुष्पकलम दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला बजेट समेत विनियोजन भई पुष्पलाल स्मृति प्रतिष्ठानमा आइसकेको नेता नेपालले बताए ।
पुष्पलाल कुनै एक पार्टी विशेषको मात्र नेता नभएर सिंगो देशकै नेता भएकाले सबैले सम्मान गर्नुपर्ने बताए । भंगेरीमा पुष्पलाल पार्क निर्माणको लागि सयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।
रामेछापमा पुष्पलाल पार्क बन्दा रामेछाप नगरपालिका र रामेछाप जिल्लाकै लागि पनि भलाई हुने भएकाले राजनीतिक संकिर्णता त्यागेर यसमा सबैलाई लाग्न नेता नेपालले आग्रह गरेका छन् ।
पुष्पलाल सबैको नेता भएकाले ऐतिहासिक भूमी भंगेरीलाई साझा थलोको रुपमा विकास गनुपर्ने उनको भनाई थियो । असार ३१ गते खिम्तीमा आएको बाढी पहिरोको निरीक्षण गर्न खिम्ती पुगेका नेता नेपालले बाढी प्रभावितहरुको बारेमा जानकारी लिएका थिए ।

प्रतिकृया

Add