नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
काठमाडौं– नवरात्रको अन्तिम दिन बिहीबार महानवमी पर्व मनाइँदैछ । नौ दिनसम्म गरेको नवरात्र अनुष्ठान यो तिथिमा सम्पन्न गरिन्छ । नवदुर्गाको प्रसाद भने विजयादशमीका दिन बिहान लगाइन्छ ।
नवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन् । चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ ।
यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ । अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ ।
नवमीमा पनि शक्तिपीठ तथा दशैँघरहरूमा पशुबलि दिने परम्परा छ । शाकाहारीहरूले भने घिरौंला, कुभिण्डो र नरिवलजस्ता वस्तु बलि दिन्छन् । महानवमीका दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ । नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ । देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ । नवरात्रभर विभिन्न शक्तिपीठमा पुगेर शक्ति स्वरूपा भगवतीको पूजाअर्चना गर्ने परम्परा छ ।
काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोकभगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो हुन्छ ।
यस्तै बागलुङ कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्य स्थल हुन् ।
पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ । तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्ति स्वरूपमा भगवतीको आराधनाको विशेष महत्तव बताइएको छ ।