स्वास्थ्य केन्द्र भवन हस्तान्तरणको तयारी भइरहँदा पहिरियो

 बिहिबार, साउन १०, २०७५ | onlinenews

 रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीमा नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रको भवन हस्तान्तरणको तयारी भइरहँदा भवनको आगनमा पहिरो गएको छ ।
भवनको आगन पहिरीदा भवनको अगाडि भागमा लगाइएको ४८ मिटर पर्खाल मध्ये २७ मिटर पर्खाल बगेको छ ।
निर्माण ब्यवसायिले भवन निर्माण कार्य सम्पन्न गरि शहरी विकास तथा भवन डिभीजन कार्यालय रामेछापलाई बुझाएपछि स्वास्थ्य केन्द्रलाई भवन हस्तरण गर्ने तयारी भइरहेको थियो ।
नवनिर्मित भवनको आगनमा पहिरो गएपछि भवन समेत जोखिममा परेको छ । २०५९ सालबाट सुरु भएको भवन निर्माण कार्य २०७४ चैत्रमा सम्पन्न भएको थियो ।
खिम्तीमा आएको २०७० सालको विनाशकारी बाढिपहिरो र २०७२ सालको भूकम्पको कारण समयमै भवन निर्माण हुन नसक्दा पटक–पटक म्याद थप गरि २०७४ चैत्रमा भवन निर्माण कार्य सम्पन्न भएको थियो ।
भवन निर्माण विभागको ३ करोड २९ लाख आर्थिक लगानीमा धुकुछी सुनकोसी जेभी प्रा.लिले निर्माण गरेको सो भवन गत वैशाखमा शहरी विकास तथा भवन डिभीजन कार्यालयलाई बुझाइएको निर्माण ब्यवसायि केशव महतले बताए ।
पहिरो गइरहने र पानीको मूल फुट्ने जमिनमा भवन निर्माण गरिएको कारण पहिरो गएको स्थानीय बलबहादुर थापाको भनाई छ । ‘यहाँ कमेरो माटो छ, पहिला पहिला पनि पहिरो गइरहन्थ्यो बनाउने नहुने ठाउँमा भवन बनाए । अहिले यस्तो भयो थापाले भने ।
२०७२ सालको भूकम्पले स्वास्थ्य सेवा सञ्चालन गर्न नमिल्ने गरि भवनमा क्षति पु¥याएपछि खिम्ती प्राथमिक स्वास्थ्य केन्द्र भने एउटा कोठाबाट कष्टपूर्ण रुपमा सञ्चालन हुँदै आएको छ ।
भूकम्पपछि पालमुनी स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको स्वास्थ्य केन्द्र केही समय यता दुई कोठे पाले भवनबाट सञ्चालन हुँदै आए पनि ओपिडी, सेवा, ड्रेसिङ्ग गर्ने र प्रशासनिक काम समेत एउटै कोठाबाट सञ्चालन गर्नु पर्दा बिरामीलाई सेवा प्रवाह गर्न निकै कठिन भएको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीकी अहेव गंगा रिमालले बताइन ।
दुई वटा कोठा मध्य एउटा कोठालाई प्रशूति कक्ष बनाइएको छ भने अन्य सबै सेवाहरु एउटौ कोठाबाट सञ्चालन गर्नु पर्ने बाध्यता छ । विरामी आउँदा बेडको समेत ब्यवस्था छैन ।
बेडको नाममा एउटा खाटजस्तो बेड छ दिनमा ठिकै हुन्छ रातको समय विरामी आउँदा त उपचार सेवा दिनै नसक्ने अवस्था छ अहेव रिमालले भनिन् ।
ल्याव सेवा नवनिर्मित भवनबाट सञ्चालन गरिदै आएकोमा पहिरो गएपछि विरामी डराएर नयाँ भवनमा जान नमानेपछि स्वास्थ्य सेवा प्रवाह गर्न झन कठिन भएको प्रथामिक स्वास्थ्य केन्द्र खिम्तीको भनाई छ ।

प्रतिकृया

Add