बैंकले पैसा नदिँदा रामेछापका भूकम्प प्रभावित मारमा

 शनिबार, बैशाख १, २०७५ | onlinenews

लाभग्राहीको सूचीमा परेका भूकम्प प्रभावित अनुदान रकम लिन जाँदा बैंकका कर्मचारीले केही दिनपछि आउनु भन्दै फर्काउने गरेका छन् ।
पैसा लिन बैंकमा पुगेका भूकम्प प्रभावितहरुले रित्तोहात घर फर्कनु परेपछि रामेछापका भूकम्प प्रभावित आक्रोशीत बनेका छन् ।
प्रभावितले पाउने अनुदान रकम एक महिनाअघि नै कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत बैंकमा जम्मा भइसके पनि बैंक पुगेका प्रभावितलाई पछि आउनु भन्दै फर्काउनले गरेको मन्थली नगरपालिका वडा ८ का उद्धव रम्तेलले बताए ।
अनुदान रकम लिने लाभग्राहीहरुले पहिलो किस्ता लगेर घरको जग हालिसकेर दोस्रो र तेस्रो किस्ता रकम लिन आउँदा सदरमुकाम मन्थलीमा रहेको एनसिसि बैंक, सेन्चुरी बैंक, टुरिजम बैंक लगायतका प्राइभेट बैंकहरुले पीडितको रकम दिन ढिलासुस्ती गरेका हुन् ।
जिल्ला समन्वय समितिले दुई महिना अघि नै पीडितको रकम बैंकहरुमा जम्मा गरिदिएको भए पनि बैंकका कर्मचारीहरुले विभिन्न बहाना झिकेर सेवाग्राहीहरुलाई दुःख दिने काम गरेको सेवाग्राहीले बताएका छन् ।
पीडितको नाममा बैंकमा समयमा नै रकम निकासा गरेको भएता पनि बैंकहरुले पैसा नभएको र माथिको आदेश नआएको भन्दै रकम दिन आनाकानी गरेका छन् । सदरमुकाममा रहेका वाणिज्य बैंक, कृषि विकास बैंकले सरासर भुकम्प पीडितको नाममा आएको रकम वितरण गरेको भए पनि अन्य प्राइभेट बैंकले नागरिकलाई समयमा पैसा नदिँदा पुनःर्निर्माणमा समस्या उत्पन्न भएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले जानकारी दिए ।
त्यसैगरी, रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देलका भुकम्पप्रभावितले बैंकले समयमै सरकारी अनुदान बापतको रकम नदिदा घर निर्माणमा समस्या भएको गुनासो गदै राष्ट्रिय पुननिर्माण प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत गुम्देलका भुकम्पप्रभावितले विभिन्न माग राख्दै प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् ।
जिल्लाको विकट क्षेत्रको रुपमा रहेको गुम्देलका प्रभावितलाई अनुदान रकम वितरण गर्ने अख्तियारी सदरमुकाम मन्थलीमा रहेको ग्लोबल आईएमई बैंकले पाएको थियो । तर सो बैंकले प्रभावितको खातामा रकम जम्मा भएको लामो समय वितिसक्दा पनि भुक्तानि नदिएर पछि आउनुभन्दै फर्काएको पिडितहरुका तर्फबाट जारी गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
हजारौ खर्च गरेर अनुदान रकम लिन सदरमुकाम मन्थलीस्थित ग्लोबल आईएमई बैंकमा आईपुगेका गुम्देलका २ दर्जन बढि भुकम्प प्रभावितलाई बैंकले दिन तोकेर रकम लिन आउनुभन्दै फिर्ता पठाएको छ । बैंकको रवैया र कर्मचारीहरुको व्यवहारले आँफुहरु आजित भएको भन्दै प्रभावितहरुले विभिन्न माग राखी राष्ट्रिय पुननिर्माण प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् । गुम्देलका भुकम्पप्रभावितले दोश्रो किस्ता पाउन योग्य लाभग्राहीलाई बैंक आउने वित्तिकै सरल र सहज तरिकाले अनुदान रकम दिनुपर्ने,प्रभावितलाई पनि सेवाग्राहीकै रुपमा व्यवहार गरिनुपर्ने, बैंकको सेवा कारणवस बन्द हुन पुगेमा जिल्लाका सञ्चारमाध्यमबाट सुचना जारि गर्नुपर्ने वा सम्वन्धित वडा कार्यालयमा आधिकारिक सुचना पठाउनुपर्ने माग गरेका छन् ।
त्यस्तै भुकम्प प्रभावितलाई अनुदान रकम भुक्तानिको क्रममा बैंकको दैनिक कार्यसम्पादनमा असर परेमा त्यसको विकल्पको रुपमा सनराइज बैकको बाम्ती शाखाबाट अनुदान रकम वितरण गर्ने गरि नितिगत निर्णय गर्न पनि ध्यानकर्षण पत्रमार्फत माग गरिएको छ । प्रभावितको मागलाई वेवास्ता गरि रकम वितरणमा बहानबाजी गरिएमा भुक्तानिको जिम्मा पाएको ग्लोबल आईएमई बैंकको दैनिक सेवाप्रवाहमा बाधा पुग्ने किसिमका कदम चाल्न बाध्य हुने चेतावनी दिईएको छ ।

प्रतिकृया

Add