रामेछापमा ३० हजार मत बदर

 बिहिबार, मंसिर २८, २०७४ | onlinenews

पहिलो चरण अन्तर्गत रामेछापमा मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खसेको मतको करिब ३० हजार मत बदर भएको छ ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८८ हजार ७ सय ८१ मत खसेको थियो । जसमा ५ हजार ६ सय ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षमा सदर मत ८३ हजार १ सय ३० रहेको छ ।
त्यसैगरी प्रदेशसभा अन्तर्गत प्रदेशसभा ‘क’ मा रहेको कुल मतदाता ७३ हजार १ सय ६७ मध्यय प्रत्यक्षतर्फ ४३ हजार ७८ मत खसेको थियो । जसमा सदर मत ४० हजार ९० रहेको छ भने २ हजार ९ सय ८८ मत बदर भएको छ ।
त्यस्तै प्रदेशसभा ‘ख’ तर्फ ७९ हजार ३ सय ९२ मतदाता रहेकोमा ४३ हजार ८ सय ३ मत खसेको थियो । जसमा २ हजार ९३ मत बदर हुँदा ४१ हजार ७ सय १० मत सदर रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापको अनुसार प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फ खसेको कुल मत ८८ हजार ७ सय ८१ मध्य १० हजार ७ सय ३२ मत बदर भएको छ । बदर मत खसेको कुल मतको १२.०८ प्रतिशत हुन आउँछ ।
रामेछापको समानुपातिकको बदर मत भने प्रत्यक्षको भन्दा दोब्बर रहेको छ । सामानुपातिकको प्रतिनिधिसभा तर्फ ८८ हजार ७ सय ४३ मत खसेकोमा १० हजार ६६ मत बदर भएको छ ।
त्यसैगरी दुई वटा प्रदेशसभाको समानुपातिकतर्फ १४ हजार २ सय ७० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जानकारी दिएको छ । समानुपातिक अन्तर्गतको बदर मत संख्या कुल खसेको मतको १४.२८ प्रतिशत हो ।
सरकारले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्नु र राजनीतिक दलहरुले पनि चुनावि प्रचारको क्रममा मतदातालाई भोट हाल्ने तरिका नसिकाउँनु नै धेरै मात्रामा मत बदर हुनुको प्रमुख कारण भएको बुद्धिजीविहरु बताउँछन् ।

प्रतिकृया

Add