खिम्तीमा पुनःनिर्माण बारे सार्वजनिक सुनुवाई

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

मन्थली÷ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रामेछापको खिम्तीमा सार्वजनिक सुनुवाई गरेको छ । भूकम्पपछिको पुनःनिर्माण र पुनर्वास सदाचार कार्यक्रम सम्बन्धी गुनासो संकलन सहित सार्वजनिक सुनुवाई गरेको हो ।
सार्वजनिक सुनुवाइमा भौगोलिक विकटताको कारण सामान ढुवानीमा कठिनाई भएकाले घर बनाउन गाह्रो भएको सहभागिहरुले गुनासो गरेका थिए । गुनासो फर्म भरेकाहरुको बारेमा के भइरहेको छ, कार्यान्वयन हुन्छहुँदैन भन्ने बारेमा पनि जिज्ञासा राखेका थिए । त्यसैगरी सरकारले घरको झ्याल ढोका राख्ने सम्मको काम सकेपछि दोश्रो किस्ता दिने भने पनि पूरै घर बनाइक्दा समेत दोश्रो किस्ता नदिएको पनि पीडितहरुले गुनासो गरेका थिए ।
पीडितको गुनासो र जिज्ञासाको बारेमा पुनःनिर्माण प्राधिकरण रामेछापका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि ऋषिराज आचार्याले राजनीतिक खिचातानीको कारण दोश्रो किस्ता दिन ढिलाई भएको बताए । भावि पुस्तालाई बचाउनको लागि बलियो घर बनाउनुपर्ने भन्दै प्राविधिकले बस्न योग्य छ भनि प्रमाणित गरेको घर मर्मतको लागि सरकारले एक लाख रुपैयाँ दिने पनि उनले जानकारी गराएका थिए ।
गुनासो फर्म भरेका र भर्न छुटेकाहरुको बारेमा समेत पुनःनिर्माण प्राधिकरणले आगामी पाचँ वर्षसम्म सम्वोधन गर्ने बताए । सार्वजनिक सुनुवाई कार्यक्रमको उद्देश्यका बारेमा टिआई नेपालका विनोद भट्टराइले जानकारी गराएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा २ सय भन्दा बढी पीडितले पुनःनिर्माणसँग सम्बन्धित गुनासो गरे भने ३० जनाले गाविस सचिव र पुनःनिर्माण प्राधिकरणका कर्मचारीहरुसँग जिज्ञासा राखेको कार्यक्रम आयोजक संस्थाले जनाएको छ ।
गाविस सचिव केहरमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रामेछापकी जिल्ला अधिकृत सिर्जना खड्काले कार्यक्रमको सहजीकरण गरेकी थिइन । कार्यक्रममा अतिथि तथा सरोकारवालाहरु सहित २ सय ५० जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add