निर्माणाधिन विद्यालय भवनको ८ वटा पिलर बाङ्गियो

 शुक्रबार, असार १, २०७५ | onlinenews

रामेछाप- जिल्लाको मन्थली नगरपालिका–४ सालुको सेतिदेवि उच्च माध्यमिक विद्यालयको निर्माणाधिन ८ कोठे पक्की भवनको ८ वटा पिलरहरु बाङ्गिएको छ ।
विद्यालय भवन निर्माणमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेकाले पिलर बाङ्गिएको हो ।
भूकम्पपछि विद्यालय पुनः निर्माण कार्यक्रम अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा मार्फत निर्माण भइरहेको सो विद्यालय भवनको पिलर बाङ्गिएको हो ।
भवनको पिलर बाङ्गिएपछि निर्माण ब्यवसायि र प्राविधिकलाई सुधार गर्न अनुरोध गर्दा नटेरेकोे विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार बस्नेतले बताए ।
बाङ्गिएको पिलरलाई सुधार गर्न अनुरोध गर्दा पिलरमा कोब्ला हाल्दा बाड्गिएकाले भवनलाई असर नपर्ने भनेपछि आपूmहरु चुप बसेको सेतिदेवि उच्च माध्यमिक विद्यालय सालुका प्रधानाध्यापक गगन श्रेष्ठले बताए ।
बाङ्गिएका पिलरहरु १४ इन्चसम्म बाङ्गिएको छ । पिलर असिमित रुपमा बाङ्गिएकाले पिलर फुटाएर पुनः निर्माण गर्नुपर्ने सोही वडाका अध्यक्ष विरेन्द्रकुमार बज्राचार्यले बताए ।
पिलर फुटाएर पुनः निर्माण नगरेमा भवन विद्यालयले नबुझ्ने पनि वडा अध्यक्ष बज्राचार्यले बताए ।
भवन निर्माणमा प्रयोग गरिएका गिटी, बालुवा गुणस्तरहित प्रयोग गरिएको र सिमेन्ट पनि मापदण्ड अनुसार प्रयोग नभएको स्थानीयको भनाई छ ।
पैसाको चलखेलमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग भएको वडा अध्यक्ष बज्राचार्यको आरोप छ ।
भवन निर्माणमा लाग्ने लागत र निर्माण सामाग्रीको विवरण सहितको होर्डिङ्गबोड निर्माण क्षेत्रमा राख्नु पर्ने ब्यवस्था भए पनि होर्डिङ्गबोर्ड राख्नु पर्छ भन्ने कुरा समेत आपूmलाई थाहा नभएको विब्यस अध्यक्ष राजेन्द्रकुमार बस्नेतले बताए ।
भवन निर्माणमा ब्यवसायिक निर्माण ब्यवसायि र दक्ष कामदार नलगाइदा मापदण्ड अनुसारको भवन निर्माण हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा रामेछापका इन्जीनियर सुन्दरश्याम घिमिरेको भनाई छ ।
भवन निर्माणको ठेक्का लिएका ठेकेदार हरि श्रेष्ठले पनि पिलर बाङ्गिएको स्वीकार गर्दैै सुधार गरिदिने बताएका छन् ।
भवन निर्माण कार्यको सम्झौता हुँदा नै जिल्ला आयोजना कार्यन्वयन इकाइले भवनको स्टामेट सहितको विवरण विद्यालयलाई दिएकाले गुणस्तरहिन भवन निर्माण हुनुको सम्पूर्ण जिम्मेवारी विद्यालयले नै लिनुपर्ने जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा रामेछापका प्रमुख हेमन्त बुढाथोकीले बताए ।
भवन निर्माणको लागि जिल्ला आयोजना कार्यान्वयन इकाइले प्रदान गर्ने १ करोड ५ लाख रुपैयाँ रकम मध्ये ९२ लाख रुपैयाँ बजेट निकाशा भइसकेको पनि जिल्ला आयोजना कर्यान्वय इकाई शिक्षा रामेछापले जनाएको छ ।
मापदण्ड अनुसारको भवन निर्माण नभएको स्थानीयको गुनासो आएपछि इन्टरनेशनल ट्रान्सपरेन्सी रामेछापले छलफलको लागि भवन निर्माण भइरहेको स्थलमा आयोजना गरेको कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाइले यस्तो जानकारी दिएको हो ।
भवन निर्माणमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग भएको र ८ वटा पिलरहरु समेत बाङ्गिएको स्थानीयले गुनासो गरेपछि जिल्ला आयोजना कार्यान्वयन इकाई, निर्माण ब्यवसायि, सम्बन्धित विद्यालयका शिक्षक, विद्यालय ब्यवस्थापन समिति र स्थानीय अभिभावकलाई भेला गराएर छलफल गरेको थियो ।
छलफलमा प्राविधिक, निर्माण ब्यवसायि, विद्यालय प्रशासन र विद्यालय ब्यवस्थापन समितिले समेत कम्जोरी भएको स्वीकार गर्दै सच्याउने प्रतिवद्धता पनि जनाएका छन् ।

प्रतिकृया

Add