ओलीको मधेश नीति : विखण्डन कि सम्बोधन ?

 बुधबार, साउन ९, २०७५ | onlinenews

अरविन्द साह
आआफ्नो शक्ति बढाउन राजपरिवारभित्र बनेका गुट उपगुटले गर्दा खेल्न मौका पाएका जगलबहादुर राणाले कोत पर्व र भण्डारखाल पर्वको आडमा सयकडौं भारदार तथा दरबरियाहरूलाई आफ्नो तरबारले हत्या गरी शक्तिमा आएपछि राजा राजेन्द्र शाहलाई पदच्यूत गरी युवराज सुुरेन्द्र शाहलाई राजा बनाई वि.सं. १९०३ कार्तिक १२ गते देशका प्रधानमन्त्री र कमाण्डर इन चिफ बने । राजकीय सम्पूर्ण अधिकार सहित सन्तान दर सन्तान १०४ वर्षसम्म जंगबहादुर क्रूरतापूर्वक नेपालमा शासक भई शासन गरे । राणा कालीन शासन व्यवस्थामा कुनै पनि मधेशीलाई राज्यको कुनै पनि भूमिकामा राखेका थिएनन् । मधेशीले काठमाडौं प्रवेश गर्न पासपोर्ट लिनुपर्ने कानूनी व्यवस्था थियो ।
त्यस्तै मधेशीलाई अधिकारबाट वञ्चित राख्न र मधेश आन्दोलनलाई दबाउन सयकडौं वीर मधेशी निहत्था जनतालाई गोलीको शिकार बनाई राष्ट्रियताको नाममा शक्तिशाली प्रधानमन्त्रीको रूपमा खड्गप्रसाद ओलीको उदय भएको छ ।
शाह वंशीय राजाको पालादेखि शोषण, उत्पीडन, अन्याय, अत्याचार र विभेदमा पारिँदै आएका मधेशी, दलित र थारू समुदाय आआफ्नो हक अधिकारका लागि पटक–पटक आन्दोलनमार्फत् आफ्नो आवाज उठाउँदै आएका छन् तर राज्यले कुनै वास्ता गरेको छैन ।
२०६३÷०६४ को मधेश विद्रोहबाट प्रभावित तत्कालीन प्रधानमन्त्री एवं राष्ट्र प्रमुख गिरिजाप्रसाद कोइरालाले मधेशी मोर्चासँग गरेको २०६४ साल फाल्गुन १६ गते ८ बुँदे सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ को मर्म र भावनालाई समेत बेवास्ता गरी दोस्रो संविधानसभाबाट शासकवर्ग आफ्नो अनुकूल संविधान निर्माण गर्न लागेपछि अर्को तेस्रो मधेश विद्रोह भयो । मेचीदेखि महाकालीसम्मका मधेशी, दलित, महिला, मुस्लिम र थारू समुदाय शासकको अन्याय अत्याचार विरूद्ध आन्दोलनमा उत्रिए । आन्दोलनलाई दबाउन तत्कालीन नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकारद्वारा सञ्चालित पुलिस प्रशासन निहत्था मधेशी जनताको टाउको र छातीमा गोली हान्दै मृत्युको शैय्यामा पु¥याउँदै गयो । मधेश क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी कर्फ्यु लगाई नेपालको संविधान २०७२ जारी गरियो ।
मधेश आन्दोलनलाई बेवास्ता गरी २०७२ साल आश्विन ३ गते जारी गरिएको नेपालको संविधान २०७२ लाई मधेशी जनताले जलाउँदै भीषण आन्दोलनमा उत्रिएपछि सत्तासीन भएका तत्कालीन प्रधानमन्त्री केपी ओलीको मधेशी समुदायमाथि आक्रोश बढ्दै गयो । दुई चार ओटा आँप खस्दैमा केही फरक पर्दैन भन्दै मधेशी माथि गोलीको बौछार गर्न थालियो । युपि बिहारी, माखे मधेशी विखण्डनकारी भन्दै पहाडी सेन्टिमेन्ट हातमा लिादै मधेशीमाथि बबरतापूर्ण दमन चक्र चलाउन थाले । गाउँघर टोल शहरबाट मधेशी माथि गोली चलाउँदै लखेट्दै भारतको सीमामा पु¥याइयो । केपी ओलीको अपमानजनक शब्द र गोली लाठीको प्रहारले गर्दा मधेशी आन्दोलनकारी भारतीय सिमाना छेउमा पुग्न बाध्य भए । मधेशी आन्दोलनकारीले नाकाबन्दी गरी आवतजावत पूर्णरूपेण बन्द गरेपछि दैनिक उपभोग्य वस्तुको अभावमा परेका पहाडी समुदाय पनि मधेशीमाथि खनिदै प्रधानमन्त्री केपी ओलीको काँधमा काँध मिलाएर परिणाम स्वरू मधेशीको रगतको खोलो र लाशको ढेर लाग्दै गयो ।
शोषण प्रवृत्तिले नै संसारलाई यत्रो दुर्दशामा पु¥याएको छ । शोषकहरूको अन्याय, अत्याचार, विभेद र शोषण प्र्रवृत्तिको परिणाम नै हो गरिबी, जुन नरकीय जीवनभन्दा पनि बढी दर्दनाक हुन्छ । आलिशान र वैभवशाली संगमरमरका ठूला–ठूला गगनचुम्बी महल, दरबार र भवनहरू, मोटर गाडी, लावालश्कर, नोकर चाकर, सुरासुन्दरी, अपार सम्पदा आदिको लोभ लालचले गर्दा नै मुठ्ठिभर मान्छे दानवीय रूप धारण गरेका हुन्छन् । अर्बौं खर्बौंको आम्दानी कसरी आउँछ ? चिल्ला–चिल्ला गाला र राताराता ओठ कसको रगतले रंगिन्छ ? यो कुनै भाग र भगवानबाट आएको हुँदैन । त्यो सबै किसान, मजदूर, गरिब, पराश्रमिक र युवाहरूको आफ्नो खुन, पसिना, मिहेनत र त्यागबाट उत्पादन गरेका उत्पादकत्वलाई शोषण गरी शोषकवर्गले थपार्ने गरेका अकूत सम्पत्ति हो ।
मधेशी समुदायलाई दबाउन सफल भएकै कारण मधेशका आठ जिल्ला अर्थात प्रदेश २ बाहेक अन्य सबै प्रदेशमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा केपी ओलीले भारी बहुमत प्राप्त गरी सबैभन्दा ठूलो पार्टीको हैसियतमा उभिएपछि कम्युनिष्ट एकताको नाममा माओवादी केन्द्रलाई आफ्नो साथमा मिसाउँदै दुई तिहाई बहुमत भएको शक्तिशाली प्रधानमन्त्रीको रूपमा केपी ओलीको उदय भएको छ । जंगबहादुर राणा राजा सुरेन्द्र शाहलाई कठपुतली बनाई शक्तिशाली बनेको जस्तै केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो प्रभावमा पारी नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनेका छन् । अति महत्वाकांक्षी व्यक्ति केपी ओली नाटकीय ढंगले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समेत सत्तामा सहभागी बनाउन सफल भएका छन् भने पुलिसकर्मीहरूलाई आन्दोलनको क्रममा ज्यान मारेको आरोपमा बन्दी गृहमा थुनामा रहेका जननिर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई रिहाई र संविधान संशोधन गरी मधेशीको माग सम्बोधन गर्ने गराउने शर्तमा मधेशको अर्को शक्ति राजपा नेपाल पनि सत्तासीन हुने कुरा चर्चामा छ । जंगबहादुर राणा आफ्नो चतुराईले मधेशका पश्चिमी भूभाग अँग्रेजबाट फिर्ता लिए जस्तै केपी ओली पनि मधेशी समुदायलाई हातमा पारी मधेशलाई विखण्डनबाट जोगाउने हो कि चर्चा छ । विश्वस्त हुन शंका छ । (लेखक राजपाका नेता हुन् ।) (मधेश दर्पण फिचर सेवा)

प्रतिकृया

Add