सभापतिको समय नमिल्दा पार्टी कार्यालयमै थन्कियो एम्बुलेन्स

 सोमवार, बैशाख ३१, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल/काठमाडौं
नेपाली काँग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ कान्छारामले रामेछापको लागि ल्याएको ६ वटा एम्बुलेन्स नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालयमा थन्किएर बसेको छ ।
पार्टी सभापतिको उपस्थितिमा एम्बुलेन्स वितरण गर्ने कान्छारामको योजना भए पनि पार्टी सभापति शेरबहादुर देउवाको समय नमिलेको कारण एम्बुलेन्स पार्टी कार्यालय विपी स्मृति भवन सानेपामा राखिएको छ ।
पार्टी सभापतिको समय नमिलेको कारण एम्बुलेन्स पार्टी कार्यालय सानेपामा राखिएको पूर्णबहादुर तामाङ कान्छारामले बताए । पार्टी सभापतिको समय मिल्न साथ रामेछापमै लगेर एम्बुलेन्स वितरण गर्ने पनि उनले बताए ।
प्रतिनिधिसभा निर्वाचनको बेला भोट माग्ने क्रममा आपूmले जनतासँग गरेको प्रतिबद्धता अनुसार ६ वटा एम्बुलेन्स वितरण गर्न लागिएको कान्छाराम तामाङले बताए ।
निर्वाचन प्रचारप्रसारको क्रममा कान्छारामले रामेछापको दोरम्बा, सुनापति, उमाकुण्ड, खाँडादेवी गाउँपालिका साथै मन्थली र रामेछाप नगरपालिका लगायत ठाउँमा एम्बुलेन्स प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।
निर्वाचनमा आपूm पराजित भए पनि जनताको बीचमा गरेको प्रतिबद्धता अनुसार ६ वटा एम्बुलेन्स वितरण गर्न लागेको उनले बताए ।
एम्बुलेन्स गत फागुन अन्तिम हप्ता नै काठमाडौं आइसकेको थियो । कान्छारामले गत चैत्र ३ गते नै रामेछापको सदरमुकाम मन्थलीबाट एम्बुलेन्स वितरण गर्ने तयारी गरे पनि सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताको कारण अहिलेसम्म वितरण हुन नसकेको हो ।
उमाकुण्ड गाउँपालिकाको प्रिती, भुजी र गुप्तेश्वरलाई सेवा दिने गरी एउटा एम्बुलेन्स दिने त्यसैगरी सुनापति गाउँपालिकाको बेथानलाई एउटा, दोरम्बा गाउँपालिकाको डडुवा र दोरम्बा दुई वटा, मन्थली नगरपालिकाको गेलुमा एउटा र खाँडादेवी गाउँपालिकालाई एउटा गरी छ वटा एम्बुलेन्स वितरण गर्ने कान्छारामको तयारी रहेको छ । सोही अनुसार एम्बुलेन्स पनि ल्याइसकेका छन् ।

प्रतिकृया

Add