मतदान निष्पक्ष गराउन मतदान अधिकृतहरुलाई मुख्य निर्वाचन अधिकृतको निर्देशन

 शनिबार, मंसिर २, २०७४ | onlinenews

२ मंसिर २०७४ रामेछाप


मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कृष्णप्रसाद पौड्यालले जिल्लाभरीका मतदान केन्द्रहरुमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन निष्पक्ष गराउन निर्देशन दिएका छन् ।
सदरमुकाम मन्थलीमा आयोजीत मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिम उद्घाटन समारोहलाई संवोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
तालिम उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले मतदान अधिकृत वा सहायक अधिकृतको सामान्य कमजोरी र असावधानिका कारण विभिन्न किसिमका झन्झटहरु आइपर्न सक्ने भन्दै संयमित र सावधानिपूर्वक मतदान गराउन आग्रह गरेका छन् ।
त्यसैगरी जिल्ला निर्वाचन अधिकारी कपिलप्रासाद उपाध्यायले निर्वाचनमा खटिएका सबैजना निर्धारीत समयमै आ–आफनो केन्द्रमा पुगि निर्देशिका बमोजिम काम गर्न अनुरोध गरे ।
यही मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम सञ्चालन गरिएको हो ।
मतदान केन्द्रका अधिकृत र सहायक अधिकृतहरुलाई ३ समूहमा विभाजन गरी जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम, जिल्ला निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्याय, जिल्ला समन्वय अधिकारी राजेन्द्र केशी, जिल्ला सरकारी वकिल कार्यालयका बटुकृष्ण भण्डारी, कोलेनिकाका प्रमुख मधु पोखरलेले प्रशिक्षण दिइरहेका छन् ।
तालिम दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा जिल्लाका टाढा र दुर्गम क्षेत्रमा कटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा ९० मतदान स्थल र १ सय ९१ मददान केन्द्र रहेको छ । पहिलो चरणको तालिम मंसिर १ र २ गते सञ्चालन हुने छ भने मंसिर ३ र ४ गते नजिकका मतदान स्थल र केन्द्रहरुमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको लागि तालिम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add