जिल्ला शिक्षा कार्यालय रामेछापले विद्यार्थी भर्ना अभियान चलाउने

 बुधबार, चैत्र २८, २०७४ | onlinenews

 रामेछाप/ जिल्ला शिक्षा कार्यालय रामेछापले जिल्ला भर सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।
सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दो रहेको अवस्थामा जिल्ला शिक्षा कार्यालय रामेछापले आगामी वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान चलाउने भएको हो ।
पाठयपुस्तक वितरण एवं ब्यवस्थापन जिल्ला अनुगमन समितिको बैठकले जिल्लाभरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले जानकारी दिए ।
जिल्ला शिक्षा अधिकारी गौतमको अध्यक्षमा बसेको बैठकले स्थानीय पुस्तक ब्यवसायिसँग जिल्लाको लागि आवश्यक पाठ्यपुस्तक भएनभएको साथै विद्यालयमा मापदण्ड अनुसारका पाठयपुस्तकहरु पुगे नपुगेको बारे पनि अनुगमन गर्ने भएको छ ।
केही स्थानीय निकायले अझै पुस्तक खरिदको लागि विद्यालयको खातामा निकासा नदिएकाले तत्तकाल निकासा गरिदिन पनि जिल्ला शिक्षा अधिकारी गौतमले आग्रह गरेका छन् ।
निजी विद्यालयहरुले पनि सरकारी मापदण्ड अनुसार प्रकाशन भएका पाठयपुस्तक मात्र विद्यालयमा लागु गर्नुपर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विद्यालय हाता भित्रबाट पुस्तक बिक्री वितरण नगर्न समेत निजी विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालय रामेछापले अनुरोध गरेको छ ।

प्रतिकृया

Add