रामेछापमा वामगठबन्धनको प्रतिस्पर्धी नै छैनः मन्त्री श्रेष्ठ

 सोमवार, कार्तिक २०, २०७४ | onlinenews

२० कार्तिक २०७४


विनाविभागीय मन्त्री, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा वामगठबन्धनको तर्फबाट रामेछापका प्रतिनिधिसभाका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लमा वामगठबन्धनको प्रतिस्पर्धी नै नभएको बताए ।  प्रस्तुत छः श्यामकुमार श्रेष्ठ ‘कुशल’सँगको कुराकानी

यहाँ प्रतिनिधिसभाको उम्मेदार, अहिले चुनावि अभियानमा हुनुहुन्छ कस्तो पाउँनुभएको छ माहौल ?

 प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन मंसिर १० गते हुदैछ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा जस्तै रामेछाप जिल्लामा पनि नोमिनेसनको क्रम सकिएको छ । हामी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संयुक्त वामपन्थी प्यानलकै रुपमा जनताको बिचमा गएका छौं । जनतामा एक प्रकारको उत्साह, जिज्ञासा, आशा, भरोसा र उल्लासपूर्ण वातावरण बनेको छ । निर्वाचनलाई जनताले एक प्रकारको पर्वको रुपमा लिएको अनुभूति भइरहेको छ । रामेछापको बामगठबन्धनको तर्फबाट संयुक्त चुनावि अभियान चलिरहेको छ । जिल्लाका ६४ वटै वडामा हामीले कार्यक्रम प्रक्षेपण गरेका छौं । प्रतिनिधि सभाको केन्द्रिय स्तरको कार्यक्रम जिल्लाको १३ वटा र ६४ वटै वडा स्तरमा जनसभा र कोणसभा गर्ने, गठबन्धनको तर्फबाट अगाडि सारिएका मुद्दाहरुलाई जनताको बीचमा पु¥याउने, संयुक्त घोषणापत्रको बारेमा जनताहरुलाई सुसुचित गराउने र विगतमा भए गरेका तथा हुन नसकेका कामको बारेमा जानकारी लिने र आगामी पाँच वर्षभित्रमा रामेछापको समग्र विकास निर्माण, आर्थिक समृद्धि, सुशाशन लागयतका योजनाहरुलाई कसरी कार्यान्वयन गर्छौ भन्ने कुरालाई प्रष्ट््याउन हामी चुनावी अभियानमा लागिसकेका छौं ।

 

 

यहाँको पार्टीभित्र असन्तुष्टिहरु देखियो र बाम गठबन्धनको बिरुद्धमा स्वतन्त्र उमेद्धारी पनि दिइयो । यद्यपी अहिले उमेदवारी फिर्ता गरिसकेको अवस्था छ । तर असन्तुष्ट पक्षले यहाँको उमेदवारीमा कस्तो असर पार्ला ?

उमेदवारीको विषयलाई लिएर पार्टीभित्रै प्रतिस्पर्धा देखिए पनि पार्टीबाट आधिकारिक उमेदवारको निर्णय नहुञ्जेलसम्म प्रतिस्पर्धा हुन्छ, यसलाई स्वभाविक मान्नु पर्छ । पार्टीभित्र छलफल हुन्छ र छलफलकै बीचबाट नँया निर्णयसम्म पुगिन्छ । औपचारिक बैठक बसेर जिल्ला पार्टीको तर्फबाट हामीले  प्रतिनिधि सभा र प्रदेशसभाको आकांक्षी साथीहरुको बिषयबस्तुहरु उपल्लो प्रदेश कमिटि र केन्द्रिय कमिटिमा पठाइसकेका थियौं । सघन छलफलको बीचबाट पार्टीले जुन निर्णय लियो त्यसपश्चात प्रतिस्पर्धाको रुपमा रहनुभएका साथीहरु देखापर्नु भएन । तर, जस्ले प्रदेशसभा भनिरहनु भएको थियो उहाँहरुले बाम गठबन्धनको बिरुद्धमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको थियो । उहाँहरुले दिनुभएको उम्मेदवारीलाई पनि सहज किसिमले कार्तिक ८ गतेनै फिर्ता लिइसक्नु भएको छ र अहिले सिंगो पार्टी एकढिक्का भएर निर्वाचनमा होमिएको अवस्था छ । बामगठबन्धनको तर्फबाट साझा उमेदवारको रुपमा प्रदेशसभाको उमेदवारहरु शान्तिप्रसाद पौडेल र कैलाशप्रसाद ढुङ्गेल साथै प्रतिनिधि सभामा म स्वयंम गरि तीनै जना निर्वाचनका कार्यक्रममा गइरहेका छौं । दुइवटै पार्टीले हामीलाई साझा उमेदवारको रुपमा खडा गरेको छ । मलाई के लाग्छ भने– कतिपय असन्तुष्टि हुन सक्छन्, असन्तुष्टि हुन्छन् पनि, सबैजना सन्तुष्ट हुन सक्छन् भन्ने कुरा होइन । तर पनि असन्तुष्टिका बीचमा सन्तुष्ट पार्ने उपाय के हो ? भनि पार्टीभित्र व्यापक छलफल भयो । छलफलको माध्यमबाट समस्या किनारा लागिसकेको छ । हामी चट्टानी एकतासहित बामशक्ति अगाडि लागिसकेका छौं । नेकपा एमाले र नेकपा माओवादी केन्दबीच चुनाबी तालमेल गरि अगाडि बढ्ने सन्दर्भमा हामीले ३ वटा निर्वाचन परिचालन समिति गठन गरेका छौं । एउटा प्रतिनिधिसभा निर्वाचन परिचालन समिति क.देवशंकर पौडेलको नेतृत्वमा निर्माण गरेका छौं भने प्रदेश सभा ‘क’ मा प्रेमकुमार कार्कीको संयोजकत्वमा बनाएका छौं । त्यसैगरी प्रदेशसभा ‘ख’ मा टंकलाल घिसिङको नेतृत्वमा चुनाव परिचालन समिति गठन गरिसकेका छौं । बामपन्थी गठबन्धनको तर्फबाट अगाडि सारिएका उम्मेदवारहरुले भारी मतले जित्नुपर्छ, जीताउनु पर्छ भनि सविस्तारीत रुपले कार्यक्रमहरु अगाडि बढिसकेको छ । अब यो चुनावि कार्यक्रम रामेछापको गुम्देलदेखि गौश्वारासम्म सुनामि छालझै अगाडि बढ्ने छ । र, कतिपय ठाउँहरुमा भइसकेको पनि छ ।

दुई ठूला कम्युनिष्ट पार्टीहरुको बीचमा बामतालमेल भएसँगै असन्तुष्ट नेता कार्यकर्ताले आ–आफ्नो नेतालाई मात्र मतदान गर्ने कुरा सर्वत्र छ ।यहाँले भने जस्तै दुवै पार्टी एकैढिक्का भएर लागेकै छ त ?  

कतिपय सन्दर्भमा निर्वाचनका बेला घात अन्तर्घात हुन्छ भन्ने हामीले सुनेका थियौं । हामी कम्युनिष्ट शक्तिहरु हौं, हामीले कसम खाएका छौं र प्रतिबद्धता पनि जाहेर गरेका छौं । गाँउ स्तरका कमिटिहरुमा सुर्कलर पनि गरेका छौं र अहिलेको बामगठबन्धनको तर्फबाट अगाडि सारिएका उम्मेदवारहरुको हकमा दुईवटै पार्टीले यसलाई एउटा प्रतिष्ठाको रुपमा पनि लिएको छ । त्यसोे हुनाले अहिले चियागफमा, चोक–चोकमा गल्लीहरुमा हुने छलफल सहायक कुरा हुन् । मूलभूत रुपमा पार्टीको तर्फबाट अहिले भारी मतका साथ निर्वाचन जित्ने र चट्टानी एकताका र प्रतिबद्दताका साथ हामी अगाडि बढेका छौं । असन्तुष्टिका स्वरहरु मथ्थर भइसकेका छन् र हामीले त्यो कुराको निदान गरिसकेका छौं ।

बिगतमा पनि रामेछापमा कम्युनिष्ट शक्तिहरुले तालमेल गरेकै हुन् त्यसबेला हारेका उदाहरण पनि छ, यो तालमेल पनि पूरानै तालमेलजस्तै हुने हो कि ? 

बिगतको तालमेल भनेर तँपाइले २०५६ सालतिरको कुरा गर्नुभएको होला तर त्यतिबेलाको तालमेलको सन्दर्भ परिस्थिति, बस्तुगतस्थिति राजनीतिक प्रणालीसँग सम्वन्धित् तालमेलको सन्दर्भमा त्यो अलि फरक र भिन्न प्रकृतिको थियो । तर, अहिलेको तालमेल बामपन्थी धारहरुबीचको पार्टी एकता गर्ने र नेपालमा साना–साना पार्टीको रुपमा रहेका क्रान्तिकारी शक्तिहरु जुन–जुन स्थानमा छन् सबै शक्तिहरुलाई एकताको शुत्रमा बाँध्ने र बामपन्थीहरु जाँहा जुन अवस्थामा छन्, छिन्न भिन्न भएर बस्दा जनताले पनि दुःख पाए र देशले पनि दुःख पायो । नेपाल राष्ट्र र जनताको लागि अहिले दुई तिहाईजति जनमतलाई अब हामीले नेतृत्व गर्ने उद्देश्य सहित तालमेल भएको छ । विसुद्ध निर्वाचनका निम्ती मात्र नभई यो पार्टी एकता गर्ने दृढता सहित तालमेल गरेका हांै । बिगतको दिनमा भएका तालमेलको पुनारबृत्ति त हुने हैन भन्ने जुन जिज्ञासा प्रकट गर्नु भयो, अहिलेको सन्दर्भमा त्यतिखेरको परिस्थिति र समयमा आकाश जमिनको फरक छ । अहिलेको सन्दर्भ भनेको के हो भने कम्युनिष्ट पार्टीहरुमा एउटै झण्डामुनी एउटै पार्टी निर्माण गर्ने ध्ययका साथ चुनावि तालमेल, गठबन्धन र कार्यगत एकता भइरहेको छ । बिगतमा जस्तो होइन, बिगतको दिनमा हार मात्र होइन जित पनि भएको थियो । ४८ सालको इतिहास हेर्नुहुन्छ भने जीतेको पनि छ हारेको मात्र त छैन नि । २०७० सालमा एकल उम्मेदवारी दिंदा पनि मलाई जनताले जिताउनु भएकै हो । अहिले चुनावी तालमेल मात्र होइन, नेपाली समाजलाई समाजवादमा पु¥याउने लक्ष्य सहित हामी कम्युनिष्टहरु एक भएर अगाडि बढ्न चाहिरहेका छौ । र,  यसमा कुनै शंका गर्नु जरुरी छैन । अहिले बामपन्थीको तालमेल र गठबन्धन भनेको यसलाई कम्युनिष्ट पार्टीहरुको गठबन्धनको रुपमा पनि बुझ्न जरुरी छ ।

वामपन्थी गठबन्धनसँग रामेछापलाई समृद्ध बनाउने एजेण्डा के छ ?

देशको समृद्धि सहितको एजेण्डा समावेश गरेर केन्द्रबाट बामगठबन्धनको संयुक्त घोषणा पत्र जारी गरिएको छ । जिल्लाको सन्दर्भमा हामीले संयुक्त प्रतिबद्धता पत्र भनेका छौं । राष्ट्रिय स्तरमा आगामी पाँच बर्ष सम्ममा गठबन्धनको तर्फबाट के काम गर्न सकिन्छ ? त्यो राष्ट्रिय स्तरबाट केन्द्रिय गठबन्धनको घोषणापत्र आएको छ र जिल्लामा पनि हामीले गठबन्धनको तर्फबाट प्रतिबद्धता पत्र तयार गरेका छौं ।  रामेछापको सुख्खाग्रस्त ठाँउहरुमा ग्रिनरीको अवधारणा अनुसार हामी अघि बढ्नेछौं । जिल्लाको मेरुदण्डको रुपमा स्थापित सडकहरुलाई पहिले परिभाषित गरिएझैं डिटिएमपिको रुपमा अन्र्तजिल्ला, अन्र्तर गाँउपालिकाहरु, अन्र्तर नगरपालिकाहरु जोड्ने क्षेत्रीय र राष्ट्रिय स्तरका सडकहरु छन् त्यस्ता खालका सडकहरुलाई कालोपत्रे गर्ने ।  भौतिक संरचनाको विकास गर्ने । त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरहरु सिर्जना गर्ने, रामेछाप जल सम्पदाको अपार लिखु करिडोर, खिम्ती करिडोर, तामाकोशी करिडोर र सुनकोशी करिडोर अन्र्तगत जलाशय युक्त स्थानमा हाइड्रोप्रोजेक्टको रुपमा जनताको पक्षमा जनताकै आर्थिक सम्बृद्धिको बाटोलाई त्यसमा जोडेर हामीले कार्यक्रम प्रक्षपण गरेका छौं । र, यसलाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण सम्पन्न गर्ने, कार्यान्वययन गर्ने र जनतालाई लगानीमैत्री वातावरण निर्माण गर्दै सबै लगानीकर्तालाई एकठाँउमा ल्याउनेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । जिल्लाका दुर्ईवटै प्रदेशमा सुरु गरिएको कृषिलाई आधुनिकीकरण गर्ने कार्यक्रमको  बृद्धि र विस्तारतर्फ पनि हामीले ध्यान केन्द्रित गरेका छौँ । यो सँगसँगै जिल्लाको प्रदेश नम्वर १ मा गुम्देलको ल्हाछ्योर र महालंगुर हिमाल लगायतका हिमश्रृखलाहरु र प्रदेश नं २ को शैलुङ्गलाई आधार मानेर पर्यटनको विकास गर्नेतर्फ पनि हामी दृढ छौँ । रामेछापको दुई नगरपालिका सहित आठवटा स्थानीय तहका मुकामहरुलाई माइक्रोसिटिको अवधारणाको आधारमा आगामी पाँच वर्षमा साना मोडेल शहरको रुपमा स्थापित गराउने कार्यक्रम प्रक्षेपण गरेका छौँ । त्यो कार्यक्रम सम्पन्न गर्न र कार्यान्वयन गर्ने संगसँगै जिल्लामा रहेको खानेपानीको अभावलाई कसरी पूर्ति गर्न सकिन्छ भनि कार्यक्रम सार्वजनिक गरेका छौं । केहि बर्षपछि रामेछापबासीको शुद्ध पिउने पानीको नैसर्गिक र मौलिक अधिकारलाई सुनिश्चित गर्न हामीले कार्यक्रमलाई अघि सारेका छौ र गुणस्तरीय शिक्षाका लागि आठवटै स्थानीय तहमा प्राविधिक शिक्षा सहितको गुणस्तरीय शिक्षा र कलेजहरु सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य रहेको छ । जिल्लाका आठवटै स्थानीय तहमा तीस शै्यासम्मको स्वास्थ्य केन्द्रको स्थापना गरेर अघि बढ्ने लक्ष्य अनुरुप अघि बढेका छौ र त्यसलाई पनि हामी पूरा गर्नेर्छौ ।जिल्लाको मेरुदण्डका रुपमा रहेको सदरमुकाम मन्थलीदेखि गुम्देल हुँदै ल्हाछ्योरसम्म र शैलुङ्गसम्मको बाटोलाई कालोपत्रे गर्ने दृष्टिकोण सहित कार्यक्रम अघि सारेका छौं र त्यही अनुसार अघि बढ्छौं । रामेछापमा सु–शाशन र भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने अभियानलाई पनि  तीब्रता दिनेछौं ।

विगतको मतलाई हेर्दा रामेछापमा बामगठबन्धन नै अगाडि देखिन्छ । यद्यपि नेपाली काँग्रेसका उम्मेदवारको निकै चर्चा परिचर्चा छ, पैसाले चुनाव जित्छ भन्ने । यहाँहरुमा पनि त्यो त्रास चाँहि छ होला हैन ?

पैसाले चुनाव जित्ने भए अहिले बिश्वमा बिल गेट्सले नै चुनाव जित्नु पर्ने हो नि । नेपालको कुरा गर्नुहुन्छ भने कति ठूला–ठूला अमिरपतिहरु छन् नि । किन तिनले उठाएका प्रतिनिधिहरुले बारम्वार चुनाव हारिरहेका छन् ? यसबाट के बुझिन्छ भन्दा पैसाले चुनाव जित्ने होइन । पैसा कसरी आउँछ, कसरी कमाउँछ र कसरी कमाइरहेको छ ? यो रामेछापबासीलाई राम्रोसँग थाहा छ । त्यसैले पैसा बढि खर्च गरेर, पैसा दिएर, पैसाले भोट किनेर साध्य पनि छैन । त्यो संभव हुने कुरै होइन । संगठनको बलमा, जनताको बलमा, समर्थक शुभ–चिन्तकको बलमा, कार्यकर्ताको बलमा आफ्ना कार्यक्रमहरुको बलमा जनताको निम्ती समर्पण भावसहित राजनीतिमा लागेको ब्यक्तिले जित्ने हो चुनाव । उम्मेदवार जनताको निम्ती समर्पित राजनीतिककर्मी हो या होइन भन्ने कुरा जनताले राम्रोसँग छुट्टाएका छन् ।  पञ्चायति कालरात्रीको समय जस्तो पञ्चायतकालिन व्यवस्थामा त जनताहरु सचेत थिए भने अहिले त संघीय लोकतान्त्रिक गणतन्त्रको समयमा छौं । जनताले राम्रोसँग बुझेका छन् । धेरै खर्च गर्ने मानिसहरुले हार व्यहोर्नु परेको स्थिति पनि छ । त्यसैले पैसा दिएर, पैसा खर्च गरेर, विभिन्न प्रलोभनमा पारेर कसैले चुनाव जित्छु भन्ने परिकल्पना गरेको छ भने त्यो कोरा कल्पना मात्र हो । रामेछापबासी जनताको अभिमत खरिद गरेर पैसाले किनेर म चुनाव जित्छु भनेको छ भने त्यो सहि अर्थको जनताका प्रतिनिधि हुनै सक्दैनन् । अहिले निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आचारसंहिताले टिसर्ट समेत छाप्न पाईदैन, क्याप समेत लगाउन बन्देज गरिएको छ । हामीले पम्प्लेट मात्र बनाउँदा पनि त्यसको साइज दिइएको छ । तुल ब्यानरहरु समेत बनाउन पाँईदैन । निश्चित मापदण्ड सहित निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आचारसंहितालाई दृढतापूर्वक कार्यान्वयन नगर्ने उम्मेदवाहरुको उम्मेदवारी समेत खारेज हुने स्थिति छ । त्यसो भएको हुनाले म के निवेदन गर्न चाहन्छु र प्रश्ट पार्न चाहान्छु भने रामेछापका जनतालाई कोहिकसैले एकदुई हजार दुईचारहजार पैसा दिएर जनताको अभिमतलाई किन्छु भन्छ भने त्यो दुष्टता कसैले नगरे हुन्छ । त्यो सोच भनेको मुर्खताको सोच हुन्छ । त्यसैले जिल्लावासी जनताको मत किनेर म बिजयी हुन्छु भन्ने कसैले ठानेको छ भने त्यो कोरा कल्पना मात्रै हो । कसैले पनि अहिले पैसाको बलमा आफ्नो अभिमत बेच्न चाहँदैन । जनताको बीचमा जाँदा उम्मेदवारहरुले के–के कुरा अगाडि लिएर आएका छन् ? हरेक क्षेत्रबाट रामेछापलाई समृद्ध रामेछाप, समुन्नत रामेछाप, सुन्दर रामेछाप र रामेछापका जनताहरुको रोजीरोटीका प्रश्नका कुराहरु आर्थिक समृद्धि, सामाजिक न्यायसँग सम्वन्धित् कुराहरु, शिक्षा, स्वास्थ्य तथा रोजगारीसँग अन्र्तसम्वन्धित कुराहरु र स्रोत, साधनहरुलाई कसरी परिचालन गर्न सक्छन् हाम्रा प्रतिनीधिहरुले ? समग्र बिकासको लागि कत्तिको दखलता राख्न सक्छन् ? कति क्षमता छ ? कति क्षमता प्रर्दशन गर्न सक्दछ ? भन्ने जनताले यत्तिकै पनि बुझेका छन्  । म यसमा धेरै टिका टिप्पणी गर्न चाहन्न । अहिले रामेछापका जनताले भोट पैसामा खरिदबिक्रि गर्न चाहादैनन्, गर्दैनन् र भोट बिक्री गर्ने कुरा पनि होईन ।

प्रत्यक्षमा त यहाँहरु तिनजना साझा उम्मेदवार भई नै हाल्नु भयो । तर समानुपातिकमा त छुट्टाछुट्टै उम्मेदवार छन् । समानुपातिक ओझेलमा परेको जस्तो देखिएको छ । मतदान प्रक्रियामा पनि त्यसले जनतामा केहि अन्यौलताहरु सिर्जना गर्छ कि ? भोट काँहा हाल्ने कसलाई दिने भन्नेमा ? 

त्यसमा पनि कुनै दुविधा पाल्नै पर्दैन । अहिले केहि प्राविधिक त्रुटिका कारण मात्रै हो नत्र हामी बामगठबन्धनको तर्फबाट एउटै चुनाव चिन्हमा लड्ने कुरा थियो । प्राविधिक कारणले अहिले एउटै चुनाव चिन्ह लिएर लड्न सकिएन । प्रत्यक्षतर्फको एउटा मतपत्र हुन्छ । प्रदेश सभा र प्रतिनिधि सभाको दुईवटा भोट हाल्ने हो । प्रतिनिधि सभाको उम्मेदवारको लागि जो उठेको ? उसैको चिन्ह हुन्छ । प्रदेश सभामा उठ्ने उम्मेदवाको चिन्ह जुन हो त्यहि नै हुन्छ । त्यसैले यसमा दुविधामा पर्ने खास कुरै छैन । दोस्रो कुरा समानुपातिकको सन्दर्भमा एउटै मतपत्र हुन्छ । जँहा तल र माथि प्रदेशसभा र प्रतिनिधि सभा भनिएको हुन्छ । आफ्नो इच्छाइएको मत दिइन्छ । हामी समानुपातिक र प्रत्यक्ष मिश्रित निर्वाचन प्रणालीमा गएका छौ । संवैधानिक रुपले त्यहि व्यवस्था छ । मिश्रीत निर्वाचन प्रणाली भनेको समानुपातिक र प्रत्यक्ष दुइवटै व्यवस्था हो । पहिलो भनेको निर्वाचित हुने प्रणाली, त्यसपछि गएर समानुपातिक निर्वाचन प्रणाली हुने हो । दुईवटा मतपत्र हुन्छ । जनता त्यस्तो भ्रममा छैनन् किनकी जनताले यस अघिका निर्वाचनमा पनि समानुपातिकमा मत हालिसकेका छन् ।  अहिले दुविधा हुन्छ कि ? भ्रम हुन्छ कि ? भन्ने कुरै छैन । बामगठबन्धनको तर्फबाट प्रत्यक्षतर्फ मलाई भोट दिनुहुन्छ । जहाँ चुनाव चिन्हको रुपमा गोलाकार भित्रको हँसिया हथौडा रहेको छ । प्रदेश सभाको ‘क’ मा शान्तिप्रसाद पौडेल हुनुहुन्छ सूर्यमा भोट गर्नुपर्छ । प्रदेश नं २ मा कैलाशप्रसाद ढुङ्गेलको पनि समान चुनाव चिन्ह सूर्य नै रहेको छ । हामी प्रतिनिधि सभामा गोलाकार भित्रको हँसिया हथौडा र प्रदेश सभामा सूर्यमा । समानुपातिकमा पनि त्यसै गरी आ–आफ्नै चुनाव चिन्हमा मतदान गर्ने हो । त्यसैले याँहा भ्रम पाल्नु पर्ने कुरा छैन र भ्रमित हुने कुरा पनि छैन । स्पष्ट नै छ ।

रामेछापमा वामगठबन्धनको अवस्था कस्तो छ । उम्मेदवारले जित्छौ त भन्नै पर्छ । वास्तविकता चाहिँ के हो ?  

रामेछापको सन्दर्भमा प्रतिस्पर्धा नै होइन । बामगठबन्धनको बिरुद्ध अर्को प्रतिस्पर्धीको रुपमा भनिएको छ, प्रतिस्पर्धी होइन । आफ्नो पहिलेको मतको संरक्षण गर्नेसम्म हो तर गठबन्धनको प्रतिस्पर्धी होइन ।

 भनेपछि वामगठबन्धन चुनाव जित्नेमा ढुक्क छ ?

त्यसमा कुनै शंकै छैन । यसो हुन्छ कि उसो हुन्छ कि भन्ने ठाँउ नै छैन । अरु पार्टीहरुको कुल मत हिसाब गर्ने हो भने २७ हजार मात्र छ । बाम गठबन्धनको मत हेर्नुहुन्छ भने ६० हजारको हाराहारीमा छ । प्रतिस्पर्धाको दृष्टिकोणले हेर्नुहुन्छ भने यो कुनै प्रतिस्पर्धा नै होइन । तर के हुन्छ भने राजनीति र बहुपार्र्टी पद्दतिमा आएपछि पार्टीहरुले आफ्नो भोटको संरक्षण गर्नका लागि उम्मेदवार खडा गर्ने हुन्छ । त्यसैले रामेछापको सन्दर्भमा प्रतिस्पर्धीको रुपमा लिएको छुइन । गठबन्धनइतरको प्रतिस्पर्धी शक्ति छ भन्ने हाम्रो दृष्टिकोण छैन ।

यहाँको कुरा अनुसार सना पार्टी हिसावमा नआउ सक्छन् तँपाईहरु जो ठूला पार्टीहरु हुनुहुन्छ । निर्वाचनको बेला सँधै उठ्ने कुरा के हो भने राजनैतिक दलहरुले आचारसंहिता उल्लंघन गर्छन् । के हो त कुरा ? 

तँपाई र आममतदाता लाई म प्रष्ट पार्न चाहान्छु ,  त्यसैगरी विभिन्न सञ्चार माध्ययमबाट सूचना लिनुहुने सम्पूर्णलाई म बुझाउन चाहान्छु । म यतिखेर नेपाल सरकारको राज्यमन्त्रीको हैसियतमा पनि छु । आचारसंहितालाई दृढतापूर्वक कार्यान्वययन गर्नुपर्दछ । त्यो आचारसंहिता उल्लंघन भयो भने त्यो ठिक दिशामा पुग्छ भन्ने कुरा होइन । प्रतिनिधि सभाको उम्मेदवारले ४ वटा हल्का गाडीहरुको प्रयोग गर्न पाउने व्यवस्था छ । त्यस्तै दुई पांङ्ग्रे सवारी पनि प्रयोग गर्न पाउने व्यवस्था छ । निर्वाचन आचारसंहिताको परिधिमा रहेर हामी निर्वाचनका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । कसैले निर्वाचन आचारसंहिताको उलंघन गरेको छ भने पनि त्यो निर्वाचन आचारसंहिताको वारेमा निर्वाचन आयोगले त्यसको लेखाजोखा गर्नेछ । कसैले निर्वाचन आचारसंहिता उलंघन गर्छ भने दायरामा ल्याउनु पर्दछ । हामीले गरेछौ भने पनि हामीे कानूनी कठघरामा पुग्नु पर्दछ । र, उभिन तयार छौ हामी । यदि कसैले आचारसंहिता उल्लंघन गर्छ भने मान्न सकिने स्थिति हुदैन ।

प्रतिनिधिसभा उम्मेदवारको हैसियतले आफ्ना मतदातालाई भन्नुपर्ने कुरा केही छ ? 

रामेछापबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु, शिक्षक, बुद्धिजीवी, बिज्ञ, प्राज्ञ व्यक्ति ब्यक्तित्वहरु, नागरिक समाजका अगुवा तथा अभियान्ताहरु, शिक्षक विद्यार्थीहरु सबै साथीहरु, किसान, हली गोठाला र श्रमजीवि सबैप्रति म अपिल गर्न चाहान्छु । २०७० सालको निर्वाचन संविधान लेखनका लागि थियो । ७० सालमा रामेछाप जिल्लाको क्षेत्र नंम्वर २ मा मेरो आफ्नो उम्मेदवारी हाम्रो पार्टीको तर्फबाट अगाडि सा¥र्यो । तँपाइहरुले मलाई जिम्मेवारी दिएर पठाउनु पनि भयो । मैले त्यतिवेला चुनावी दर्रवियानमा भनेको थिएँ, म संविधान निर्माणको लागि उम्मेदवार भएको हो । संविधान निर्माण गरेर फर्कने छु । मैले रामेछापबासी जनतालाई त्यो प्रतिबद्धता जाहेर गरेरको थिए । मलाई विजयी गराउँनु पनि भयो । अहिले संविधान निर्माण गरेर नेपालमा नँया राज्य व्यस्थाको परिकल्पना सहित हामी अगाडि आएका छौं । संबैधानिक व्यवस्थाहरु संविधानतः हामीले जनताका अधिकारहरुलाई सुनिश्ति गरेका छौ । संविधान लेखेर हस्ताक्षर गर्ने कर्तामा फेरि मलाई एक–पटक बामगठबन्धनको तर्फबाट अगाडि सारेको छ । मैले संविधान निर्माण गरेर आएको छु । संविधान कार्यान्वययन गर्ने पहिलो खुड्किलोको रुपमा अहिलेको निर्वाचन हुँदैन छ । संविधान बनाउने जिम्मेवारी सहित म पहिले निर्वाचित भएको थिँए । संविधान निर्माण गरेर आँए । अपवादका अधिकारहरु भन्दा बाहेक सबै अधिकारहरु लिपिबद्ध भएको छ । हिजो म २ नं क्षेत्रबाट निर्वाचित भएको थिँए भने अहिले नँया संरचना अनुसार रामेछाप जिल्लाको प्रतिनिधि सभाको निम्ती एउटै मात्र निर्वाचन क्षेत्र भएको छ ।  अहिले जिल्लामा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा मलाई  वामगठबन्धनले अगाडि सारिएको छ । त्यसैले म लगायतको मेरो प्यानल प्रदेश सभाका सदस्यका उम्मेदवार द्धय प्रदेशसभा ‘क’ मा शान्तिप्रसाद र प्रदेशसभा ‘ख’ का कैलाशप्रसाद ढुङ्गेललगायत हामी तीनै जना अहिले चुनावी मैदानमा छौं । हिजोको दिनमा जे प्रतिबद्धता जाहेर गरेर गएको थिए त्यो आशा, भरोसालाई मैले मर्न दिइन । हिजो संविधान लेखन गरेर आएँ र भोलीका दिनमा फेरि कार्यान्वयन गर्नेछु । मलाई दृण बिश्वास छ,रामेछापेली जनताले म लगायत बामगठबन्धनको प्यानललाई शतप्रतिशत मत दिएर बिजय गराउनु हुनेछ । म यो अपिल गर्न चाहन्छु र मतदानका निम्ती आह्वान पनि गर्न चाहन्छु ।

प्रतिकृया

Add