लदी पूजामा सार्वजनिक विदा दिन माझी समुदायको माग

 बुधबार, फाल्गुन १६, २०७४ | onlinenews

रामेछाप । माझी समुदायको सबै भन्दा ठूलो चाड लदी पूजाका दिन सार्वजनिक विदा दिन माझी समुदायले सरकारसँग माग गरेका छन् ।
माझी समुदायले ठूलो पर्वको रुपमा मानाउँने लदी अर्थात नदी पूजा प्रत्येक वर्षको फागुन महिनाको तेश्रो मंगलबार बनाउने गर्दछन् ।
विगतका वर्षहरु भन्दा यस वर्ष रामेछाप जिल्लाका माझी समुदायले लदी पूजा फरक ढंगले मनाएका छन् ।
लदी पर्वमा गरिने पूजाआजासँगै यस वर्ष रामेछाप जिल्लाका माझी समुदायले “संस्कार संस्कृति र लदी पूजा हाम्रो पहिचान, राष्ट्रिय पर्वमा सूचीकृत गर्ने साझा अभियान” भन्ने नाराका साथ औपचारिक कार्यक्रमको आयोजना गरि लदी पर्व मनाएका हुन् ।
माझी समुदायले लदी पर्वमा नदी किनारामा ढुङ्गाको थपना बनाई सामूहिक रुपमा बोका तथा कुखुराको बली दिने गर्दछ । पर्वको अवसरमा आफन्त तथा नातागोतालाई समेत बोलाएर भोज गर्ने चलन पनि रहेको छ ।
पानी र माझीबीच मामा भाञ्जाको नाता भएकोले माझी समुदायलाई नदीले नवगाओस भनि नदी र देविको पूजा गर्ने चलन रहेको छ । लदी माझी समुदायको महान् चाड भएकाले यस पर्वका दिन सार्वजनिक विदा दिने ब्यवस्था गर्न पनि सरकारसँग उनीहरुले माग गरेका छन् ।
लदी पूजा माझी समुदायको महान् चाड भएकाले यो चाडको दिन सरकारले सार्वजनिक विदा दिनुपर्ने लदी पूजाका पूजारी समेत रहेका इन्द्रबहादुर माझीले बताए ।
लदी पर्वको अवसरमा नेपाल माझी उत्थान संघ रामेछापले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रमलाई संवोधन गर्दै ३ नम्बर प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले लदी पूजालाई राष्ट्रिय पर्वमा सुचीकृत गर्ने बचन दिएका छन् ।
मन्त्री स्थापितले सोही कार्यक्रममा ३ नम्बर प्रदेशको राजधानी डेढदेखि २ महिनाभित्र हेटौडाबाट अन्त सर्ने पनि बताए । तर कहाँ सर्छ भन्ने चाहि उनले खुलाएनन् ।
मंगलबार आयोजना गरिएको लदी आर्थात नदी पूजा साथै शुभकामना आदनप्रदान कार्यक्रममा साझी समुदायको झाँकी साथै गीत र नृत्य पनि प्रस्तुत गरेका थिए ।
नेपालको संघीय संरचना अनुसार ७७ जिल्ला मध्ये ६८ जिल्लामा माझी समुदायको बसोबास रहेको छ । ६८ जिल्ला मध्ये रामेछाप जिल्लामा माझी समुदायको ठूलो संख्यामा बसोबास रहेको छ ।
राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार देसभरिमा माझी जातिको जनसंख्या ८३ हजार ७ सय २७ रहेको छ । रामेछापमा मात्र माझीको जनसंख्या ६ हजार ४२ रहेको छ ।

प्रतिकृया

Add