पार्टीको विधान बनाउने विषयमा काँग्रेस नेताहरुबीच अझै मतभेद

 बिहिबार, कार्तिक १, २०७५ | onlinenews

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो विधान परिमार्जनको तयारीमा छ । विधानका केही व्यवस्थामा नेताहरुबीच कुरा बाझिएपछि विधानकोे प्रारुप भने तयार हुन सकेको छैन ।
मुलुक संघीय ढाँचामा गएसँगै सोही अनुसार पार्टीको विधान बनाउन गठित कांग्रेस विधान संसोधन समितिले विधान पुनर्लेखन गर्ने काम गरिरहेको छ ।
विधानका केही विषयमा शीर्ष तहमा कुरा नमिल्दा समितिले बनाएको कार्यतालिका भित्रै विधान बन्न भने सकिरहेको छैन । संघीय ढाँचाअनुसार नै संविधानले व्यवस्था गरेका क्लस्टरलाई समेटेर विधान बनाउने काम भइरहेको समितिले जनाएको छ ।
मंसिर ४ गतेदेखि काठमाडौंमा हुने पार्टीको महासमिति बैठकबाट विधान पारित गरेपछि अर्को वर्ष कांग्रेसका अधिवेशनहरु सोही विधानका आधारमा हुने छन् । विधान समितिका प्रवक्ता एवं केन्द्रीय सदस्य रमेश लेखकले संविधानले व्यवस्था गरेका क्लस्टरहरु रहने र प्रतिनिधित्व पनि त्यही अनुपातामा हुने गरी विधान पुनर्लेखन भइरहेको बताए ।
पार्टीलाई एकताबद्ध बनाएर सबै क्रियाशील सदस्यले काम पाउने गरी विधान बनाउने काम भइरहेको उनको भनाई छ ।
विधान परिमाजर्नका क्रममा सभापतिलाई शक्तिशाली बनाउने विषयमा भने शीर्ष तहमै कुरा मिल्न सकेको छैन ।
सभापतिलाई शक्तिशाली बनाउनु पर्ने पक्षमा रहेको देउवा पक्षका नेताहरु अधिकांश मुख्य पद सभापतिले मनोनित गर्न पाउने गरी विधान बनाउने पक्षमा छन् ।
तर बरिष्ठ नेता पौडेल पक्ष भने सामूहिक नेतृत्व हुनुपर्ने अडानमा छ । नेता लेखकले सभापतिलाई काम गर्ने वातावरण दिनुपर्ने विषयमा सबै एक भए पनि कुन पद कसरी निर्वाचित गर्ने भन्ने विषय छलफलबाट टुंगो लाग्ने बताए । विधान सर्वसम्मत रुपमा नै टुंगिने गरी काम भइरहेको उनको भनाइ छ ।

प्रतिकृया

Add