गौश्वारालाई धुम्रपान, मध्यपान र जुवातास मुक्त नमूना वडा बनाइने

 बुधबार, फाल्गुन १६, २०७४ | onlinenews

रामेछाप/ रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ गौश्वारमा आगामी फागुन २३ गतेबाट धुम्रपान, मध्यपान र जुवातास मुक्त नमूना वडा अभियान सञ्चालन हुने भएको छ ।
अभियान सुरु भएपछि धुम्रपान, मध्यपान सेवन र जुवातास खेल्न प्रतिबन्ध लगाइने वडा कार्यालयले जनाएको छ ।
दोरम्बा–४ का वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ रामेछाप जिल्लाको विकट मानिने गौश्वारालाई नमूना वडा बनाउने अभियानमा लागेका हुन् ।
ध्रुमपान र मध्यपानले मानिसको स्वास्थ्यमा दिनदिनै प्रतिकूल असर पर्दै गएकाले वडाबासीलाई स्वस्थ बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको वडा अध्यक्ष मगरले बताए ।
“धनको क्षति स्वास्थ्यमा खति, रोगले भन्दैन जातिपाती” भन्ने नाराका साथ नमूना वडा अभियान सञ्चालन गरिएको हो । बालकालिकाको सुनौलो भविष्य निर्माणको लागि यो अभियान सञ्चालन गरिएको पनि वडा अध्यक्ष चन्द्रबहादुर मगरले बताए ।
यो अभियानलाई सफल पार्नको लागि सुर्ति र सुर्तिजन्य पदार्थ बेचबिखन र सेवन नियन्त्रण ऐन २०६७ कडाइका साथ लागू गरिने पनि वडा अध्यक्ष मगरले बताएका छन् ।
अभियान अन्तर्गत यही फागुन २३ गतेदेखि चैत्र १६ गतेसम्मको कार्यक्रम समेत तय गरिएको छ । अभियान सफल पार्ने उद्देश्यले तय गरिएका कार्यक्रमहरुमा फागुन २३ गतेदेखि चैत्र ५ गतेसम्म सचेतना कार्यक्रम सञ्चालन गर्ने, फागुन १६ गतेदेखि कार्यक्रम लागू भएनभएको बारेमा अनुगमत सुरु गर्ने कार्यक्रम तय गरिएको छ ।
ध्रुमपान, मध्यपान सेवन र जुवातास खेलेको पाइएमा पहिलो पटक १ हजार रुपैयाँ जरीवाना गर्ने, दोश्रो पटक भेटिएमा २ हजार रुपैयाँ जवारी गर्ने र तेश्रो पटक भेटिएमा ३ हजार रुपैयाँ जरिवाना साथै प्रशासनिक कारबाही पनि थालिने वडा अध्यक्ष मगरले जानकारी दिए ।
यसरी कारबाही गरेर संकलन भएको राजस्व वापतको रकम सामाजिक कार्यमा लगानी गरिने पनि वडा अध्यक्ष मगरले बताए ।

प्रतिकृया

Add