ठेकेदारको लापर्वाहीले गुणस्तरहिन भवन निर्माण

 सोमवार, अशोज १५, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–३ साँघुटारमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन ठेकेदारले स्टीमेट अनुसारको निर्माण सामाग्री प्रयोग नगर्दा गुणस्तरहिन भवन निर्माण भएको छ ।
नवनिर्मित स्वास्थ्य चौकी भवनको गाह्रो बाङ्गीनुका साथै झ्यालमा राखिएको ग्रिल समेत नुगेको छ । ग्रिल नुगेपछि झ्याल नै छड्के परेको छ ।
स्वास्थ्य चौकीको भवन मापदण्ड अनुसार निर्माण नभएको स्थानीय निलकण्ठ ढकालको आरोप छ । भवनको गाह्रो र झ्याल ढोकाको चौकोस बाँङ्गोटेडो रहेको र भवनको फिनिसिङमै पनि समस्या भएको उनले बताए ।
भवन डिभीजन कार्यालयको २ करोड लागतमा स्वास्थ्य चौकीको लागि ८ कोठे भवन निर्माण गरिएको हो । नवनिर्मित स्वास्थ्य चौकीको भवनमा स्वास्थ्य सेवा सञ्चालन गर्न उपयुक्त नदेखिएको साँघुटार स्वास्थ्य चौकीका प्रमुख मदन भौंकाजीले बताए ।
भवनको सहत भन्दा पानी कटाउने कुलेसोको सतह उच्च भएकाले पानी पर्दा कुलेसोको पानी समेत भवन भित्रै पस्ने अवस्था रहेको पनि उनले बताए ।
स्वास्थ्य चौकी भवन निर्माणको स्टीमेट अनुसार भवनको झ्याल ढोकामा अग्राखको काठ प्रयोग गर्नुपर्ने भए पनि निर्माण ब्यवसायिले चिलाउनेको काठ प्रयोग गरेपछि चिलाउनेको काठ निकाल्न लगाएको रामेछाप नगरपालिका–३ का अध्यक्ष भूपालराज श्रेष्ठले बताए ।
चिलाउनेको काठ निकाले र अर्को काठ राख्न लगाउँदा पनि स्टीमेट अनुसारको काम नभएको वडा अध्यक्ष श्रेष्ठले भनाई छ ।
वडा अध्यक्ष श्रेष्ठका अनुसार भवनको छानामा लगाइएको जस्ता समेत स्टीमेट भन्दा कम गुणस्तरको प्रयोग गरिएपछि पुनः स्टीमेट अनुसारको जस्ता लगाउन लगाइएको हो ।
स्वास्थ्य चैकीको प्रयोजनको लागि पानी जमाउन निर्माण गरिएको पानी ट्यांकी समेत राम्रोसँग पलास्टर नगरिएकाले पानी चुहिएर सकिने गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि २०७१ सालमा सुरु गरिएको भवन निर्माणको काम २०७२ सालको भूकम्पको कारण समयमै सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको थियो ।
स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएका पेटी निर्माण ब्यवसायि चन्द्र प्रधानले भवन निर्माणमा केही त्रुटि भएको स्वीकार गरेका छन् । झ्यालमा आल्मुनियमको ग्रिल राखिएको कारण नुगेको उनले बताए ।
भवनको छानामा लगाइएको जस्ता ०.५५ को हुने पर्नेमा झुक्किएर ०.५० को परेको हुनाले पछि चेञ्ज गरिएको पनि निर्माण ब्यवसायि प्रधानले बताए । त्यस बाहेक समस्या नरहेको उनले दावि गरे ।
भवन निर्माणको काम सम्पन्न भइसकेको र हस्तान्तरण गर्न मात्र बाँकीरहेको पनि उनले बताए । सुनकोसी कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको भवन निर्माणको काम पेटी ठेक्का चन्द्र प्रधानले लिएर काम गरेका थिए ।
भवनको निर्माण कार्य सम्पन्न भइसकेको निर्माण ब्यवसायि बताएको छ । तर, भवनको पश्चिमतिर राखिएको भित्र प्रवेश गर्ने ढाकासँगै रहेको ठूलो ढुङ्गाको कारण विरामी लिएर आवत जावत गर्न सक्ने अवस्था नरहेकाले ढोका समेत प्रयोगबिहीन हुने अवस्था रहेको स्थानीय अगुवाको भनाई छ ।

प्रतिकृया

Add