परिवर्तित मधेशको मनोविज्ञान

 सोमवार, मंसिर ४, २०७४ | onlinenews

संगीता रेग्मी


तीन महिना लगाएर असोज २ मा सम्पन्न भएकोे स्थानीय तहको निर्वाचन पछि देश अहिले प्रतिनिधिसभा र प्रदेशसभाको संघारमा छ । स्थानीय तहको निर्वाचन ढिलै भएपनि संवैधानिक बाध्यताले यी चुनाव गरिएको भन्नेमा दुई मत छैन । नेतृत्वको स्वार्थ र कमजोरीका कारण यसो गरिएको भए पनि नेपाली जनता भने चुनावका लागि व्यग्र थिए भन्ने प्रमाण वर्षा र खेतीको व्यस्त समयमा समेत ७३ प्रतिशतभन्दा बढी मतदाताको सहभागिताले देखाएको छ ।
हो, स्थानीय तहको चुनावले एमालेलाई पहिलो दल बनाएको छ भने मधेश भूमी प्रदेश नं. २ मा राजपा र संघीय फोरम बलियो रूपमा उदाएको छ । यद्यपी प्रदेश २ मा कांग्रेस पहिलो स्थानमा आए पनि दुई मधेशी दलको मत जोड्दा उनीहरू पहिलो स्थानमै छन् ।
यहाँको बहुसंख्यक जनता मत दिन आतुर थिए र छन् पनि । प्रदेश नं. २ मात्र मधेश होइन, राजपाको भनाइअनुसार पनि झापादेखि नेपालगन्जसम्म नै मधेश रहेको छ । यस अर्थमा अन्यत्रको मनोविज्ञान यस क्षेत्रमा पनि लागु हुनु स्वाभाविक हुन्छ । अहिले समग्रमा आम नेपालीको चाहना निर्वाचन हो । नेताले जनतामाझ लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउन सक्नुपर्छ । यसो गर्न नसकेमा जनताले भोट दिन्छन् नै भन्ने छैन । हालै भएको स्थानीय तहको निर्वाचनले यो कुरा पुष्टि गरेको छ ।
यही भावनालाई दृष्टिगत गरेर राजपाको नेतृत्वले पनि स्थानीय तहसहित आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सहभागिता जनाएर मध्यमार्गी बाटो अवलम्बन गरेको हो । जुनसुकै नेता र दलले राजनीति गर्नु भनेकै जनताका लागि नै हो । आजको २१ औँ शताब्दीमा जनभावना बुझेर राजनीति गर्नु अति नै आवश्यक हुन्छ । नत्र जनता आफ्नो धारमा अर्कै तर्फ जानेछन् र नेता भने बढारिएर एक्लै पर्ने हुन्छ । यसो भएकाले राजपा मात्र होइन काँग्रेस, एमालेसमेत सबै दलले जनभावनाअनुसार हिँड्न अनिवार्य छ । अन्यथा न नेता होइन्छ, नत निर्वाचन नै जितिन्छ । अब राजनीति गर्ने हो भने सबै नेताले यो यथार्थ हेक्का राख्नै पर्छ ।
संसारको जुनसुकै राजनीतिक प्रणालीलाई जनता कै समर्थन आवश्यक पर्छ । यही समर्थन लिनलाई नै निर्वाचन गरिन्छ । नेपाली जनता पनि अब हिजोका जनता रहेनन् । विगत ७६ वर्षदेखि धेरै ठूला ठूला सघंर्ष गरेर गणतन्त्र ल्याएका जनता हुन् । यो कुरा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिएको मतले देखाएको छ । गाउँमा मात्र होइन, नगर, उपमहानगरमा समेत ठूला भनिएका दललाई उछिनेर मधेशी दलका उम्मेदवारले निर्वाचन जिते र यसबाट के देखियो भने जनता अझै मधेशी दल र तिनका नेतालाई विश्वास गरिरेहका छन् । मधेशमा मधेशी दलको उपस्थिति आवश्यक छ । आसन्न निर्वाचनमा उनीहरू एकीकृत नभए पनि कम्तीमा तालमेल गरेका कारण मधेशको मनोविज्ञान अनुसार बलियो स्थितिमा रहेको आंकलन गर्न सकिन्छ ।
त्यसैले मधेशलाई काँग्रेसले आफ्नो किल्ला नठाने हुन्छ । ढङ्ग नपु¥याए एमाले बडारिन बेर लाग्दैन । यस्तै माओवादीले आफ्नो लालकिल्ला भनेको क्षेत्र यसपटक सुरक्षित नरहन सक्छ ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई मधेशी पार्टीको गठबन्धनले निर्वाचनलाई झन् रोचक बनाएको छ । साथै लोकतन्त्रको विजयको उद्घोष पनि गरेको छ । लामो समयको संघर्ष र आन्दोलनमा रहेको मधेशी दललाई चुनावका माध्यमबाट लोकतन्त्रको मूल प्रवाहमा ल्याउनु आवश्यक थियो, जो पछिल्लो दिनमा सफलतापूर्वक सम्पन्न भएको छ । यस दृष्टिले हेर्ने हो भने चुनावले संवादको काम गरेको छ । चुनावी मैदानमा राजपाको प्रवेश र संघीय फोरमसँगको चुनावी गठबन्धनले कसलाई फाइदा र कसलाई
वेफाइदा हुन्छ भन्ने कुराको विश्लेषण पछि पनि गर्न सकिएला, अहिलेलाई हेर्ने हो भने मधेशमा आगामी दिन शान्तिपूर्वक व्यतित हुने विश्वास गर्न सकिन्छ । राजपा र अन्य मधेशी दलका अनुसार निर्वाचन पनि संघर्षकै मोर्चा हो र निर्वाचनबाट भावी आन्दोलनका लागि शक्ति सञ्चय गर्न सकिन्छ । विगतमा मधेश—भूमीमा आन्दोलन हाँकेका नेताहरू पछिल्ला दिनमा मधेशका गाउँगाउँमा चुनावी आन्दोलन हाँकिरहेका छन्, यो खुसीको कुरा हो । विगतमा कहिले अनशनका नाममा त कहिले विविध प्रकारका प्रदर्शनका नाममा राजधानीका सडकहरूमा सीमित हुन खोजेको आन्दोलनको भविष्य, प्रभाव र औचित्यको मूल्यांकन अहिले चुनावका सन्दर्भमा विश्लेषकका लागि रूचीको विषय बन्न पुगेको छ । मधेशको आन्दोलन विगतमा जुन गतिमा क्रमशः उकालो लागेको थियो त्यही गतिमा यहाँको मनोविज्ञानमा
पनि परिवर्तनको अनुभव गरिएको छ । मध्य तराईस्थित व्यापारिक सहर वीरगञ्जले विगतको मधेश आन्दोलनमा केन्द्रीय भूमीका रूपमा नयाँ परिचय स्थापित गरेको. हो । त्यसैगरी जनकपुर र राजविराजको भूमिका अत्यन्त महत्वपूर्ण थियो । त्यसबेलाको आन्दोलनको एक केन्द्र वीरगञ्ज पनि थियो । त्यसवेला वीरगञ्ज सहरको ‘मुड’ वेग्लै थियो, तर अहिलेको ‘मुड’ वेग्लै छ । कुरो वीरगञ्ज सहरको मात्र होइन अहिले निर्वाचनको रंगले रंगिएको पुरै मधेशकै ‘मुड’मा परिवर्तनको अनुभव गरिँदैछ । मधेशमा अहिलेको यथार्थ फरक छ र यसलाई यसै आधारमा विश्लेषण गरिनु उचित हुन्छ । मधेशको राजनीति नयाँ ढंगले परिवर्तित हुँदैछ । समाज फरक आधारमा रूपान्तरित हुँदैछ र मधेशबासीको मनोदशा खास आधारमा विकसित हुँदैछ । थुप्रै प्रश्न विद्यमान छन् जसका उत्तर अपेक्षित छन् । मधेशबासी एकपटक फेरि आफूहरूको पक्षमा कुन राजनीतिक दल क्रियाशील छन् भन्ने खोजी गर्ने अवस्थामा पुगेका छन् । यसको जवाफ मधेशले यसपटकको निर्वाचनका माध्यमबाट दिनु पर्छ । विगतको विश्लेषण गर्ने हो भने पछिल्लो दिनमा मधेशमा राजनीतिक नेतृत्वका दृष्टिले ठूलो रिक्तताको अवस्था सिर्जना भएको निष्कर्ष निकाल्न सकिन्छ । (मधेश दर्पण फिचर सेवा)

प्रतिकृया

Add