दोरम्बा हत्याकाण्डको १४ वर्ष

 बुधबार, साउन ३२, २०७४ | onlinenews

१ भदौ २०७४ रामेछाप


दोरम्बा हत्याकाण्ड भएको १४ वर्ष पुरा भएको छ । २०६० साल साउन ३२ गते तत्कालिन शाही नेपाली सेनाले रामेछापको दोरम्बामा तत्कालीन नेकपा माओवादीका २१ जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिई  डडुवाको डाँडाकटेरी भन्ने स्थानमा लगि सामूहिक हत्या गरेका थियो ।
दोरम्बा हत्याकाण्ड भएको १४ वर्ष पुरा भएको सम्झनामा माओवादी केन्द्र दोरम्बा गाउँपालिकाले शहीद स्मारकमा श्रद्धाञ्जली सभा गर्नुका साथै शहीद परिवारलाई सम्मान गरेको छ ।
सबै गाउँपालिकाहरुले छुट्टाछुट्ट दोरम्बा स्मृति दिवस मनाउने पार्टीको निर्णय अनुसार दोरम्बा गाउँपालिकाले शही स्मारतकमा श्रद्धाञ्जली सभाको आयोजना गर्नुका साथै शहीद परिवारलाई सम्मान गरिएको माओवादी केन्द्रका नेता मैनकुमार मोक्तानले जानकारी दिए ।
दोरम्बा स्मृति दिवशको सन्दर्भमा दोरम्बा गाउँपालिकाले आयोजना गरेको शहीद परिवार सम्मान कार्यक्रम शहीद अम्विका दाहाकी जीवनसंगी तथा दोरम्बा हत्याकाण्डबाट बच्न सफल भएका माओवादी नेता हरि दाहालको प्रमुख आतिथ्यतामा भएको हो ।
१४ बर्ष अगाडि रामेछापको दोरम्वा बजार भन्दा केहि तल स्थानीय शिक्षक युवराज मोक्तानको घरमा माओवादी कार्यकर्ताहरु पार्टीको आन्तरिक बैठक बसिरहेको अवस्थाम मन्थलीबाट मेजर राममणी पोखरेलको नेतृत्वमा गएको लगभग ८० जना सेनाको समूहले घर घेरा हाली घरधनी युवराज सहित २१ जना माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएर सामूहिक हत्या गरेका थिए ।
सो घटनाबाट तत्कालीन जिल्ला इञ्चार्ज हरि दाहाल सहित ११ जना माओवादी कार्यकर्ता भने सेनाको घेरा तोडि बच्न सफल भएका थिए । तत्काली शाही सेनाले नियन्त्रणमा लिएका माओवादीका नेता तथा कार्यकर्ताहरुलाई  गोली हानी हत्या गरेर भीरबाट लडाइदिएका थिए ।
तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) र तत्कालीन सरकार पक्षबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको अवस्थामा सेनाले दोरम्बामा आन्तरिक बैठक बसिरहेका निशस्त्र माओवादी नेता तथा कार्यकर्ताहरुको हत्या गरेको थियो ।
तत्कालिन सेनाले जिल्ला कमिटीको वैठकमा आक्रमण गरेपछि जिल्ला सेक्रेटरी मदन, राजन, रामकुमार, उदय, मोहन, अमिर, सागर, मनोज लगायत ११ जना  नेता तथा कार्यकर्ताहरु भने सेनाको घेरा तोडेर बच्न सफल भएका थिए ।
दोरम्बा हत्याकाण्ड पछि सरकार र तत्कालिन नेकपा माओवादिबीच चलिरहेको शान्तिवार्ता र युद्धविराम भंग भएको थियो । २०६० सालमा युद्ध विरामको बेलामा भएको दोरम्वा घटनाको विश्वभरि निन्दा गरिएको थियो ।
घटनामा संलग्न सेनाका मेजर राममणि पोख्रेललाई सेनाले नोकरीबाट समेत निकालेको थियो । हत्याकाण्ड भएको १४ बर्ष पूरा हुँदा पनि पीडक पक्षलाई कानुनी कार्वाही नगरिएको र पीडितहरुले राहत र क्षतिपूर्ति नपाएको भनि गुनासो आइरहेको छ ।

प्रतिकृया

Add