समाज मृतकका परिवारलाई अस्पतालले पाँच लाख दिएपछि आफन्तले बुझे शव

 बिहिबार, साउन १०, २०७५ | onlinenews

दाङ – उपचारका क्रममा मंगलबार मृत्यु भएकाको परिवारलाई तुलसीपुर सिटी हस्पिटल प्रालिले पाँच लाख क्षतिपूर्ति दिने भएको छ। पीडित पक्ष, हस्पिटल सञ्चालक र प्रहरी प्रशासनबीच भएको वार्तामा हस्पिटलले पीडित परिवारलाई पाँच लाख रुपैयाँ दिने सहमती भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकास सापकोटाले बताए।

ट्याक्टरको ठक्करबाट घाइते भई उपचारका लागि ल्याइएका बबई गाउँपालिका(७ का ३० वर्षीय केवल बस्नेतको उपचारका क्रममा मंगलबार अस्पतालमा मृत्यु भएको थियो। सामान्य अवस्थामा रहेका बस्नेतको उपचारमा लापरवाही भएकाले ज्यान गएको भन्दै उनका आफन्त आन्दोलित बनेका थिए। आक्रोशति आफन्तले मंगलबार अस्पताल अगाडी नारावाजी गर्दै प्रर्दशन गरेका थिए।

बुधबारको वार्तामा सहमती भएसँगै अस्पतालले पीडित पक्षलाई पाँच लाखको चेक बुझाएको छ भने मृतकका आफन्तले शव बुझेका छन्। मृतकका छोराछारीको लालनपालन र पढाई लेखाइका लागि उक्त रकम दिने सहमती भएको हो।

सिटी हस्पिटलमा रहेको मृतकको शवलाई प्रहरीले मंगलबार साँझ राप्ती अञ्चल अस्पतालको शव गृहमा लगेको थियो। सहमतिपछि शवको बुधबार पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको डिएसपी सापकोटाले बताए। रा १ प ६४९० नम्बरको मोटरसाइकलमा सवार बस्नेतलाई भे १ त ६०९१ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो बबई गाउँपालिका(७ को चरकमटियामा ठक्कर दिएको थियो। ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा राखेको छ।

प्रतिकृया

Add