वाम गठबन्धनको चुनावी कार्यालयमा बम विष्फोट, उम्मेदवारको गाडीमा पनि भेटियो बम

 शुक्रबार, मंसिर ८, २०७४ | onlinenews

सिरहा– सिरहाको मिर्चैयास्थित वाम गठबन्धनको संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । मिर्चैया नगरपालिका–६, मा रहेको वाम गठबन्धनको चुनावी प्रचारप्रसारका लागि स्थापना गरिएको कार्यालयमा बम विष्फोट भएको हो ।
सिरहा क्षेत्र नम्बर ४ को चुनावी प्रचारप्रसारको कार्यालयमा शुक्रबार बेलुकी कुकर बम विष्फोट भएको र विष्फोटबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
विष्फोटबाट कार्यालयको भित्तामा समान्य क्षति पुगेको सिरहाका प्रहरी प्रमुख शेखर कोइरालाले जानकारी दिए । स्थानीय बासिन्दा प्रदिप शाहको घरको माथिल्लो तलामा रहेको कार्यालयमा बम विष्फोट भएको थियो । घटनास्थलमा जनतान्त्रिक तराईमुक्ति मोर्चा (क्रान्तिकारी) को पम्पलेट फेला परेको प्रहरीले जनाएको छ ।
सुरक्षा व्यवस्था फितलो भएको कारण बम विष्फोट भएको स्थानीय बासिन्दाको आरोप छ । चुनावको पूर्व सन्ध्यामा प्रहरी कार्यालय अगाडि नै बम विष्फोट हुनुले प्रहरीको लागि समेत चुनौति थपिएको स्थानीयको बुद्धिजीवहरुको भनाई छ ।
त्यसैगरी सिरहा क्षेत्र नम्बर २ को चुनावी प्रचारप्रसार अभियानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवार सत्रुधनप्रसाद सिंह कोइरी चढेको गाढीमा बम फेला परेको छ । चुनावी प्रचारको क्रममा धनगढीमाई नगरपालिका–७ मा पुगेर गाडी राखी घरदैलोमा गएको बेला पहिचान नभएका व्यक्तिले बम राखेको कोइरीले बताए । उनका अनुसार घरदैलोका क्रममा पार्टीको चुनावि पर्चा सकिएपछि गाडीमा रहेको पर्चा लिन जादा झोलामा शंकास्पद वस्तु भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले झोलामा शंकास्पद वस्तु देखिएको जानकारी दिंदै बम हो वा होइन भन्ने सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेपछि थाहा बताए ।

प्रतिकृया

Add