बाढिपहिरोेले कहाँ कहाँ अवरुद्ध भए सडक ?

 आइतवार, साउन २९, २०७४ | onlinenews
Share this

२९ साउन  २०७४


पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा र महोत्तरीको बीचमा रहेको रातु नदीको पुलमा गाडी चलाउन रोक लगाइएको छ । खोलामा पानीको बहाब उच्च भएपछि पहिला डाईभर्सन दिएको ठाउँमा भासिएकाले गाडी चलाउन रोक लगाइएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय बर्दिबाससँग समन्वय गरेर शनिबार बेलुकी ७ बजेदेखि गाडी चलाउन बन्द गरिएको उहाँले बताउनुभयो । गाडी चलाउन रोक लगापछि १ हजारभन्दा बढी गाडी र हजारौं यात्री अलपत्र परेका छन् ।  दाङका खोलाहरुमा आएको बाढीका कारण लमही—तुल्सीपुर सडक खण्डमा कुनै पनि गाडी चलेका छैनन् । राप्ती राजमार्गको तुलसीपुर—अमिलीया सडकखण्ड अन्र्तगत विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको गछिया खोलाले पुललाई छोएको छ । यस्तै धरान धनकुटा सडकखण्डको निशानी खोलामा पहिरो खसेपछि त्यहाँ पनि बाटो अबरुद्ध भएको छ । हिजोदेखि परेको पानीका कारण दाङमा घोराही तुलसीपुर सडकखण्डको मोतिपुरमा कल्भर्ट भत्किदा सडक यातायात पूर्ण रुपमा बन्द भएको छ ।
पहिरोले नवलपरासीको दाउन्नेमा सडक पुरेपछि आवागमन अवरुद्ध भएको छ । शुक्रबार राती १० बजेदेखि अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा यातायात खोलाउने प्रयास भैरहेको नवलपरासी प्रहरीले जनाएको छ । रातीदेखि नै गाडी बाटोमा रोकिएपछि खानेकुरा र पानी नपाएर भोकभोकै बस्नु परेको यात्रुले गुनासो गरेका छन् ।
नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनदेखि कालीखोलासम्म ठाउँ ठाउँमा पहिरो खसेपछि त्यहाँ पनि हिजो दिउँसो देखि सडक अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि तत्काल बाटो खुल्ने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दिपक थापाले बताउनुभयो ।
लगातार पानी परिरहेपछि ठाउँ ठाउँमा पहिरो खसिरहेकाले जोखिम बढेको भन्दै तत्कालका लागि यो खण्डमा गाडि नचलाउन आग्रह गरिएको छ । पहिरोको जोखिमलाई हेरेर पानी नरोकिएसम्मका लागि गाडी रोकिने थापाले बताउनुभयो ।

Share this

प्रतिकृया

Add