सभापति देउवा र पौडेलकै प्रदेशमा कांग्रेसको पराजय: प्रतिनिधिसभातर्फ कहाँ-कति सिट ?

 मङ्लबार, मंसिर २६, २०७४ | onlinenews

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डडेल्धुराबाट विजयी भए । तर, यस प्रदेशका बाँकी १५ सिटमा कांग्रेसलाई विजयी बनाउन सकेनन् । रमेश लेखक, एनपी, सावद, वीरबहादुर बलायर, रामजनम चौधरी, आरजु राणा र मोहनसिंह राठोरले जित्ने कांग्रेसको दाबी गलत साबित भयो ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले प्रदेश–४ मा एमाले र माओवादीको दाँजोमा धेरै सिट जितेको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला भएकाले पनि यहाँ कांग्रेसलाई बलियो मानिएको थियो तर पौडेल आफैँ हारे । यस प्रदेशअन्तर्गत स्याङ्जा जिल्लाका दुई निर्वाचन क्षेत्रको मतगणना बाँकी रहँदा कांग्रेसले एक सिट मात्रै जितेको छ । नवलपुरबाट कांग्रेस महामन्त्री डा। शशांक कोइराला विजयी भए ।

१५३ प्रतिनिधिसभामा उम्मेदवारी दिएको कांग्रेसले अहिलेसम्म २१ ठाउँमा मात्र जित हात पारेको छ । मतगणना भइरहेका सुनसरी–३, कञ्चनपुर–३ र सर्लाही–२, स्याङ्जा–१ र स्याङ्जा–२ मा भने कांग्रेस प्रतिस्पर्धामै छ । तसर्थ, कांग्रेसले केही सिट बढाउने सम्भावना बाँकी छ ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिनिधिसभातर्फ कहाँ–कति सिट ?
प्रदेश ६ मा शून्य
प्रदेश १
मोरङ–२ मीनेन्द्र रिजाल
सुनसरी–४ ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी–२ सीताराम मेहता
उदयपुर–१ नारायण खड्का
प्रदेश–२
सिरहा–१ प्रदिप गिरि
रौतहट–२ अफताब आलम
रौतहट–४ देवप्रसाद तिमल्सेना
सप्तरी–४ तेजुलाल चौधरी
बारा–१ उमाकान्त चौधरी
प्रदेश– ३
काठमाडौं–१ प्रकाशमान सिंह
काठमाडौं–४ गगनकुमार थापा
काठमाडौं–६ भीमसेनदास प्रधान
काठमाडौं–१० राजन केसी
रसुवा : मोहन आचार्य
प्रदेश–४
नवलपुर–१ शशांक कोइराला
प्रदेश–५
रुपन्देही–४ प्रमोदकुमार यादव
रुपन्देही–५ भरत शाह
नवलपरासी–२ देवेन्द्रराज कँडेल
बर्दिया–१ सञ्जय गौतम
कपिलवस्तु–३ अभिषेकप्रताप शाह
प्रदेश–७
डडेल्धुरा : शेरबहादुर देउवा

दोस्रो दल बन्ने सम्भावना
एमाले ७४ सिट जितिसकेको छ भने ५ वटामा अग्रता लिइरहेको छ । प्रत्यक्षमा ८० जित्दा समानुपातिकमा ४० सिट जिते एमालेको सिट संख्या १२० पुग्नेछ । एमाले पहिलो दल हुने सुनिश्चित भइसक्दा कांग्रेसले मुस्किलले दोस्रो दल बन्ने सम्भावना कायम राखेको छ । माओवादीले ३४ प्रतिनिधिसभा सदस्य जितेको छ र दुईवटामा अग्रता लिएको छ । यी दुई जितसहित समानुपातिकमा १५ सिट जित्दा ५० देखि ५२ सम्म बनाउन सक्नेछ । तर, कांग्रेसले यस्तोमा समानुपातिकमा बढीमा ४० जित्दा प्रत्यक्षका २१ गरी ६० को हाराहारी सिट जित्नेछ । यस्तो अवस्थामा माओवादीभन्दा कांग्रेस अघि हुनसक्ने छ । यद्यपि, समानुपातिकको मत आउने क्रम जारी छ ।

प्रदेश सभातर्फ कहाँ कति सिट ?

प्रदेश सभातर्फ प्रदेश नम्बर १ का ५६ सिटमा कांग्रेसले ६ मा जितेको छ भने एकमा अग्रता लिएको छ । प्रदेश नम्बर २ का ६४ प्रदेश सभामा कांग्रेसले ८ वटामा मात्रै जितेको छ । प्रदेश नम्बर ३ का ६४ प्रदेश सभामा कांग्रेसले सातवटामा जित दर्ता गरेको छ ।
प्रदेश नम्बर ४ का ३६ प्रदेश सभामा कांग्रेसले ५ वटामा जितेको छ । प्रदेश सभा ५ मा ५, प्रदेश नम्बर ६ का २४ मा एउटा, प्रदेश ७ का ३२ सिटमा कांग्रेसले ५ वटा मात्रै प्रदेश सभा सदस्य जितेको छ ।

प्रदेश–६ मा शाही मात्र
कांग्रेसले स्थानीय तहको निर्वाचनमा प्रदेश–६ मा एमाले र माओवादीसँग बराबर तह जितेको थियो । तर, प्रतिनिधिसभा निर्वाचनमा ६ नम्बर प्रदेशका १२ निर्वाचन क्षेत्रमा कांग्रेसले एक सिट पनि जित्न सकेन । २४ प्रदेश सभाका सदस्यमा हुम्ला ‘ख’ बाट जीवनबहादुर शाहीले जित्नु नै सिंगो ६ प्रदेशमा एक मात्र सिट हुन पुग्यो ।

प्रतिकृया

Add