खनियापानीमा सार्वजनिक सुनुवाई

 आइतवार, असार २४, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिका–५ खनियापानी वडा स्तरीय सार्वजनिक सुनुवाई गरिएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा वडा कार्यालयले प्रवाह गरेको सार्वजनिक सेवा तथा विकास निर्माणको कामको प्रभावकारीताको बारेमा सार्वजनिक सुनुवाई गरिएको हो ।
वडा कार्यालयको प्राङ्गणमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष ठूलाकान्छा तामाङले आर्थिक वर्ष २०७४÷०७५ मा वडा कार्यालय मार्फत प्रवाह गरिएका सार्वजनिक सेवा तथा विकास निर्माणका कामहरुको बारेमा जानकारी गराएका थिए ।
वडा सचिव दिपक श्रेष्ठले वडामा पुनःनिर्माणको कामको अवस्था, सामाजिक सुरक्षा भत्ता लगायत वडा कार्यालयबाट प्रवाहीत कार्यक्रमहरुको बजेट तथा खर्च विवरणको बारेमा समेत जानकारी गराएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि सेवाग्राहीहरुले वडामा गाउँघर क्लिनिक र कृषि र स्वास्थ्य सेवा प्रभावकारी नभएको गुनासो साथै प्रश्न गरेका थिए ।
सेवाग्राहीले सोधेको प्रश्नको उत्तर दिंदै वडा अध्यक्ष ठूलाकान्छा तामाङ तथा गाउँपालिका अध्यक्ष धावा लामाले सार्वजनिक सेवालाई प्रभावकारी बनाइएको बताउँदै कहीकतै सेवा प्रभावकारी नभएको भए तत्कालै सच्चाउने पनि प्रतिवद्धता जनाएका छन् ।
वडामा काम गरिरहेको साँझेदार संस्था सामुदायिक विकास समाज (सिडिएस) का तिलक कार्कीले आफ्नो संस्थाको तर्फबाट सञ्चालन गरिएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुका साथै उपभोक्ताले सोधेका प्रश्नको जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य सेवा तथा गाउँघर क्लिनिकलाई प्रभावकारी बनाउने एकबुद्धे प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पारदर्शीता तथा सु–शासनको क्षेत्रमा काम गर्दै आएका उमंग मैनालीले गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रमकै अवसरमा वडाका ज्येष्ठ नागरिकलाई सम्मान तथा टेक्ने लौरो साथै ज्येष्ठ नागरिक परिचय–पत्र पनि वितरण गरिएको छ ।
८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई परिचय–पत्र, टेक्ने लौरो वितरण गरिनुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
स्थानीय सरकार जनताकै घरदैलोमा रहेको अनुभूति होस भन्ने उद्देश्यले सरकारको कार्यक्रम अनुसार नै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले बताए ।
कार्यक्रममा गाउँपालिका कार्यकारी प्रमुख धनेन्द्र भुजेलले गाउँपालिले सञ्चालन गरेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिकृया

Add