टिएलसी निर्माणको अनुदान शिक्षकलाई तलब, चिसोमा कठ्याग्रिदै विद्यार्थी

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

रामेछाप÷ रामेछाप जिल्लाको बिजुलीकोट–२ नागीमा रहेको सेतीदेवि आधारभूत विद्यालयका स्कूले बालबालिका खुला आकाशमुनी चिसोमा कठ्याग्रिएर पढ्न बाध्य भएका छन् ।
भूकम्पले विद्यालय भवन भत्काइदिएपछि अस्थायि सिकाई केन्द्र निर्माणको लागि जिल्ला शिक्षा कार्यालयले सहयोग गरेको ७५ हजार रुपैयाँ समेत विद्यालयले शिक्षकको तलबमा खर्च गर्दा विद्यार्थी खुला आकाशमुनीे चिसोमा कठ्याङ्ग्रिन बाध्य भएका हुन् ।
उसैत धोबि चिसो ठाउँ त्यसमाथि चिसो मौषम जाडोमा खुला आकाशमुनी बसेर पढ्नुपर्दा विद्यार्थीलाई चिसोको कारण रुघाखोकीले सताएको छ ।
स्थानीय अभिभावकको सहयोगमा एउटा छाप्रो बनाइए पनि छानोमा लगाइएको जस्ताबाट शीत चुहिएर किताब–कपी समेत भिज्ने भएकाले भित्र बस्नै नसक्ने अवस्था रहेको विद्यार्थीको भनाई छ । दुई वटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँदा पढाइमा समेत बाधा पुगेको विद्यार्थीले गुनासो गरे ।
भूकम्पले विद्यालयको भनव भत्काएपछि भवन निर्माण हुन नसक्दा पठनपाठनमा समस्या भएको सोही विद्यालयका प्रधानाध्यापक दिर्घबहादुर खड्काले बताए ।
वाइएसपी नेपाल रामेछापले दुई कोठे स्थायी सिकाई केन्द्र निर्माणको काम सुरु गरे पनि हालसम्म सम्पन्न हुन सकेको छैन । २०७२ साल असारदेखि सुरु भएको टिएलसी निर्माणको कार्य अझै अभुरै छ । सम्बन्धित संस्थालाई पटक–पटक भन्दा पनि वास्ता नगेको प्रअ खड्काले बताए ।
उनकाअनुसार सो टिएलसी निर्माण हुननसक्दा जिल्ला शिक्षा कार्यालयबाट आउँने अनुदान पनि रोकिएको छ । प्रजिअ खड्काले भने– निर्माणाधिन टिएलसी सम्पन्न भएपछि आवश्यकताको आधारमा जिल्ला शिक्षा कार्यालयले भवन बनाइदिने कुरा छ तर, टिएलसीको काम नसकिँदा समस्या भएको छ ।
कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा ६० जना विद्यार्थी रहेका छन् । दरबन्दीमा एक जनामात्र शिक्षक रहेका छन् भने राहातमा दुई जना छन् ।

प्रतिकृया

Add