रामेछापमा पनि मनाइयो अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

 सोमवार, मंसिर २५, २०७४ | onlinenews

रामेछाप- रामेछाप जिल्लामा पनि अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइएको छ । प्रत्येक वर्षको डिसेम्बर १० तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवस र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा आइतबार विविध कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्लाको रामेछाप बजारमा सचेतना ¥यालीका साथै अन्तक्रिया कार्य गरिएको छ । रामेछाप नगरपालिकाकी उप–प्रमुख सिर्जना खड्काको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा रामेछापस्थित माथिल्लो बजारमा सडक नाटक पनि प्रस्तुत गरिएको थियो ।
स्थानीय समाजसेवा महिला जागृत बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा रामेछाप नगरपालिकाको संयोजनमा, महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था आरविपीडब्लूको आयोजनामा रामेछापमा आइतबार साँझ दीप प्रज्वलन गरिएको थियो ।
त्यसैगरी रामेछापको सदरमुकाम मन्थलीमास्थित देवकोटा चोकमा पनि आइतबार साँझ दीप प्रज्वलन गरि महिना हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको थियो ।

लैङ्गिक हिंसा विरुद्ध सडक दौड

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शनिबार रामेछापको सदरमुका मन्थलीमा सडक दौड कार्यक्रमको आयोजना गरिएको थियो ।
दौडमा सहभागी सबैले “लैङ्गिक हिंसा अन्त्यको लागि सबै जुटौः कोहि नछुटौं” भन्ने राष्ट्रिय नारा लेखिएको पोष्टर अभियानको नाम लेखिएको भेष्टको अगाडी टाँसी दौडिएका थिए । दौड आकाशे ट्राफिक चोकबाट सुरु भई मदनभण्डारी चोक हुँदै पुनः देवकोटा चोकमा आएर समापन गरिएको थियो ।
सामुदायिक विकास समाज मन्थलीले आयोजना गरेको दौडमा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा उम्मेदवार, राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं अभियानकर्ताहरुले भाग लिएका थिए ।
जिल्लामा अघिल्ला वर्षहरुमा मनाउने अभियानका कार्यक्रम भन्दा यस वर्ष पृथक, सृर्जनात्मक र सन्देशमूलक भएको दौडमा सहभागी जेण्डर मास्टर प्रशिक्षक गम्भीर वि.क.ले बताए । मंसिर ९ गतेबाट सुरु भएको १६ दिने अभियान २४ गते समापन गरिएको हो । सदरमुकाम मन्थलीमा मोटरसाइकल ¥यालीबाट सुरु गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सरकारी तथा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरेका थिए ।

प्रतिकृया

Add