रामेछापको रणजोरले बगायो ट्याक्टर

 आइतवार, साउन १५, २०७४ | onlinenews

१५ साउन २०७४ रामेछाप


रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित रणजोर खोलाले आइतबार साँझ एक ट्याक्टर बगाएको छ ।
रणजोर खोलाबाट ढुङ्गा लिएर मन्थलीतर्फ आउँदै गर्दा खोलामा अचानक आएको बाढीले ना ५ त ७९४८ नम्बर महेन्द्र अर्जुन कम्पनीको ट्याक्टर बगाएको हो ।
मन्थलीमा समान्य पानी परे पनि खोलाको शीरमा परेको भिषण वर्षाको कारण आएको बाढीले खोला पार गर्दै गरेको ट्याक्टरलाई करिब ५० मिटर तलसम्म बगाएपछि ढुङ्गामा आड लागेर रोकिएको थियो ।
ट्याक्टर आड लागेपछि चालक भने चावि ट्याक्टरमै छोडेर ट्याक्टरको पछाडिको भागबाट खोलाको किनारामा हाम फाली ज्यान जोगाउन सफल भएका छन् ।
सो ट्याक्टर मन्थली नगरपालिका–६ का रविन्द्र श्रेष्ठको भएको बताइएको छ । खोलाले ट्याक्टर बगाएको करिब आधा घण्टापछि उद्दारको लागि जेसिबि डोजर पुगेपनि बाढी नरोकिएकाले उद्दारमा समस्या भएको छ । यद्यपि उद्दार कार्य भने जारी रहेको छ ।
सो रणजोर खोजाको शीर घ्याप्चे नेपालकै दोश्रो ठूलो पहिरो मानिन्छ । सो पहिरो हिउँदको सुख्खा समयमा समेत झरिरहने गर्दछ । सो पहिरो आसपासका दर्जनौं घरहरु विस्थापित भइसकेका छन् भने रणजोर खोला किनाराका बस्ती साथै सदरमुकाम मन्थली समेत जोखिममा रहेको छ ।
सो खोला आसपासका सयौँ रोपनी खेतहरु बगरमा परिणत गराएको छ । रणजोरले वर्षेनी खोतीयोग्य जमिन कटान गर्दै आएको छ ।

प्रतिकृया

Add