को–को बन्ने भए माओवादी केन्द्रबाट समानुपातिक संसाद ? नाम सहित

 शुक्रबार, पुस ७, २०७४ | onlinenews

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ सिट जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सांसद पाउँने भएको छ ।
प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीलाई कम मत आएपछि तेश्रो दल बनेको छ ।
१ सय २१ सिट सहित नेकपा एमाले पहिलो दल बनेको छ भने ६३ सिटसहित नेपाली काँग्रेस दोश्रो र ५३ सिट ल्याएर माओवादी केन्द्र तेश्रो दल बनेको छ ।
माओवादी केन्द्रले समानुपातिकबाट पाएको १७ मध्ये कम्तिमा १५ सिट महिलाका लागि छुट्याउनु पर्ने भएको छ । दलले जितेको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण माओवादीका ५३ जना सांसद मध्ये न्यूनतम १८ जना महिला हुनैपर्छ ।
प्रत्यक्षतर्फबाट ३ जना महिलाले जितेका अब माओवादीले समानुपातिकको १७ जनामध्ये १५ जना महिलालाई सासंद बनाउनुपर्ने छ । माओवादीका पम्फा भुसालले ललितपुर–१, बिना मगरले कञ्चनपुर–१ र कमला रोकाले रुकुम पूर्वबाट प्रतिनिधिसभामा चुनाव जितेकी छन् ।
बन्द सूचिको क्रमसंख्या र क्लस्टरलाई दिएको प्रतिशत तलमाथि नहुने गरी सांसद छनौट गर्नुपर्ने निर्वाचन आयोगको कार्यादेशअनुसा माओवादीबाट संसाद बन्ने सूचीमा को–को छन् त ?
माओवादीले समानुपातिकबाट निर्वाचित गर्न पाउने दुई पुरुषमा सातवटा क्लस्टरको पहिलो नम्बरमा रहेकामध्येबाट छनौट गर्नुपर्छ । जसमा खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातीको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान छन् ।
दुई पुरुषमध्ये एक हितराज पाण्डे सांसद बन्ने निश्चित छ भएको र एक जना बाँकी ६ जना मध्येबाट छानिने माओवादीले श्रोतले बताएको छ ।
माओवादीले समानुपातिकबाट छनौट गर्ने १५ जना महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ । आयोगमा बुझाइएको बन्द सूचीअनुसार यो कोटाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्ने छन् ।
त्यस्तै आदिवासी जनजाती क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने निश्चित जस्तै छ ।
त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउन पाउने भएको छ । जसले गर्दा बन्द सूचिको पहिलो नम्बरमा रहेकी अञ्जना विशखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विकले सांसद बन्ने अवसर पाएकी छन् । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन् ।
माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटा बाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । दुई कोटाबाट एक÷एक जना निर्वाचित गर्दा जम्मा संख्या भन्दा पनि धेरै हुने भएकाले निर्वाचन आयोगले यस्तो अवस्थामा थारु वा मुस्लिममध्ये एउटा कोटाबाट मात्र एक जना छनोट गर्न पाउने ब्यवस्था गरेको छ ।
यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरमा रहेकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचिकी चाँदतारा कुमारी सांसद बन्ने छिन् । त्यस्तै माओवादीको पीछडिएको क्षेत्रबाट बन्द सूचिभित्रैबाट एकजना महिलालाई छनौट गर्नुपर्ने छ ।

प्रतिकृया

Add