रामेछापको गुन्सालका युवा जुटे एकीकृत बस्ती निर्माणमा

 बिहिबार, जेष्ठ १०, २०७५ | onlinenews

 रामेछाप- रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–५ गुन्सालका युवाहरु एकीकृत बस्ती निर्माणमा जुटेका छन् । स्थानीय संस्था सेतिदेवि जनजागृत युवा समाजको अगुवाईमा युवाहरु एकीकृत बस्ती निर्माणमा जुटेका हुन् ।
स्थानीय युवाहरुको पहलमा भूकम्पपछि पुनःनिर्माणको क्रममा एकीकृत बस्ती निर्माण गर्न लागिएको हो ।
दोरम्बा गाउँपालिका–५ गुन्सालको विभिन्न ठाउँमा छरिएर रहेका ३५ घरलाई एकत्रित गर्ने उद्देश्यले एकीकृत बस्ती निर्माण गर्न लागिएको सेतिदेवि जनजागृत युवा समाजका उपाध्यक्ष निरबहादुर श्रेष्ठले बताए ।
बस्ती निर्माणको लागि जग्गा ब्यवस्थापन, घरको नक्सा पास, एकीकृत बस्तीको डिजाइन समेत तयार गरि बस्ती निर्माणको काम थालिएको पनि उनले बताए ।
राजनीतिक दलले विकासका नारा धेरै लगाए पनि परिणाम आउँने गरि काम नगरेकाले आफ्नो गाउँ आफै बनाउने उद्देश्यले एकीकृत बस्ती निर्माण गर्न लागिएको उपाध्यक्ष श्रेष्ठ भनाई छ ।
एकीकृत बस्ती अन्तर्गत निर्माण गरिने प्रत्येक घरमा २ वटा बेडरुम, १ किचेन र ट्वाइलेट वाथरुम रहने एकीकृत बस्ती निर्माण समितिका संयोजक बाबुबाजी श्रेष्ठले बताए ।
उनका अनुसार प्रत्येक घरको अगाडि १३ फिटको सडक हुनेछ । त्यसैगरी एउटा सामुदायिक भवन, बालउद्यान, मन्दीर र खेल मैदान पनि निर्माण हुने उनले बताए ।
एकीकृत बस्तीमा सहभागि भएका ३५ घर परिवारको आवास पुनःनिर्माणको लागि सरकारले उपलब्ध गराएको अनुदानको पहिलो किस्ताको रकम एकमुष्ट गरि घडेरी खन्ने काम गरिएको छ ।
प्राविधिक स्टामेट अनुसार एउटा घर निर्माण गर्न ९ लाख ५० हजार रुपैयाँ लाग्ने छ भने ३५ घर निर्माणको लागि ३ करोड ३२ लाख ५० हजार रुपैयाँ लाग्ने छ ।
आवास पुनःनिर्माणको लागि सरकारले दिने अनुदानको रकम ३५ घरकै एकमुष्ट गर्दा १ करोड ५ लाख रुपैयाँ हुने छ । त्यो बाहेक सेतिदेवि जनजागृत युवा समाजले २ करोड २७ लाख रुपैयाँ बजेटको ब्यवस्थापन गर्नुपर्ने छ ।
अहिले घर निर्माणको लागि ब्लक बनाउने र घरको जग खन्ने काम भइरहेको सेतिदेवि जनजागृत युवा समाजको उपाध्यक्ष निरबहादुर श्रेष्ठले जानकारी दिए । दोरम्बार गाउँपालिका–५ गुन्सालमा निर्माण हुन लागेको एकीकृत बस्ती रामेछाप जिल्लाकै पहिलो एकीकृत बस्ती हो ।

प्रतिकृया

Add