विकास र समृद्धिको मुख्य बाधक काँग्रेस : श्रेष्ठ

 आइतवार, मंसिर ३, २०७४ | onlinenews

 रामेछाप- पूर्व संविधानसभा सदस्य तथा वामगठबन्धन निर्वाचन परिचालन समिति रामेछापका सचिव तारानारायण श्रेष्ठले नेपालको समृद्धि, स्थायी सरकार, विकास, शान्ति र परिवर्तनको मुख्य बाधक नेपाली काँग्रेस भएको बताए ।
२००७ सालदेखि अहिलेसम्मको इतिकासको समीक्षा गरेर हेर्ने हो भने नेपालको विकास, समृद्धि र परिवर्तनको विरोधी नेपाली काँग्रेस नै हो श्रेष्ठले भने ।
२००७ सालदेखि यता अधिकांश समय नेपालको राज्यसत्ताको बागडोर नेपाली काँग्रेसले नै सम्हालेको भन्दै काँग्रेसले सत्ताको नेतृत्व गरेको समयमा प्रतिगामी र जनविरोधी काम भन्दा बाहेक केही पनि नभएको बताए ।
नेपालको इतिहासमा जुनजुन बेला कम्युनिष्टहरुले नेतृत्व गरेको छ त्यो बेलामा मात्रै विकास, समृद्धि र परिवर्तनको ढोका खुलेको छ श्रेष्ठले भने ।
रामेछाप जिल्लाको सन्दर्भमा पनि कम्युनिष्टको नेतृत्वमा मात्रै विकास भएको छ । २०६४ सालपछि र त्यो भन्दा पहिलेको जिल्लाको विकासलाई तुलना गरेर हेर्ने हो भने यो कुरा प्रष्ट हुन्छ श्रेष्ठको भनाई छ ।
वामगठबन्धनले शनिबार लिखु गाउँपालिको धोबिमा आयोजना गरेको चुनावि सभालाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले नेपालको समृद्धि र विकासको लागि सुनौलो अवसर आएकाले वामगठबन्धनलाई दुईतिहाई मतले विजयी गराउनु पर्ने श्रेष्ठले बताए । यो ऐतिहासिक अवसरलाई जनताले चुकाउन नहुने भन्दै यो पटक–जुनसुकै हालतमा नेपाली काँग्रेसलाई हराई वामगठबन्धनलाई दुईतिहाई मतले विजयी गराउनु पर्ने उनको भनाई छ ।

प्रतिकृया

Add