प्रतिनिधिसभाका र प्रदेशसभाको मतगणना सकियो, समानुपातिकतर्फ आधा मत गणना

 बुधबार, मंसिर २७, २०७४ | onlinenews

काठमाडौँ । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनको मत गणना सकिएको छ । प्रतिनिधिसभा सदस्यमा १६४ प्रतिनिधि निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना पनि अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाले दिएको जानकारी अनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै प्रतिनिधि निर्वाचित भइसकेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमालेका ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली कांग्रेसका २२, राष्ट्रिय जनता पार्टी नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।
यसैगरी, नयाँ शक्ति पार्टी, नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित भएका छन् ।
पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १ सय ६५ र प्रदेशसभा सदस्य ३ सय ३० का लागि २०७४ मंसिर १० गते पहिलो चरणमा र २१ गते दोस्रो चरणमा निर्वाचन भएको थियो ।

समानुपातिकतर्फ आधा मत गणना

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ ।
निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ५३ लाख ३९ हजार ८ सय २३ मतगणना सम्पन्न भएको छ ।
जामा, नेकपा एमालेले १८ लाख ७२ हजार २९९ मत, नेपाली काग्रेसले १७ लाख ८४ हजार ५ सय ४७, नेकपा (माओवादी केन्द्र) ले ७ लाख २८ हजार ७ सय ८१, संघीय समाजवादी फोरम, नेपालले २ लाख ३० हजार ७ सय ५६, राष्ट्रिय जनता पार्टी, नेपालले १ लाख ७२ हजार ३ सय ३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २६ हजार ३२, विवेकशील साझा पार्टीले १ लाख १६ हजार २ सय ९०, नयाँ शक्ति पार्टी, नेपालले ५४ हजार ४ सय ०१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ४१ हजार ६ सय ५९ र राष्ट्रिय जनमोर्चाले ३४ हजार ४ ससय ३६ र अन्य दलले १ लाख ७८ हजार २ सय ४५ मत प्राप्त गरेका छन् ।

प्रतिकृया

Add