प्रसुति सल्यक्रिया सेवा ६ महिनादेखि बन्द

 सोमवार, पुस १७, २०७४ | onlinenews

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालीत जिल्लाकै एकमात्र आकस्मिक २४ घण्टे प्रसुति सल्यक्रिया सेवा ६ महिनादेखि बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।
२०७३ साल वैशाख १७ गतेबाट सञ्चालनमा आएको आकस्मिक २४ घण्टे प्रसुती सल्यक्रिया सेवा साउन १ गतेदेखि बन्द रहेको छ ।
सल्यक्रियाका लागि विशेषज्ञ डाक्टर नपाएको कारण सेवा पूर्ववत रुपमा सञ्चालनमा ल्याउन नसकिएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा. प्रकाशप्रसाद शाहले बताए ।
अति जोखिममा रहेको सल्यक्रिया गर्नुपर्ने विरामीको भने तालिम प्राप्त चिकित्सकबाट प्रथामिक स्वास्थ्य केन्द्रमै सल्याक्रिया गर्ने गरिएको पनि डा. शाहले बताए ।
तत्कालै सल्यक्रिया नगर्दा आमा, बच्चा वा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्ने विरामीहरुको यहीँ सल्यक्रिया गर्ने गरिएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ ।
सल्यक्रिया गर्नुपर्ने तर कम जोखिम भएका विरामीहरुलाई भने रेफर गर्ने गरिएको प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीका प्रमुख डा. नीलिजा शाक्यले बताइन ।
विशेषज्ञ चिकित्सक नभए पनि दुई जनासम्म तालिम प्राप्त चिकित्सक र आवश्यक स्टाफको ब्यवस्था भएको अवस्थामा सल्यक्रिया गर्न मिल्ने तर मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा त्यस्तो ब्यवस्था नभएको बताइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा गरिने सल्यक्रिया जोखिमपूर्ण रहेको पनि प्राथमिक स्वास्थ्य केन्द्रको भनाई छ ।
सल्यक्रियाको क्रममा आमा वा बच्चाको ज्यान तलमाथि भएमा प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालले नै त्यसको जिम्मेवारी लिनुपर्ने छ ।
विशेषज्ञ डाक्टरको लागि पटक–पटक सूचना प्रकाशन गर्दा पनि आवेदन नपरेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
स्थानीय तहको निर्वाचनपछि प्रसुति सल्यक्रिया सेवा नगरपालिक कि जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा सञ्चालन गर्ने भन्ने विषय प्रष्ट नहुँदा रोकिएको थियो ।
गत भदौबाटै सल्यक्रिया सेवा जिल्ला स्वास्थ्य कार्यालय मातहतमा सञ्चालन हुने गरि चालू आर्थिक वर्षको लागि ४० लाख रुपैयाँ बजेट आए पनि विशेषज्ञ चिकित्सक भने अहिलेसम्म उपलब्ध हुन सकेको छैन ।
प्रसुति सल्यक्रिया सेवा सञ्चालन हुँदा सुत्केरी हुन आउँने महिला मध्य एक महिनामा सरदर १५ जना सल्यक्रियाबाट बच्चा जन्माउनु पर्ने सेवाग्राही आउँने गरेको र अहिले दैनिक एक जना सल्यक्रिया गर्नुपर्ने सेवाग्राही आउने गरेको प्रथामिक स्वास्थ्य केन्द्रको भनाई छ ।
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा प्रसुति सेवा लिन दोलखा सिन्धुली र ओलखढुङ्गाका सेवाग्राही समेत आउने गरेका छन् ।

प्रतिकृया

Add