‘रअ’ आफ्नो हत्या गर्न खोजको श्रीलंकाली राष्ट्रपति सिरीसेनाको दावि

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरीसेनाले भारतीय खुफिया एजेन्सी ‘रअ’ ले आफ्नो हत्या गर्ने षड्यन्त्र रचिरहेको दावी गरेका छन् । श्रीलंकाली राजनीतिमा उनी भारतपरस्त मानिने गर्थे ।
रअले आफ्नो हत्या योजना बनाएको आशंका सिरीसेनाले मंगलबारको क्याविनेट बैठकमा व्यक्त गरेको ‘द हिन्दु’ को एक समाचारमा उल्लेख छ । रअकै सहयोगमा चुनाव जितेको आरोप लागेको सिरिसेनाको यो बयानले भारतसँग उनको सम्वन्धमा तिक्तता आएको संकेत गर्छ ।
स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिए अनुसार सिरीसेनाले मन्त्रिपरिषद् बैठकमा भनेका थिए, ‘सम्भवत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रअको योजनासँग जानकारी छैनन् ।’
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको भारत भ्रमणको पूर्वसन्ध्यामा सिरिसेनाको दाबी सार्वजनिक भएको छ । रनिलले केही दिनपछि गर्ने भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर भारतीय सहयोगका परियोजनाका साथै द्वीपक्षीय हितबारे छलफल गर्नेछन् ।
श्रीलंकाली नेतृत्वले रअमाथि प्रश्न उठाएको यो पहिलो पटक होइन । सन् २०१५ मा चुनाव हारेपछि तत्कालीन राष्ट्रपति महिन्दा राजाजपाक्षेले आफ्नो सत्ता हटाउन रअले भूमिका खेलेको आरोप लगाएका थिए ।

प्रतिकृया

Add