दोश्रो र तेश्रो किस्ताको लागि अनुगमन

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

मन्थली÷ मेडेयरको सहयोग र सामुदायिक विकास समाज मन्थलीको सहजीकरणमा निर्माण भइरहेका भूकम्प प्रतिरोधी घरको अनुगमन गरिएको छ । सामुदायिक विकास समाज (सिडिएस) मन्थलीले सहजीकरण गरिरहेको विजुलीकोट गाविसको वडा नं. ३ र ६ मा निर्माणाधिन घरहरुको अनुगमन गरेको हो ।
मेडेयरको सहयोगमा सामुदायिक विकास समाज मन्थलीले विजुलीकोट गाविको वडा नं. ३ र ६ मा गरि ३ सय १० घर निर्माणमा सहजीकरण गरिरहेको छ ।
पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ बुझेका ३ सय १० घरधनी मध्य ४ वटा घरको निर्माण कार्य सम्पन्न भएको छ भने २ जनाले तेश्रो किस्ता वापतको रकम पनि पाइसकेको सामुदायिक विकास समाजका कार्यकारी प्रमुख मिलनकुमार घिसिङले बताएका छन् ।
त्यसैगरी ४० जनाले दोश्रो किस्ता पाएका छन् भने अन्य घरहरु निर्माणाधिन अवस्थामा छन् । अनुगमनको क्रममा पुनःनिर्माण अन्तर्गत भूकम्प प्रतिरोधी घरहरु तीब्र गतिमा निर्माण भइरहेको पाइएको पुनःनिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्यले बताए । सरकारले निर्धारण गरेको मापदण्डअनुसार नै घरहरु निर्माण भइरहेकाले दिनुपर्ने किस्ता वापतको रकम दिंदा फरक नपर्ने पनि उनले बताए ।
मापदण्ड पटक–पटक परिवर्तन भइरहँदा घर निर्माणमा अन्योलता आएको स्थानीय घरधनीहरुले गुनासो गरेका थिए । घरधनीमात्र नभई स्थानीय स्तरमा सहजीकरण गरिरहेका प्राविधिकहरुले समेत मापदण्ड फेरिएर आउँदा समस्या परेको गुनासो गरेका थिए ।
एउटा मापदण्डअनुसार घर धनीलाई काठ काट्न र घर निर्माण गर्न लगाइरहेको बेला एक्कासी अर्को मापदण्ड आउँदा घरधनीहरुलाई सम्झाउन समस्या भएको प्राविधिकहरुले गुनासो गरेका थिए ।
सुरुमा ढुङ्गामाटोको जोडाइमा निर्माण हुने घरको तला छापेर ३ फिट गाह्रो लागाउन मिल्ने कार्यविधि थियो भने पछि आएको नयाँ मापदण्डअनुसार ढुङ्गामाटोको जोडाइमा निर्माण गरिने घरको तला छापेपछि माथि गाह्रो लगाउन नमिल्ने कार्यविधि आएको छ । त्यस्तै १२ को रड प्रयोग गर्दै आएकामा अहिले १६ को रड प्रयोग गर्नुपर्ने कार्यविधि छ ।
नयाँ मापदण्डको विषयलाई लिएर केही घरधनीहरुले अनुगमन टोली समक्ष आक्रोश समेत ब्यक्त गरेका थिए । पटक–पटक मापदण्ड फेरिएर आउँदा काम गर्न अप्ठ्यारो भएको भन्दै स्थानीयले आक्रोश पोखेका हुन् ।
आक्रोशीत भएका स्थानीयलाई पत्रकार टीकाप्रसाद भट्टले सम्झाएका थिए । पत्रकार भट्टले नयाँ मापदण्डको बारेमा प्रष्ट पारेपछि स्थानीयले नयाँ मापदण्डअनुसार नै घर निर्माण गर्ने बताएका थिए ।
नयाँ कार्यविधि आउनु पहिले घर निर्माण गरिसकेका घरधनीहरुले भने आफ्नो घर पास नहुने हो कि भनि अनुगमन टोलीसँग चिन्ता ब्यक्त गरेका थिए । नयाँ मापदण्ड आउनु पहिले निर्माण भएका घरहरु पहिलो मापदण्ड अनुसार नै पास हुने प्राधिकरणका प्रमुख आचार्यले बताए ।
अनुगमनको क्रममा घरधनीसँग घर निर्माण र समस्याका बारेमा अन्तरक्रिया पनि गरिएको थियो । अन्तरक्रियामा इञ्जीनियर विक्रमराज ज्ञवालीले घर निर्माणको नयाँ मापदण्डको बारेमा जानकारी गराएका थिए ।
उनले निर्माणाधिन घरहरुको बारेमा स्थानीय स्तरमा सहजीकरण गरिरहेका प्राविधिकहरुलाई सुझाव समेत दिएका थिए । निर्माणाधिन घरहरु मापदण्डअनुसार नै भएको उनले बताए ।
मापदण्ड पूरा गरेका घरधनीहरुलाई दोश्रो र तेश्रो किस्ता वपातको रकम छिट्टै उपलब्ध गराउने सामुदायिक विकास समाजका कार्यकारी प्रमुख मिलनकुमार घिसिङले बताएका छन् ।

प्रतिकृया

Add