पाँच तहमा तोकिन्छ तरकारीको मूल्य , उपभोक्तालाई भार

 बुधबार, मंसिर ६, २०७४ | onlinenews

कृषकबाट उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य पाँच तहमा तोकिने गरेको भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार पारेको ‘मूल्य विश्लेषण प्रतिवेदन’ मा यस्तो पाँच तह पहिल्याइएको हो ।

प्रतिवेदनअनुसार उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी पाँच तहमा मूल्य निर्धारण हुँदै उपभोक्तासम्म तरकारी आउने गरेको छ ।

खुद्रा मूल्यमा अस्वाभाविक मूल्य वृद्धि र किसानले तरकारीको उचित मूल्य नपाएको गुनासो बढेपछि विभागका निर्देशक निरज पौडेलको संयोजकत्वमा गठित मूल्य विश्लेषण समितिले यस्तो ठहर गरेको हो ।

टोलीले पाँचखाल, धादिङ, नुवाकोट, मकवानपुरको स्थलगत भ्रमण र कालिमाटी तरकारी तथा फलफूल व्यवस्थापन समितिको थोक तथा खुद्रा मूल्य विश्लेषण गरी निष्कर्ष निकालेको हो । पाँच तहमा मूल्य निर्धारण हुँदा उपभोक्तालाई भार परेको छ ।

‘स्थानीय कृषक तथा मध्यस्थकर्ता, व्यापारीसँग छलफल गर्दा तरकारीको मूल्य पाँच तहमा तोकिने गरेको फेला पर्‍यो,’ निर्देशक पौडेलले भने, ‘मूल्य अस्वाभाविक रूपमा बढ्नुको मुख्य कारण यही नै हो ।’ उनका अनुसार मूल्य निर्धारण गर्दा किसानमाथि व्यवसायीहरू हाबी हुने गरेका छन् ।

यो खबर आजको कान्तिपुरमा छ, तरकारीको दैनिक मूल्य किसानलाई जानकारी नै हुँदैन । कालिमाटी तरकारी बजारका व्यवसायीले आफू अनुकूल मूल्य निर्धारण गर्दै आएको विभागको निष्कर्ष छ ।

प्रतिकृया

Add