साँझ पाँच बजेबाट मत गणना हुने

 बिहिबार, मंसिर २१, २०७४ | onlinenews

रामेछाप-रामेछापमा पहिलो चरण अन्तर्गत गत १० गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत गणना बिहीबार साँझ पाँच बजेबाट हुने भएको छ ।
दोश्रो चरण अन्तर्गत ४५ जिल्लामा आज भइरहेको मतदानको समय सकिने वित्तकै मत गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
बिहान बसेको सर्वदलीय बैठकको निर्णयअनुसार रामेछापको ९० मतदान स्थलमा खसेको मत छुट्टाछुट्टै गणना गरिने छ । प्रतिनिधि सभाको मतपत्र २ ठाँउबाट र २ ओटा प्रदेशसभाको मतपत्र १÷१ ठाँउबाट गणना गरिने जनाईएको छ । मत परिणामा भने १ मतदान स्थलको मत गणना सकिएपछि मात्रै सार्वजनिक गरिने बताईएको छ ।
४ दिनभित्रमा जिल्लाको प्रदेश र प्रतिनिधिसभाको मत परिणाम आइसक्ने गरि गणनालाई तीब्र पारिने मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । १ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको रामेछापमा ९० मतदान स्थल र १ सय ९१ मतदान केन्द्र रहेका छन् ।
बिहान बसेको सर्वदलीय बैठकले साँझ पाँच बजेबाट मत गणना गर्ने निर्णय गरेको बताइएको छ । पाँच बजेबाट मत गणना हुने भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय मत गणनाको अन्तिम तयारीमा जुटेको छ ।
मत गणना स्थलको ब्यवस्थापन भइसकेको र राजनीति दलले मत गणनामा खटाउने प्रतिनिधि लगायतका सबै प्रक्रिया दिउसै पूरा गरि साँझ पाँच बज्ने वित्तिकै मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मत गणनालाई मर्यादित, ब्यवस्थित र मत पत्रको सुरक्षाको लागि मत गणना स्थल वरिपरि जालीको घेराबार लगाइएको छ । उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल, पत्रकार तथा पर्यवेक्षकहरुले जाली बाहिरबाट मात्रै मत गनेको हेर्न र पर्यवेक्षण गर्न पाउँने छन् ।

प्रतिकृया

Add