वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नगरपालिका प्रतिबद्ध छ

 आइतवार, जेष्ठ २७, २०७५ | onlinenews

रामेछाप– रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नगरपालिका प्रतिवद्ध रहेको बताएका छन् ।
रामेछापमा आयोजना गरिएको ‘सुरक्षित वैदेशिक रोजगार’ विषयक अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् ।
सुरक्षित आप्रवासन परियोजना (सामी) रामेछापले रामेछाप नगरपालिकाको जनप्रतिनिधि र नगरपालिका अन्तर्गत रहेका विद्यालयहरुको सामाजिक विषयका शिक्षकहरुसँग वैदेशिक रोजगारीलाई कसरी सुरक्षित, परपर्दो र विश्वसनीय बनाउन सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कसरबाँकी नराख्ने बताएका छन् ।
स्थानीय तहमै रोजगारीको सृजना गरि युवाहरुलाई स्वदेशमै रोजगारीको ब्यवस्था गर्नुपर्ने पनि नगरप्रमुख थापामगरले बताए ।
वैदेशिक रोजगारीमा जाने युवाहरुको लागि तालिमको ब्यवस्था गर्ने साथै वैदेशिक रोजगारीमा जानुपूर्व र गइसकेपछि पनि थाहा पाउनुपर्ने सूचनाको बारेमा जानकारी दिनको लागि नगरपालिकाले कार्यक्रम सञ्चालन गर्ने पनि नगरप्रमुख मगरले बताएका छन् ।
त्यसैगरी रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नगरपालिकाले नगरसभामा छलफल गरेर कार्यक्रम तय गर्ने बताएकी छन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सबै भन्दा पहिला चेतना फैलाउन आवश्यक रहेको बताइन ।
जनजागरण फैलाउँनको लागि विद्यालय एउटा महत्पूर्ण निकाय भएकाले वैदेशिक रोजगार सम्बन्धि सूचना प्रवाह गर्न शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने बताइन ।
साथै उपप्रमुख खड्काले अन्तरक्रिया कार्यक्रममा सहभागि शिक्षकहरुलाई वैदेशिक रोजगारसम्बन्धि चेतना फैलाउने गतिविधिहरु सञ्चालन गर्न पनि अनुरोध गरेकी छन् ।
रामेछाप नगरपालिका–५ का अध्यक्ष भिमबहादुर तामाङले स्थानीय स्तरमै स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरेर वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नुपर्ने बताए ।
विदेशमा जतिकै आफ्नो गाउँमा मेहनत गर्ने हो भने विदेशमा भन्दा राम्रो कमाई गाउँमै गर्न सकिने पनि वडा अध्यक्ष तामाङले बताए । गाउँगाउँमा रोजगारीको सृजना गर्न सकियो भने वैदेशिक रोजगारीको समस्या समाधान हुने उनको भनाई छ ।
वडा अध्यक्ष तामाङले ब्याङ्ग्यात्मक शैलीमा भने विरुवालाई मलजल गर्ने हो भने पातमा गरेर हुँदै जरामानै गर्नुुपर्छ । गाउँगाउँमा स्वरोजगार कार्यक्रम सञ्चालन गरि गाउँमै रोजगारी सृजना गरेर रोजगारीको दीर्घकालिन समाधान खोज्नु पर्ने अध्यक्ष तामाङको भनाई थियो ।
त्यसैगरी वडा नम्बर ७ का अध्यक्ष समिर कार्कीले स्थानीय स्तरमा रोजगारी सृजना गर्न उद्योग धन्दा सञ्चालन गर्नुपर्ने बताए । उनले स्थानीय स्तरमा उत्पादन हुने बस्तुलाई औधोगिकीकरण गर्दै पर्यटकनको रुपमा विकास गर्न सके बेरोगार समस्याको दीर्घकालीन समाधान हुने बताए ।
अध्यक्ष कार्कीले आफ्नो वडामा रोजगारी सृजना गर्नको लागि आपूm प्रतिवद्ध रहेको पनि बताएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी)ले सञ्चालन गर्दै आएको वैदेशिक रोजगारीमा जानेलाई पूर्व सूचना तथा तालिम दिने कामलाई समेत निरन्तरता दिन आफ्नो वडा प्रतिवद्ध रहेको पनि कार्कीले बताए ।
वैदेशिक रोजगारीको कारण महिलाहरुले बढि समस्या ब्यवहोर्नु परेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बताएका थिए ।
वैदेशिक रोजगारिमा जाने महिलाले मात्र नभई श्रीमान विदेशमा भएका महिलाहरुले समेत समस्या ब्यहोर्नु पर्ने सहभागिहरुको भनाई थियो ।
सुरक्षित आप्रवासन परियोजना (सामी)ले साँझेदार संस्थाहरु सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र चारघरे सेवा समितिको साँझेदारीतामा वैदेशिक रोजगारीलाई लक्षित गरि कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
सामी परियोजना आगामी श्रावण १ गतेबाट रामेछाप जिल्लाबाट बाहिरिने भएको छ । अन्तरक्रिया कार्यक्रम पहिले आप्रवासन परियोजना सामीका जिल्ला परियोजना संयोजक भोजराज सुनुवारले वैदेशिक रोजगारीको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया

Add