निर्वाचनलाई सफल तुल्याउन नागरिक समाजलगायत सबैको सहयोग आवश्यक : यादव

 सोमवार, मंसिर ४, २०७४ | onlinenews

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरूपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको सहयोग आवश्यक रहेको बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा नागरिक समाजका अगुवासँग आयोगले आइतबार गरेको अन्तरक्रियामा उनले हामी सबै मिलेर निर्वाचनलाई सफल तुल्याउने कर्तव्य र दायित्व पूरा गर्नुपर्छ भने । प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाको विषयमा दिएका सुझावलाई निर्वाचन आयोगले गम्भीररूपमा लिने छ भने । कार्यक्रममा निर्वाचन आयुक्तहरु इला शर्मा, इश्वरी प्रसाद पौड्याल र सुधीरकुमार शाह सहभागी थिए । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आचार संहिता पालना गराउनेलगायतका विषयमा आयोगले आवश्यक निर्णय गर्ने संवैधानिक हैसियत राख्ने भएको हुँदा संवैधानिक दायित्वअनुसारको कार्य गरी सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक छ भने । पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले अहिलेको मुख्य विषय भनेको सुरक्षाको प्रश्न भएकाले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन आवश्यक छ भने । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको व्यवस्थापनको जिम्मा निर्वाचन आयोगको भए तापनि निर्वाचनको महाअभियानलाई सफल तुल्याउनु हामी सबैको जिम्मेवारी हो भने ।

प्रतिकृया

Add